निशेधाज्ञा उलंघन गर्नेहरु राख्न ९ ठाउँमा होल्डिङ सेन्टर

‘निशेधाज्ञा तोड्नेलाई हामी जहाँ भेट्छौं, त्यहिं रोक्छौं’

सन्देश श्रेष्ठ
पोखरा । के तपाई निशेधाज्ञा उलंघन गर्दै हुनुहुन्छ ? यदि तपाईं निशेधाज्ञा जारी भएको कास्की जिल्लामा बस्नु हुन्छ र निशेधाज्ञा उलंघन गर्दै हुनुहुन्छ भने होसियार हुनुस्, नत्र तपाईं कार्वाहीमा पर्नुहुन्छ । निशेधाज्ञा उलंघन गर्नेलाई प्रहरीले होल्डिङ सेन्टरमा राखेर छाड्ने गरेको छ । कोरोना संक्रमण तिव्र रुपमा बढेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निशेधाज्ञाको समयमा घरबाहिर निस्कने सवारी चालक तथा त्यसमा सवारहरुलाई प्रहरीले होल्डिङ सेन्टरमा राखेर बेलुका मात्रै छाड्ने गरेको हो ।

निशेधाज्ञा उलंघन गर्नेहरुलाई राख्नका लागि प्रहरीले ९ ठाउँमा होल्डिङ सेन्टर बनाएको कास्की प्रहरीले जनाएको छ । ट्राफिक विट रहेको पोखराका विरौटाचोक, हल्लनचोक, पृथ्वीचोक, चिप्लेढुंगा, बागलुङ बसपार्क, भद्रकालीचोक, अमरसिंहचोक, सिसुवाचोक र लामाचौरचोकमा होल्डिङ सेन्टर बनाएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) सुवास हमालले जानकारी दिए ।

‘निशेधाज्ञा तोड्नेलाई हामी जहाँ भेट्छौं, त्यहिं रोक्छौं,’ कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले भने, ‘त्यसरी नियन्त्रणमा लिएकालाई साँझ ५ बजेपछि मात्रै छाड्छौं ।’ पहिलो पटक उलंघन गर्नेलाई सम्झाएर घर फर्काउँछौं,’ उनले भने, ‘सकभर सर्वसाधारणलाई घाममा दिनभरी किन राख्ने भनेर सम्झाएर फर्काउने गरेका हौं, तर पटक÷पटक एउटै व्यक्तिले उलंघन गरेको भए दिनभरी होल्डिङ सेन्टरमा राख्ने गर्छौं ।’

पैदल यात्रुलाई भने सम्झाएर घर फिर्ता पठाइने गरेको डिएसपी हमालले जानकारी दिए । निशेधाज्ञा उलंघन गरेर बाहिर निस्कनेलाई यसरी नहिंड्नुस भनेर शुरुमा सम्झाउँछौं’ उनले भने, ‘सम्झाउँदापनि अटेर गरेर निशेधाज्ञा तोडे स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २० अन्तर्गत कार्वाही गर्छौं ।’

निशेधाज्ञाका बेलामा हिंड्डुल गर्नका लागि प्रशासनले पास वितरण गरिएको छैन । तर अत्यावश्यक काम परे प्रहरीलाई खबर गरेर जान सकिने प्रहरीले जनाएको छ । ‘निशेधाज्ञाका बेलामा पास वितरण हुँदैन,’ कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) जीवन श्रेष्ठले भने, ‘अत्यावश्यक कामजस्तै बिरामी भए, मान्छे मरेको ठाउँमा जानैपर्ने भए त्यस्तोबेला प्रहरीलाई खबर गरेमा समन्वय गरेर जान दिन्छौं ।’

जिल्ला प्रशासन कार्यालयले भदौ ३ गतेदेखि भदौ ७ गते मध्यरात १२ बजेसम्म कास्की जिल्लाभरी निशेधाज्ञा जारी गरेको छ । निशेधाज्ञा अवधिभर बिहान ५ बजेदेखि ८ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म भने अत्यावश्यक खाद्यान्न, फलफूल, तरकारी, दुध तथा दूग्धजन्य पदार्थ खरिद बिक्रीका लागि भने खुल्ला गरेको छ ।

You might also like

Comments are closed.