निजी क्षेत्रको छाता संस्थामा तिब्र राजनीतीकरण, काँग्रेस र कम्प्युनिष्ट प्यानल घोषणाको अन्तिम कसरत

सुरेन्द्र पौडेल
पोखरा, १४ भदौ । पोखरा उद्योग वाणिज्य संघको आफ्नै गरिमा छ । पोखराको सबै भन्दा जेठो सामाजिक संस्था हो यो । निजी क्षेत्रको छाता संस्था भएकाले सम्पूर्ण उद्योगी व्यवसायीको सामुहिक प्रतिनिधित्व संघले गर्दै आइरहेको थियो । तर, पछिल्लो समय संघको गरिमा खस्कदै गएको छ, छाता संस्थाको पहिचान घट्दै गएको छ ।

संघभित्र पछिल्ला वर्षहरुमा भित्रिदै गएको तिब्र राजनीतीकरणले संस्थालाई सबैको छाता संस्था बनाउनबाट संघमा भित्रिएकाहरु चुकेका छन् । यस भन्दा अगाडिका निर्वाचनमा संघभित्र राजनीति नभएका होइनन्, तर त्यो भन्दा छताछुल्ल राजनीति यसपटकको ३२औं महाधिवेशनमा हुने निश्चित छ । अघिल्लो महाधिवेशनसम्म दुई प्यानलमा चुनाव भएपनि पुरै प्यानल पार्टीगत भएको देखिदैन । यस पटक भने नेकपा निकट व्यवसायी र नेपाली काँग्रेस निकट व्यवसायीका छुट्टाछुट्टै प्यानल हुने निश्चित भएको छ ।

आगामी असोज ५ र ६ गते हुने महाधिवेशनमा नेकपा निकट व्यवसायीको प्रतिनिधित्व गर्दै दामु अधिकारी अध्यक्षमा भिड्दैछन् भने काँग्रेस निकट व्यवसायीको प्रतिनिधित्व गर्दै रवीन्द्रबहादुर प्रजू अध्यक्षको उम्मेदवार बन्दैछन् ।

प्रजू प्यानलबाट काँग्रेसको प्रतिनिधित्व गर्दै वरिष्ठ उपाध्यक्षमा नारायण कोइराला उठ्नेछन् भने उनको प्रतिस्पर्धी बन्न नेकपाको प्रतिनिधित्व गर्दै यदु अधिकारी आइपुगेका छन् । अघिल्लो चुनावमा अध्यक्षमा पराजित भएका कोइराला यस पटक पनि अध्यक्ष नै बन्ने तयारीमा थिए । तर, पार्टीकै आग्रहमा उनी वरिष्ठमा उठ्न राजी भए ।

अध्यक्षको आकांक्षी भनेर प्रचार गरेकी विन्दु कोइराला अन्तत काँग्रेस प्यानलको तर्फबाट उद्योग तर्फको उपाध्यक्षमा उम्मेदवारी दिने तयारीमा जुटेकी छन् । नेकपा निकट व्यवसायीबाट उद्योग उपाध्यक्षमा गीता तिवारीले उम्मेदवारी दिनेछिन् । उद्योग उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका गोकर्ण कार्की प्यानलबाट बाहिरिएका छन् । वाणिज्य उपाध्यक्षमा काँग्रेस प्यानलबाट पवन प्रजापती र नेकपा प्यानलबाट देवकृष्ण काफ्ले उम्मेदवारी बन्ने तयारीमा छन् ।

महासचिवमा काँग्रेस प्यानलबाट अर्जुन पोखरेल र नेकपा प्यानलबाट किसान सुनारले प्रतिस्पर्धा गर्ने निश्चित छ । काँग्रेस प्यानलबाट कोषाध्यक्षमा सुरेन्द्रमान बिजुक्छे र नेकपा प्यानलबाट प्रेम भुजेलले प्रतिस्पर्धा गर्नेछन् भने उपमहासचिवमा काँग्रेस प्यानलको प्रतिनिधित्व चीनु गुरुङले र नेकपाको प्रतिनिधित्व सीता बरालले गर्ने तयारी भइरहेको छ ।

अनौपचारिक रुपमा पदाधिकारीमा दुवै प्यानलबाट यी नाममा सहमति भएपनि औपचारिक घोषणा भने भएको छैन । सदस्यहरुसहित छिट्टै प्यानल घोषणा गर्ने तयारी भइरहेको छ । अन्य आकांक्षीहरुलाई व्यवस्थापन गर्ने तयारीमा उनीहरु छन् ।

गत महाधिवेशनमा जस्तै यस पटक पनि संशोधित विधान अनुसार संघको नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदैछ । ३०औं अधिवेशनससम्म अध्यक्षात्मक प्रणालीमा निर्वाचन हुँदै आएको संघमा ३१औं महाविधेशनबाट सबै पदमा खुल्ला प्रतिस्पर्र्धा सुरु भएको हो । वरिष्ठ उपाध्यक्ष, उद्योगतर्फको उपाध्यक्ष, वाणिज्यतर्फको उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्षका लागि प्रत्यक्ष निर्वाचन हुनेछ ।

२९ सदस्यीय कार्यसमितिमा निवर्तमान अध्यक्ष र सात जना पदाधिकारीबाहेक २१ जना सदस्य रहनेछन् । ती सदस्यमध्ये ४ जना वस्तुगत संघबाट मात्र निर्वाचित हुनेछन् भने २ जना कर्पोरेट सदस्यबाट निर्वाचित हुनुपर्नेछ । १ जना औद्योगिक सदस्य निर्वाचित हुनेछन् भने १० जना सदस्य खुला निर्वाचित हुनेछन् । ४ सदस्य निर्वाचित अध्यक्षले मनोनित गर्ने व्यवस्था छ । संघमा ३ हजार ३ सय ७७ जना मतदाता छन् । साधारण सदस्य ३ हजार १ सय ७१ जना, कर्पोरेट सदस्य ६८ जना, औद्योगिक सदस्य १ सय १० जना र बस्तुगत सदस्य २८ जना छन् ।

You might also like

Comments are closed.