निर्माण व्यवसायीको चुनाव, खसेन प्यानल मत, आयो मिश्रित परिणाम (मतसहित)

पोखरा, २४ भदाै । नेपाल निर्माण व्यवसायी संघ कास्कीको नयाँ नेतृत्वका लागि भएको निर्वाचनबाट मिश्रित परिणाम आएको छ । बाम र लोकतान्त्रिक प्यानलकाबीच निर्वाचन भएपनि मतदाताले उम्मेदवार हेरेर मतदान गरेको रिजल्टले देखाएको छ । शुक्रबार र शनिबार सम्पन्न १४ औँ अधिवेशनबाट अध्यक्षमा लोकतान्त्रिक प्यानलका सुरेश श्रेष्ठ २१० मत सहित विजयी भएका छन् । बाम प्यानलको नेतृत्व गरेका आनन्द बरालले १२३ मत पाउन सफल रहे ।

वरिष्ठ उपाध्यक्षमा भने बाम प्यानलका रामराज अधिकारी २०६ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी लोकतान्त्रिक प्यानलका बलबहादुर रानाले १२२ मत पाए । उपाध्यक्षमा बाम प्यानलका हरि लम्साल १७० मतसहित विजयी हुँदा लोकतान्त्रिक प्यानलका दीपेन्द्र मर्सानीले १५९ मत ल्याउन सफल रहे ।

सचिवमा वाम प्यानलकै सुवर्ण श्रेष्ठले १७५ मतसहित विजयी भए । लोकतान्त्रिकका टीका भुजेलले १४५ मत ल्याएकाछन् । कोषाध्यक्षमा १८३ मतसहित लोकतान्त्रिक प्यानलका लिलकाजी गुरुङ विजयी बने भने प्रतिष्पर्धी रवि खनालको १४० मत आएको छ । सहसचिवमा लोकतान्त्रिककै ईं शिरष कुमार बास्तोला विजयी भए । बास्तोलाको १६१ मत आउँदा बाम प्यानलका विनोद भण्डारीको १५२ मत प्राप्त भयो । सहकोषाध्यक्षमा लोकतान्त्रिक प्यानलका हीरामणि भण्डारी १७० मत सहित विजयी हुँदा प्रतिस्पर्धी बामका कृष्णप्रसाद ढकालले १४६ मत पाए ।

सदस्यहरुमा ध्रुवबाबु भट्टराई १९६ मत, उत्तम सिग्देल १८९ मत, लक्ष्मण पाण्डे १६३ मत, हिक्मतजँग कार्की र ज्ञानेन्द घिमिरेको समान १५८ मत र सञ्जय कुँवरले १५१ मत प्राप्त गरी विजयी बनेका छन् । सदस्यमा विजयी भट्टाई, कार्की र घिमिरे लोकतान्त्रिक प्यानलका हुन् भने सिग्देल, पाण्डे र कुँवर वाम प्यानलका हुन् ।

You might also like

Comments are closed.