नेवारी संस्कार जोगाउन मिस नेवा

पोखरा, २४ पुस
नेवा खल कास्कीको आयोजनामा यस वर्ष हुने सिजी मिस नेवा पोखरा ११३८ को तयारी तीव्र पारिएको छ । आयोजकले आइतबार पत्रकार सम्मेलन गरी विभिन्न २२ उपसमितिसमेत गठन गरी तयारी भइरहेको जानकारी दिएको हो ।
नेपालमा नेवार समुदायले समृद्धि, भाषा, कला, साहित्य, संस्कार, अर्थ सबै क्षेत्रमा निर्वाह गरेको भूमिकाबारे नयाँ पुस्तालाई जानकारी दिन प्रतियोगिता सफल हुने सिजी मिस नेवा पोखरा ११३८ मूल संयोजक गजेन्द्रमान श्रेष्ठले बताए । उनले भने, ‘नेवारी पहिचान, संस्कृति जोगाउन र भावी पुस्तालाई हाम्रो ज्ञान, संस्कार, संस्कृति हस्तान्तरण गर्नु हाम्रो कर्तव्य हो । यसकै लागि हामीले सिजी मिस नेवा पोखरा ११३८ आयोजना गरेका हौं ।’
यो सुन्दरी प्रतियोगिता नै भए पनि आयआर्जन गर्ने लक्ष्यका साथ नगरिएको उनको भनाइ छ । प्रतियोगितामा सहभागीहरुको व्यक्तित्व विकास गर्न र पोखरालाई चिनाउनसमेत यसले योगदान गर्ने उनले अपेक्षा गरे ।
नेवा खल कास्कीले नेवारी संस्कृति, संस्कार र नेवार समुदायलाई सशक्त बनाउन र पोखराको प्रवद्र्धन गर्न विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । संस्थाका अध्यक्ष अशोक पालिखेले यो अन्य सुन्दरी प्रतियोगिता भन्दा मौलिक रहेको बताए । उनले भने, नेवारी भाषा केही नजान्नेहरु पनि फाइनलका दिन नेवारीमा भाषण गर्न सक्ने हुन्छन् ।’
मिस नेवा ११३७ अंशु शाक्यले विजेता भएपछि आफ्नो जीवनमा धेरै सकारात्मक परिवर्तन आएको बताइन् । उनले व्यक्तित्व विकास र विभिन्न अवसरले आफूलाई उत्साहित बनाएको बताइन् ।
नेपाल संवत् ११३१ देखि बर्षेनी हुँदै आएको यो प्रतियोगिताको आठौं संस्करणको फाराम पुस २० गतेबाट खुला भइसकेको छ । प्रतियोगीले माघ १५ गतेसम्म आवदेन दिन सक्नेछन् । प्रतियोगीको अडिसन माघ १६ गते नेवा छे हलमा हुनेछ भने माघ १८ गतेबाट प्रशिक्षण सुरु हुनेछ ।
प्रतियोगिताको फाइनल चैत ३ गते पोखरा सभागृहमा हुनेछ । सिजी मिस नेवा पोखरा ११३८ मा १८ देखि २२ वर्षका एसइई उत्तीर्ण नेवार युवतीले भाग लिन सक्नेछन् । मिस नेवाले ४० हजार, ३२ इन्चको सिजी टिभी र गिफ्ट ह्याम्पर पाउनेछन् । यस्तै, उपविजेताले २५ हजार, २१ इन्चको सिजी टिभी र गिफ्ट ह्याम्पर र तेस्रोले १५ हजार, डिभिडी प्लेयअर, गिफ्ट ह्याम्पर र प्रमाणपत्र पाउनेछन् ।
प्रतियोगिताका अन्य टाइटल विजेतालाई पनि पुरस्कृत गरिनेछ । जसमा, उत्कृष्ट नेवारी भाषा ७ हजार, भ्युअर्स च्वाइस ५ हजार, मस्ट ट्यालेन्ट अवार्ड ५ हजार, बेस्ट पर्सनालिटी ५ हजार, बेस्ट फ्रेन्डली ५ हजार, बेस्ट स्माइल ५ हजार र फोटोजेनिकले ५ हजार र प्रमाणपत्र पाउने छन् ।
नेवा खल कास्की अध्यक्ष अशोक पालिखेको अध्यक्षता भएको कार्यक्रम सञ्चालन सिजी मिस नेवा पोखरा ११३८ का प्रचारप्रसार संयोजक अनिषा श्रेष्ठले गरेकी थिइन् ।

You might also like

Comments are closed.