नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेश अध्यक्षमा गिरी

पोखरा, फागुन २५

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेश अध्यक्षमा एकराज गिरी निर्वाचित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशको शनिबार भएको प्रथम अधिवेसनमा दीननाथ बराललाई १ मतले पराजित गर्दै गिरी अध्यक्षमा बिजयी भएका हुन् । निर्वाचित अध्यक्ष गिरीले २४ मत प्राप्त गरे भने उनका प्रतिष्पर्धी बरालले २३ मत प्राप्त गरे । कुल ५१ मत रहेको मञ्चमा ४८ मत खसेको थियो । १ मत भने दुबै जनालाई भोट नहाली खाली भएकाले बदर भएको निर्वाचन समितिले जनाएको छ ।

अध्यक्षमा निर्वाचन भएपनि अन्य पदमा भने सर्वसम्मत भएको थियो । मञ्चको उपाध्यक्षमा रञ्जन अधिकारी, महासचिवमा बिजय नेपाल, सचिवमा राजाराम पौडेल र कोषाध्यक्षमा शशी पौडेल निर्विरोध निर्वाचित भए । त्यस्तै मञ्चको खुल्ला सदस्यहरुमा उमेश पुन, नारायण शाही ठकुरी र रोशन अधिकारी निर्विरोध चयन भए । यसैगरी समावेशी सदस्यमा सुशील नेपाली (दलित), कविता घर्ती मगर (महिला) र गीता रानामगर (आदिवासी जनजाति) निर्विरोध चयन भए ।

निर्वाचित भएपछि बोल्दै नव निर्वाचित अध्यक्ष एकराज गिरीले सबैलाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता जनाए । एक मतले मात्रै आफू निर्वाचित भएकोतर्फ ईंगित गर्दै उनले भने,‘हामीलाई साथीहरुले बराबरजस्तै मत दिनुभएको छ, म बिपक्षमा मत दिने साथीहरुको पनि सम्मान गर्दै पराजित साथीलाईसमेत सँगै लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’ नव निर्वाचित अध्यक्ष गिरीले मञ्चले वर्षेनी गर्दै आएको स्पोर्टस् अवार्डलाई अझ परिस्कृत र ब्यबस्थित बनाउँदै लैजाने बताए । पराजित उम्मेद्वार दीननाथ बरालले बिजयी गिरीलाई सफल बनाउन आफूले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

गण्डकी प्रदेशमा खेल पर्यटनको सम्भावना अथाह छ ः गुरुङ

राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य राजेश गुरुङले गण्डकी प्रदेशमा खेल पर्यटनको अथाह सम्भावना रहेको बताए । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशको प्रथम अधिवेशनको शनिबार पोखरामा उद्घाटन कार्यक्रममा बोल्दै उनले पूर्वाधार निर्माण गरेर यसको प्रचारप्रसार गर्न सके गण्डकी प्रदेशमा खेल पर्यटनलाई समृद्धीसँग जोड्न सकिने उनले बताए । खेल पर्यटनलाई जोडेर कलम चलाउन आग्रह गर्दै उनले भने,‘खेलकुद मनोरञ्जनका लागि मात्रै होइन, यो स्वस्थता प्राप्ति, देशको पहिचान स्थापित गर्न र समृद्धी हासिल गर्नलाई पनि सघाउँछ ।’

राखेप सदस्य गुरुङले पोखरा रंगशालामा फुटवल स्टेडियम बनाउने काम आइतबारदेखी शुरु हुने बताए । पोखरा रंगशालामा निर्माण हुने फुटवल स्टेडियम १५ हजारदेखी १८ हजार दर्शक क्षमतासम्मको हुने बताउँदै उनले भने,‘हाल १८ हजारसम्मको भएपनि पछि यसलाई थपेर ३० हजारसम्मको बनाउन सकिन्छ ।’ उनले खेल पत्रकारहरुको क्षमता अभिबृद्धिदेखी उनीहरुको दुःखमा सदैव साथ दिने प्रतिबद्धता पनि जनाए ।

नेपाल खेलकुद पत्रकार मञ्चका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले अरु भन्दा पृथक भएर कलम नचलाए बिट अनुसार पत्रकारिता गर्छु भन्नुको अर्थ नहुने बताए । उनले पत्रकारितामा विशिष्टीकृत क्षमता प्रदर्शन गर्दै विश्लेषणात्मक समाचार नचलाउने हो भने कुनै दिन पलायनको बाटोमा पुग्ने बताए । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष त्रिभूवन पौडेलले पत्रकारले ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउनका लागि मार्ग निर्देश गर्ने हिसाबले कलम चलाउनुपर्ने बताए । अधिवेशनको अवसरमा मञ्चको आधिकारिक वेवसाइट एनएसजेएफगण्डकी डटकम पनि लञ्चिङ ग¥यो । वेवसाइटको विशेष अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले लञ्चिङ गरे ।  मञ्चका अध्यक्ष केशव पाठकको अध्यक्षतामा भएको उद्घाटन शत्र कार्यक्रममा उपाध्यक्ष दीननाथ बरालले स्वागत र महासचिव रञ्जन अधिकारीले सञ्चालन गरेका थिए ।

You might also like

Comments are closed.