नेकपा गण्डकीको निर्देशनः भ्रष्टाचार आफूपनि नगर्नुस, अरुलाई पनि गर्न नदिनुस्

सन्देश श्रेष्ठ
पोखरा, २२ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशले नेकपाबाट निर्वाचित स्थानिय तहका प्रमुखहरुलाई आफूपनि भ्रष्टाचार नगर्न र अरुलाईपनि गर्न नदिन कडा निर्देशन दिएको छ । नेकपा गण्डकीले गण्डकी प्रदेशका स्थानिय सरकार प्रमुख तथा उपप्रमुख एवम् अध्यक्ष तथा उपाध्यक्षहरुसँग सोमबार विहान गरेको अन्र्तक्रिया कार्यक्रममा यस प्रदेशका नेताहरुले भ्रष्टाचारका कारण अर्को चुनावमा धक्का पुग्ने भन्दै त्यसमा कडाईका साथ नियन्त्रण गर्न निर्देशन दिए । उनीहरुले ४ वर्षपछि हुने चुनावलाई मध्यनजर गरेर बिकासका काम गर्न पनि निर्देशन दिएको छ । उनीहरुले अहिले बिपक्षीहरुले जनप्रतिनिधीहरुले केहि गरेन भनेर कोकोहोलो मच्चाईरहेकाले उनीहरुलाई परास्त गरी जनताको मन जित्नेगरी काम गर्नपनि आग्रह गरे । साथै पार्टीसँग समन्वय गरेर अगाडि बढ्नपनि उनीहरुले सुझाव दिए ।

कार्यक्रममा बोल्दै नेकपा गण्डकी प्रदेशका ईञ्चार्ज तथा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जनपक्षीय काम गर्ने निर्देशन दिए । उनले भ्रष्टाचार आफूपनि नगर्न र अरुलाई पनि गर्न नदिन आग्रह गर्दै भने,‘भ्रष्टाचारी मनुवाहरुलाई डण्डा लगाउनुपर्छ, धन देखेपछि महादेवको पनि त्रिनेत्र बल्छ भनेजस्तै नहुनुस्, आफूपनि भ्रष्टाचार नगर्नुस र अरुलाईपनि गर्न नदिनुस् ।’ मुख्यमन्त्रीसमेत रहेका ईञ्चार्ज गुरुङले कांग्रेसबाट चुनाव जितेका स्थानिय तहका प्रमुखहरुले श्रोत र साधनको दुरुपयोग गरिरहेको आरोप लगाए । उनले भने,‘कांग्रेसले जितेका नगरपालिका र गाउँपालिकाहरुमा नियम, कानून र विधि नबनाई जथाभावी खर्च गरिएको छ, त्यहाँका प्रमुख÷उपप्रमुखहरुले स्थानिय श्रोत र साधनको दुरुपयोग गरेका छन् ।’ उनले अहिले जितेका ठाउँमा मात्र होइन अरुले जितेका ठाउँमासमेत जित्नसक्ने आधार तयार हुनेगरी नेकपाले जितेका ठाउँमा बिकासका काम गर्न आग्रह गरे । उनले भने,‘पहिले योजना बनाउनुस्, प्रस्ताव पेस गर्नुस्, बजेट र श्रोत साधन माग्नुस् र कार्यान्वयनमा जानुस् ।’ उनले केन्द्रले श्रोत र साधन उपलब्धता र कर्मचारी अभावका कारण बिकास हुन नसकेको भएपनि अब त्यसको प्राप्तीका लागि आवाज उठाउँदै बिकासका योजना कार्यान्वयनमा ध्यान केन्द्रीत गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमको अध्यक्षता गरेका नेकपा गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डे ‘उत्तम’ले स्थानिय जनप्रतिनिधिहरुलाई ट्वाइसी हुन निर्देशन दिए । सेना र युद्ध कमाण्डमा खटिएकाहरुमा सेकेण्डरी कमाण्ड अर्थात ट्वाइसी हुने भएकाले सफलता हात पर्ने भन्दै उनले भने,‘तपाईंहरुपनि सेकेण्डरी कमाण्ड अर्थात ट्वाइसी हुनुस्, प्रमुख र उपप्रमुख मिलेर काम गर्नुस्, एउटाले काम गर्दा अर्कोले मौनता नसाँध्नुस्, उपप्रमुखले प्रमुलाई कसरी सहयोग गर्न सक्छु भनेर सोंच्नुस र सहयोग गर्नुस् अनि प्रमुखले उपप्रमुखसँग सल्लाह गर्नुका साथै जिम्मेवारीपनि दिएर सल्लाहमा काम गर्नुस् ।’

अध्यक्ष पाण्डेले पार्टीको सल्लाहमा बिकासका काम गर्नपनि निर्देशन दिए । उनले भने,‘आफैले गर्नुभयो भने त्यो तपाईंको व्यक्तिगत हुन्छ, पार्टीसँग सल्लाह गरेर गर्नुभयो भने त्यो संस्थागत हुन्छ र व्यक्तिसँगै पार्टीपनि स्थापित हुन्छ ।’ उनले स्थानिय तह स्थानिय सरकार भएकाले त्यसको आभाष दिनेगरी काम गर्नपनि निर्देशन दिए । उनले भने,‘स्थानिय तह स्थानिय सरकार हो, त्यो स्थानिय तहको प्रमुख भएको नाताले तपाईंहरु सरकार प्रमुख हो, त्यसैले पहिले आफू सरकार भएको महशुष गर्नुस् र जनतालाई सरकारको आभाष दिलाउनुस् ।’ उनले पार्टी एकतापछि ठूलो अवसर आएको भन्दै यो अवसरलाई सफल बनाउन सबै एक भएर लाग्नुपर्नेमा जोड दिए । उनले समाजवादमा जाने आधार तयार गर्नुपर्ने चुनौति रहेको बताउँदै त्यसका लागि स्थानिय सरकारको भूमिका महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले बजेट अभावमा सामाजिक सुरक्षा भत्ता दशैं अगाडि दिनसक्ने अवस्था नदेखिएको बताए ।
गोर्खाको बारपाक गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले कर्मचारी अभाव र भएका कर्मचारीमा पनि दक्ष नहुँका काम गर्न अप्ठेरो परेको गुनासो गरेका थिए ।

स्याङ्जाको पुतलीबजार नगरपालिकाका उपप्रमुख महेश पुरी र म्याग्दीको मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया विकले पार्टीको संयन्त्र नहुँदा समन्वय गर्न समस्या भएको र त्यसको असर बिकासका कामहरुमा देखिएको बताए ।

You might also like

Comments are closed.