नेपाल युवा उद्यमी मञ्च र एनएमबि बैंकबीच सहकार्य, युवा उद्यमशीलताका क्षेत्रमा काम गर्न समझदारी

काठमाडौं । नेपाल युवा उद्यमी मञ्च (एनवाइइएफ) र एनएमबि बैंकबीच सहकार्य गर्ने सम्झौता भएको छ । बैंकको केन्द्रीय कार्यालय बबरमहल काठमाडौंमा दुई पक्षबीच शुक्रबार समझदारी पत्रमा हस्ताक्षर भएको हो । युवा उद्यमशीलता अभिबृद्धिको क्षेत्रमा काम गर्ने दुवै पक्षबीच समझदारी भएको छ ।

बैंकको तर्फबाट सहायक महाप्रवन्धक बुद्धि मल्ल र मञ्चको तर्फबाट केन्द्रीय अध्यक्ष प्रकाशदेव पालिखेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकले युवा उद्यमीहरुको क्षमता अभिबृद्धि तथा वित्तीय परामर्शमा सहयोग गर्नेछ । उद्यम गर्न चाहने युवाहरुलाई सहजपूर्ण सहुलियत कर्जा बैंकले प्रदान गर्नेछ ।

‘संघका सदस्यहरुका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने सम्झैता भएको छ,’ पालिखेले भने, ‘सदस्यहरुको व्यावसायिक गतिविधिहरुको क्षेत्र विस्तार गर्नका लागि उद्यमशीलता विकास कार्यक्रम सञ्चालन हुनेछ ।’

बैंकको कृषि हेल्प डेक्स तथा सम्बन्धित विभागले वित्तीय परामर्श लगायत अन्य व्यावसायिक गतिविधिहरुमा एकद्वार प्रणालीबाट परामर्श प्रदान गर्ने सम्झौतामा उल्लेख छ ।

व्यावसायिक कृषि तथा पशुपंक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, वैदेशिक रोजगारबाट फर्केका युवा परिचालन कर्जा, दलित समुदाय व्यावसायिक कर्जा, महिला उद्यमशीलता कर्जा र गार्मेन्ट उद्योग कर्जामा बैंकले मञ्चका सदस्यहरुलाई सहुलित प्रदान गर्नेछ ।

नेपाल युवा उद्यमी मञ्च नेपालमा युवाहरुको उद्यमशीलता विकासका क्षेत्रमा बिगत १७ वर्षदेखि काम गर्दै आइरहेको संस्था हो । विभिन्न समयमा युवा उद्यमी सम्मेलन, महिला उद्यमी सम्मेलन, मेड इन नेपाल प्रमोशन कार्यक्रमहरु मञ्चले गर्दै आइरहेको छ । नेपालको काठमाडौं, पोखरा, चितवन, विराटनगर, इटहरि, रुपन्देही, कैलालीमा मञ्चका च्याप्टर छन् ।

You might also like

Comments are closed.