काठमाडौं, २ चैत ।
दक्षिण कोरियाली कम्पनी मोट्रेक्सले नेपालमै कार एसेम्बल गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको बोर्ड बैठकले नेपालमा एसेम्बलिङ उद्योग स्थापना गर्न मोट्रेक्सलाई अनुमति दिएको छ ।
सन् २००१ मा स्थापना मोट्रेक्स कोरियामा स्थापित कम्पनी मानिन्छ । यो कम्पनीलाई बोर्ड बैठकले १० अर्ब ५४ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृत गरी नेपालमा एसेम्बलिङ प्लान्ट स्थापना गर्न अनुमति दिएको हो । उक्त विदेशी लगानी रकम प्रधानमन्त्री ओली नेतृत्वको सरकार बनेयताको सबैभन्दा ठूलो हो ।
अबको १८ महिनामा उद्योग स्थापना गरिसक्ने र सुरुको वर्षमा २ हजार र पछि २० हजारवटा चारपांग्रे सवारी साधन उत्पादन गर्ने कम्पनीको लक्ष्य भएको बताइएको छ । एसेम्बल प्लान्ट रूपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा राख्ने तयारी छ । उसले एक सय बिघा जग्गा उपलब्ध गराइदिन बोर्डमा प्रस्ताव पेस गरेको छ ।




Comments are closed.