आर्थिक आवाज
पोखरा, ७ भदौ । होटल लगायत सेवा क्षेत्रमा काम गर्ने दक्ष जनशक्ति उत्पादन उद्देश्यले नेपालमै पहिलो पटक पोखरामा होटल म्यानेजमेन्ट कलेज खुल्यो । नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज पोखरा अहिले नेपालकै अग्रणी सैक्षिक संस्थ ाबनेको छ । कलेजबाट हालसम्म ७ सय भन्दा बढी विद्यार्थीले व्याचलर एण्ड होटल म्यानेजमेन्ट कोर्ष उत्तीर्ण गरिसकेका छन् ।
नेपालमै पहिलो पटक सन् १९९९ मा पोखरा विश्वबिद्यालयको सम्वन्धनमा पोखरा १४ छिनेडाँडामा स्थापना भएको होटम म्यानेजमेन्ट कलेजबाट उत्तीर्ण प्रायः सबै विद्यार्थी विभिन्न देशमा रोजगारीमा लागिरहेको कलेजका अध्यक्ष अशोक पालिखेले जानकारी दिए । कलेजमा अध्ययन पश्चात विद्यार्थीहरु पोखरा, काठमाडौं लगायत विदेशमा समेत रोजगारमा जाने गरेका छन् । कलेजमा अध्ययन गरेका विद्यार्थीहरु अमेरिका, बेलायत, जर्मनी, नेदरल्याण्ड, स्पेन, जापान, हङकङ, सिङगापुर, अष्ट्रेलिया, भारत लगायतका देशहरुमा कार्यरत रहेको अध्यक्ष पालिखेले जानकारी दिए ।
‘कलेजमा अध्ययन गरेका विद्यार्थीको माग स्वदेशमा मात्र नभई विदेशमा समेत बढिरहेको छ’ उनले भने । यहाँ उत्पादन भएका विद्यार्थीले मासिक लाखौं रुपैयाँसम्म पारिश्रमिक पाउने गरेको पालिखे बताउँछन् । कलेजबाट उत्तीर्ण भएका विद्यार्थीहरु पाँचतारे होटलको म्यानेजर लेबलमा पुगिसकेका छन् ।
पोखरामा कलेज स्थापना हुनु अगाडि होटल म्यानेजमेन्टको अध्ययनका लागि विदेश जानुपर्ने बाध्यता थियो । पोखरामा नेपालमै पहिलो पटक यस सम्बन्धी कलेज स्थापना भएपछि अध्ययनका लागि विदेश जानुपर्ने बाध्यता हटेको हो । आफूहरुले नाफा भन्दा पनि गुणस्तरीय शिक्षा दिने उद्देश्यले कलेज स्थापना गरेको उनले बताए ।
पोखरालाई शैक्षिक नगरीको रुपमा स्थापना गराउन तथा पोखरामा अन्तराष्ट्रियस्तरको गुणस्तरीय शिक्षाको विकास गर्ने उद्देश्यले शिक्षा लगानी गरेको बताउँछन् अध्यक्ष पालिखे । २२ रोपनी क्षेत्रफलमा फैलिएको कलेजमा ५० हजार बर्गफिटमा आफ्नै पक्की भवन छ ।
नेपालकै उत्कृष्ट प्रयोगात्मक ल्याबहरु, कम्प्युटर ल्याब, पुस्तकालय, सभाहल, वास्केटवल कोर्ट, भलिवल कोर्ट, सुविधा सम्पन्न रेष्टुरेन्ट लगायतका भौतिक संरचनाहरु कलेजमा छन् । कलेजमा देशका प्रायः सबै ठाउँबाट विद्यार्थी अध्ययनका लागि आउने गरेको उनले बताए । कलेजले विद्यार्थीको आत्मविश्वास बढाउन तथा व्यवहारिक ज्ञान हासिल गराउन भारत, मलेसिया दुवई लगायतका देशमा अध्ययन तथा अवलोकन भ्रमणमा लैजाने गरेको उनले जानकारी दिए ।
कलेजले व्याचलर्स अफ बिजनेस एडमिनिस्ट्रेसन (बिबिए) र व्याचलर्स अफ विजनेस एडमिनिस्ट्रेसन बैंकिङ एण्ड इन्सुरेन्स (बिबिएबिआई)का कक्षासमेत सञ्चालन गर्दै आएको छ । पोखरामा बैंकिङ संघसंस्थाहरु डेड सय भन्दा बढी भएकाले त्यसको माग पुरा गर्न बिबिए र बिबिएबिआईका कक्षा सञ्चालन गरेको अध्यक्ष पाखिले बताउँछन् ।
कलेजले उच्च माध्यमिक शिक्षा परिषदबाट दुई र पोखरा विश्वबिद्यालयबाट ४ जनालाई निःशुल्क छात्राबृत्ति प्रदान गर्दै आएको छ । हरेक सेमेस्टरमा उत्कृष्ट अंक ल्याउने एक जना विद्यार्थीलाई समेत छात्रबृत्ति प्रदान गरिने उनले जानकारी दिए । समय–समयमा नेदरल्याण्ड, स्वीजरल्याण्ड, अमेरिका लगायतका देशबाट तालिम प्राप्त प्रशिक्षकहरुले कलेजका शिक्षक तथा विद्यार्थीहरुलाई तालिम दिने गरेका छन् ।
निजी क्षेत्रबाट सञ्चालनमा भएपनि कलेजले सामुदायिक कलेजले भन्दा सस्तो शुल्कमा विद्यार्थीलाई पढाइरहेको प्रिन्सिपल प्रकाश रेग्मी बताउँछन् । ‘नाफा कमाउने लक्ष्यभन्दा पनि शिक्षामा योगदान पु¥याउने लक्ष्यले हामीले कलेज सञ्चालन गरेका हौं,’ उनले भने ।