पोखरा ।
नेपाली चलचित्रका अगुवाहरुले चलचित्र हलहरु खोल्नुपर्ने बेला आइसकेको बताएका छन् । चलचित्र पत्रकार संघ कास्कीले शनिबार पोखरामा आयोजना गरेको ‘लकडाउन पछिको नेपाली चलचित्र ः चुनौति, यथार्थ र सम्भावना’ विषयक विशेष बहस कार्यक्रममा बोल्दै उनीहरुले कोरोना महामारी लामोसमय जाने भएकाले अब त्यससँग जुध्दै अगाडि बढ्नुको विकल्प नभएको बताएका हुन् ।
सञ्चारकर्मी अपिल त्रिपाठीले सहजीकरण गरेको कार्यक्रममा मुख्य वक्ता निर्देशक अनुप बरालले चलचित्र उद्योगलाई पुरानै अवस्थामा फर्काउनु चुनौतिपूर्ण रहेको बताए । कोरोना कहर कहिलेसम्म भन्ने अनिश्चित भएकाले अब यससँग जुध्दै चलचित्र निर्माण र हल सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरे । अबपनि हल सञ्चालनमा नल्याउने हो भने त्यसले नेपाली चलचित्रको अर्थतन्त्र र कलाकारलाई दूरगामी असर पर्ने चेतावनी दिए । उनले नेपाली चलचित्रलाई पहिलेकै अवस्थामा फर्काउनका लागि कोरोनाको कारण उत्पन्न डर हटाउनु आवश्यक रहेको औंल्याए । डरलाई कसरी हटाउने भन्ने अहिलेको सबैभन्दा ठूलो चुनौति हो,‘उनले भने,‘किनकी डरसहित हलमा पुगेकाले चलचित्र हेरेर मनोरञ्जन (ईञ्जोय) लिन सक्दैन ।’
निर्देशक बरालले अहिलेको उत्तम विकल्प डिजिटल रिलिज हुनसक्ने बताए । तर यो सँधैको विकल्प नभएको बताए । डिजिटल रिलिजमा लगानीको जोखिम हुने उनले बताए । तत्काल हल सञ्चालनमा ल्याउन नसक्ने हो भने डिजिटल रिलिजमा जानुपर्छ,‘उनले भने,‘तर यो तत्कालको विकल्प मात्रै हो, किनकी हलमा गएर चलचित्र हेर्नुको छुट्टै मज्जा छ ।’
बरालले नेपाली चलचित्र उद्योगमा परिवारबाद भन्दापनि समूहबाद (ग्रुपिज्म) रहेको बताए । नाताबाद नै त म देख्दिन,‘उनले भने,‘बरु समूहबाद भने देखिन्छ, आफ्नो समूहकालाई प्राथमिकतामा राख्ने र काम गर्ने ।’
अभिनेता माओत्से गुरुङलेपनि कोरोनाको कहरका कारण कलाकार र प्राविधिक संकटमा परेको बताए । सँधै कोरोना कोरोना भनेर बस्नु हुँदैन,‘रोगले भन्दा भोकले सताउने बेला भो, अब चलचित्र निर्माण पनि र हलपनि सञ्चालनमा ल्याउनुपर्छ ।’
चलचित्र विकास वोर्डका अध्यक्ष दयाराम दाहालले व्यवसायीक चलचित्र उत्पादन र प्रदर्शनको पुरानै अवस्थामा फर्किनु अहिलेको प्रमुख चुनौति रहेको बताए । भिडियो सन्देश पठाएका उनले चलचित्रलाई पुरानै अवस्थामा कसरी फर्काउन सकिन्छ भन्ने बारेमा अध्ययन भइरहेको बताए । निकासको मार्गचित्र बनाउन हामीले एक समिति बनाएका छौं,‘उनले भने,‘सो समितिले दिएको सुझाका आधारमा विकास वोर्ड अगाडि बढ्छ ।’
मिडटाउन चलचित्र हल पोखराका सञ्चालक निकेश द्वाले सामाजिक दुरी कायमसहित मास्क लगाउने र सेनिटाइजर प्रयोग गरेर हल सञ्चालन गर्न सकिने बताए । तर त्यसका लागि मापदण्ड कायम गर्नुपर्ने उनको भनाई छ । उनले हलको विकल्प खोजिहाल्ने बेला नभएको जिकिर गरे । चलचित्र हल सँधैका लागि र सबैका लागि उपयुक्त छ,‘उनले भने,‘कोरोना कहर भएपनि अहिले नै हलको विकल्प खोजिहाल्ने बेला भएको छैन ।’
Comments are closed.