नेतृत्वलाई सफल बनाउन भूमिका खेल्नेछुः मिरज

हर्कबहादुर अधिकारी (मिरज)
उम्मेदवार
कर्पोरेट सदस्य, पोखरा उद्योग वाणिज्य संघ

निजी क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको ३२औं महाधिवेशन आगामी असोज ५ र ६ गते पोखरामा हुँदैछ । महाविधेशनबाट २ जना कर्पोरेट सदस्य चुनिनेछन् । कर्पोरेट सदस्यमा उम्मेदवारी दिएका युवा व्यवसायी हर्कबहादुर अधिकारी (मिरज)सँग आर्थिक आवाजले गरेको कुराकानीको सारः

 

व्यावसायिक क्षेत्रमा कहिलेबाट आवद्ध हुनुभयो ?
विगत १५ वर्षदेखि अनवरत रुपमा म पोखरालाई केन्द्र बनाएर व्यावसायिक क्षेत्रमा आवद्ध छु । विभिन्न व्यवसायमा मेरो लामो अनुभव छ । म अहिले रियल स्टेट लगायतका व्यवसायमा आवद्ध छु ।

कुन–कुन व्यवसायमा आवद्ध हुनुहुन्छ ?
रियल स्टेट नै मेरो प्रमुख व्यवसाय हो । स्वास्थ्य क्षेत्रमा योगदान पु¥याउनुपर्छ भन्ने लक्ष्यले जुम्वा एण्ड फिटनेस सेन्टर सञ्चालन गरेको छु ।

पोखरा उद्योग वाणिज्य संघमा कर्पोरेट सदस्यमा उम्मेदवारी प्रस्तुत गर्नुको कारण ?
लामो समयदेखि विभिन्न व्यवसायमा आवद्ध छु । आफ्नो अनुभव तथा दक्षता प्रदर्शन गर्न मैले निजी क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको कर्पोरेट सदस्यमा उम्मेदवारी दिने निर्णय गरेको हुँ । अग्रजको सम्मान गर्दै व्यवसायीका समस्या समाधानमा सक्रिय रुपमा लाग्नेछु । बिगत ४÷५ वर्ष यता विभिन्न अनुसन्धान र अध्ययनको लागि धेरै विकसित देशको भ्रमण गरेको छु । त्यस अध्ययनबाट मैले धेरै कुरा ज्ञान लिएको छु । व्यावसायिक क्षेत्रमा ती ज्ञान तथा अनुभव मार्फत काम गर्न साथै यस क्षेत्रको प्रवद्र्धनको लागि निरन्तर लागिरहनेछु ।

तपाईंका एजेन्डा के–के छन् ?
प्रमुख एजेन्डा भनेको नेतृत्वको एजेन्डालाई सफल बनाउने हो । म सामुहिकतामा विश्वास गर्ने व्यक्ति भएको हुँदा मैले सामुहिक रुपमा धेरै व्यवसाय गरेको अनुभव छ । मैले धेरै संघ संस्थामा लागेर पनि उत्कृष्ट नेतृत्व गरिसकेको छु । त्यसै अनुरुप उद्योग वाणिज्य संघमा सदस्यको रुपमा रही काम गर्ने अवसर पाएमा नेतृत्वले दिएको जिम्मेवारी सफल रुपमा वहन गर्ने संकल्प गर्नेछु । साथै आफूमा भएको ज्ञान र अनुभवलाई समय सापेक्ष रुपमा समूहमा लगेर त्यसलाई कार्यान्वयन गराउन मेरो तर्फबाट महत्वपूर्ण भुमिका रहनेछ । विदेशी लगानी भित्र्याउन पनि पहल गर्नेछु ।

कर्पोरेट क्षेत्रका समस्या के कस्ता छन् ?
यस व्यवसायमा धेरै समस्या छन् । मुख्यतया लगानीमैत्री वातवारण छैन । कर प्रणाली धेरै झन्झटिलो छ । एउटै व्यवसाय माथि विभिन्न वाहनामा विभिन्न किसिमका कर लगाइन्छ । दोहोरो तेहोरो कर प्रणलीका कारण व्यवसायी मारमा पर्नुपरेको छ । नीति नियम लगानीमैत्री छैनन् । लगानीमैत्री तथा व्यवसायमैत्री नीति नियम तथा कानुन बनाउन पहल गर्नेछु । आफूूसँग भएका कानुनी ज्ञानलाई प्रयोग गरी व्यवसायमैत्री नीति बनाउन मेरो भुमिका महत्वपूर्ण रहनेछ ।

अन्त्यमा के भन्नुहुन्छ ?
निजी क्षेत्रको छाता संगठन पोखरा उद्योग वाणिज्य संघ आफैमा जिम्मेवार संस्था हो । नेतृत्वले ल्याएका सम्पूर्ण कार्यक्रमलाई सफल बनाउन मेरो प्रमुख भुमिका रहनेछ । व्यावसायिक क्षेत्रमा देखिएका समस्यालाई समाधानको लागि सधैं तयार रहनेछु । व्यवसायीका समस्यालाई आफ्नै ठानेर समाधानमा पहल गर्न अहम भुमिका रहनेछ । कर्पोरेट सदस्यबाट मलाई पूर्ण साथ र समर्थन हुनेमा म विश्वस्त छु ।

You might also like

Comments are closed.