नेपाल टुरिजम कलेजमा पुन पालिखे, ९ जनालाई दीर्घसेवा सम्मान

आर्थिक आवाज
पोखरा, २१ पुस । नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजको अध्यक्षमा अशोक पालिखे पुनः चयन भएका छन् । शनिबार सम्पन्न १४औं साधारणसभाले पालिखेको अध्यक्षतामा सर्वसम्मत ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । स्थापनादेखि नै कलेजको अध्यक्ष पालिखे छन् । पालिखेकै नेतृत्वमा कलेजले शैक्षिक सफलता प्राप्त गरिरहेको छ ।

साधारणसभाको अवसरमा कलेजले ९ जना विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । दीर्घसेवाबाट उनीहरुलाई सम्मान गरिएको कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले जानकारी दिए । सम्मानित हुनेहरुमा जोकबहादुर थापा, अर्जुनप्रसाद अधिकारी, दीलबहादुर गुरुङ, श्रीप्रसाद परियार, दीलकुमारी भुजेल, भीमकला बिक, भरत खवास, बुद्धिबहादुर गुरुङ, कृष्णप्रसाद अधिकारी छन् । उनीहरु कलेजमा १५ वर्षभन्दा बढी सेवारत छन् ।

स्थापनाकालदेखि कलेजको कार्यसमितिमा रहेर काम गरेका वृषराज गुरुङलाई पनि सम्मान गरिएको छ ।

पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज सन् १९९९ मा पोखराको छिनेडाँडामा स्थापना भएको हो । कलेजमा अहिले ८ सय ३६ जना विद्यार्थी अध्ययनरत छन् । कजेलले सय जनालाई रोजगारी दिइरहेको छ । कलेजमा बिएचएम, बिबिए, बिबिएबिआई र प्लसटुमा होटल म्यानेजमेन्ट कार्यक्रम सञ्चालनमा छन् ।

You might also like

Comments are closed.