नेबिकोको कुकिज बजारमा

पोखरा । अंग्रेजी नयाँ वर्षको संघारमा नेबिको प्रालिले कुकिज उत्पादन थालेको छ । नेपालकै पहिलो बिस्कुट कम्पनी नेबिकोले बटर र जिरा फ्लेबरका कुकिज पोखराबाट सार्वजनिक गरेको हो । थप ४ फ्लेबरमा पनि कुकिज चाडै बजारमा ल्याउने कम्पनीले जनाएको छ ।

कम्पनीका म्यानेजर प्रकाश कार्कीले ५५ वर्षको यात्रामा ५५ थरिका बिस्कुट बजारमा ल्याएको बताए । नेबिकोले उपभोक्ताको माग बमोजिम पुराना बान्डलाई निरन्तरता र नयाँ प्रविधिबाट नयाँ उत्पादन बजारमा ल्याउने दुवै काम गरिरहेको उनको भनाइ छ । ब्रान्ड म्यानेजर अरुण पौडेलले दशैभर बिस्कुट बिक्री, वितरणका अलावा सामाजिक उत्तरदायित्व पनि निभाइरहेको उल्लेख गरे ।

उपभोक्त मञ्च गण्डकी संयोजक कपिलनाथ कोइरालाले स्वदेशी उत्पादनलाई उपभोक्ताले प्रोत्साहन गर्नुपर्ने बताए । उनले भने, ‘उही गुणस्तर र मूल्यका स्वदेशी र विदेशी उत्पादन भए हामीले स्वदेशी छान्नैपर्छ, स्वदेशी उद्योगलाई जोगाएर अर्थतन्त्र बलियो बनाउनुपर्छ ।‘

नेबिकोका गण्डकी धौलागिरी प्रमुख खेमराज बरालले यो क्षेत्रका ग्राहकको माग, रुचि र नयाँ वर्षको अवसरलाई मध्यनजर गरी पोखराबाट नयाँ उत्पादन सार्वजनिक गरिएको बताए । मार्केटिङ इन्चार्ज सुरज उपाध्यायले कम्पनीले गुणस्तरमा जोड दिएर नेपाली बजारमा स्थापित भएको बताए । नेबिकोले बालाजु र भैरहवाबाट बिस्कुट उत्पादन गरी देशका ७७ जिल्लामै बिक्री, वितरण गरिरहेको छ ।

You might also like

Comments are closed.