नेविसंघले जलायो महानगरको गाडी, ५ पक्राउ

पोखरा, १९ माघ

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पोखरा महानगरपालिकाको गाडी जलाएको छ । नेविसंघले शनिबार विहान पोखरा महानगरपालिकाको बा १ झ ५८७९ नम्बरको गाडी पोखरा ७ मासबारमास्थित घरेलु कार्यालय नजिक जलाएको हो ।

संघले बिदाको दिन सरकारी गाडीको दुरुपयोग रोक्न आज देशैभर सरकारी गाडी रोक्ने अभियान अन्तर्गत पोखरामा गाडी नै जलाएको हो । बिदाको दिन सरकारी गाडी चलाएको भेटिएकाले गाडी जलाइएको नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य तथा कास्कीका नेता सरोज केसीले बताए । नेपाल विद्यार्थी संघले सरकारी गाडीमा निरन्तर निगरानीमा राखेको र अन्यलाई पनि दुरुपयोग गरेको पाउने वित्तिकै तोडफोड र जलाउने चेतावनी दिए ।

पोखरा महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यलाई लिन उनको निवास मासवारमा गएको बेलामा नेवि संघले आगजनी गरेको पोखरा महानगरपालिकाले जनाएको छ । पोखरा महानगरपालिकाले स्वास्थ्य महाशाखामा करारमा कर्मचारी नियुक्ति गर्न शनिबार लिखित परीक्षा तोकिएको र परीक्षाको तयारीका लागि शिक्षा महाशखा प्रमुख आचार्यलाई महानगर कार्यालय लिएर आउन उक्त गाडी मासबार गएको महानगरका सूचना अधिकारी गंगालाल सुवेदीले जानकारी दिए । उनका अनुसार स्वास्थ्य महाशाखामा विभिन्न पदमा करारमा कर्मचारी नियुक्त गर्न शनिबार दिनभर नै पद अनुसार परीक्षाको तालिका बनाएको छ ।

गाडीमा रहेका व्यक्तिहरुलाई झारेर विद्यार्थीहरुले आगो लगाएका थिए । दमकलले आगो निभाएको भए पनि गाडी जलेर काम नलाग्ने अवस्थामा छ । आगो लगाउने विद्यार्थीहरु मोटरसाइकल चढेर भागेका प्रत्यक्षदर्शीले बताएका छन् ।

यसैबीच, प्रहरीले गाडी जलाएको आरोपमा ५ जना नेविसंघ सम्बद्ध विद्यार्थी नेतालाई पक्राऊ गरेको छ । नेविसंघका नेता सरोज केसीले नेविसंघ कास्कीका पूर्व सभापति लक्ष्मी पौडेल, नेता परशुराम बस्नेत, पोखरा विश्वविद्यालयका पूर्व सभापति राजेन्द्र बराल, नेता डिफान भुजेल र ला–ग्राण्डी कलेजका नेविसंघ सभापति बिनय पौडेललाई प्रहरीले पक्राउ गरेको जानकारी दिए । उनले पक्राउ परेकाहरुलाई तत्काल नछाडे थप गाडीहरु जलाएर नेविसंघको शक्ति देखाईदिने चेतावनी दिए ।

You might also like

Comments are closed.