न्यादी हाइड्रोका चाइनिज कर्मचारीद्वारा सुपर न्यादी हाइड्रोका कर्मचारीमाथि कुटपिट !

पुरानो विवादमा भएको थियो सर्बपक्षीय सहमति

काठमाडौं । सिउरी न्यादी पावर लि. अन्तर्गत लमजुङमा निर्माणाधीन सुपर न्यादी जलविद्युत आयोजनाका कर्मचारीलाई न्यादी हाइड्रोपावर लिमिटेडको न्यादी जलविद्युत आयोजनाका कर्मचारीले कुटपिट गरेका छन् । दुवै आयोजना लमजुङको मस्याङदी गाउँपालिका ६ मा सञ्चालित छन् ।

न्यादी हाइड्रोको ठेकेदार कम्पनी चच्याङ हाइड्रोपावर कन्स्ट्रक्सन एण्ड इन्स्टलेसन कम्पनीका कर्मचारीले सुपर न्यादीका कर्मचारीलाई असोज १८ गते आइतबार कुटपिट गरेको सुपर न्यादीका कर्मचारीले आरोप लगाएका छन् । चच्याङ हाइड्रोपावर कन्स्ट्रक्सनका केही चाइनिज कामदारले सुपर न्यादीका कर्मचारीलाई कुटपिट गर्दा ५ जना कर्मचारी घाइते भएको सुपर न्यादीका आवासीय इन्जिनियर आनन्द ओझाले बताए ।

आयोजनाको लागि पहुँचमार्ग बिस्तारको क्रममा नेपाली सेना र प्रहरीको समेत उपस्थितिमा विष्फोट गर्ने क्रममा चच्याङ हाइड्रोपावर कन्स्ट्रक्सनका प्रमुखसहित केही कर्मचारीले सुपर न्यादीका कर्मचारीलाई कुटपिट गरेकाले आवश्यक कारवाही गर्न आयोजनाले माग गरेको छ । सुपर न्यादीका तर्फबाट कारबाहीको मागसहित निवेदन परेकाले आवश्यक छानविन गरिने लमजुङ जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी गंगाबहादुर थापाले बताए ।

न्यादी हाइड्रोका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले भने सुपर न्यादीले आरोप लगाएजस्तै घटना नभएको बताउँछन् । माथिबाट ढुंगा खस्ने समस्याका कारण बाटो क्ल्यिरको माग मात्रै गरेको र भनेजस्तो नभएपछि न्यादी हाइड्रोका कर्मचारीलाई लखेट्ने काम मात्रै भएको न्यादी हाइड्रोका कर्मचारी बताउँछन् । न्यादीका चाइनिज कर्मचारीले सुपर न्यादीका कर्मचारीलाई लखेट्ने क्रममा केही कर्मचारीलाई सामान्य चोट लागेको बाहुनडाँडा प्रहरी कार्यालयबाट खटिएका प्रहरीले समेत बताएका छन् ।

पुरानो विवाद

माथिल्लो भागबाट ढुंगा खसी ट्रिपरमा लाग्दा केही महिना अगाडि न्यादी हाइड्रोका चिनियाँ कामदारको मृत्यु भएपछि दुई पक्षबीच विवाद बढेको पाइएको छ । यद्यपि, यस विषयमा प्रशासनको रोहबरमा गत भदौ ३० गते बसेको बैठकले सहमति जुटाइ सकेको छ ।

सिउरी न्यादीको काम भइरहेको ठाउँबाट ढुंगा खसेर चाइनिज कामदारको मृत्यु भएपछि सिउरी न्यादीले न्यादी हाइड्रोसँग छलफल समन्वय गरी नेपालको प्रचलित कानुन अनुसार क्षतिपूर्ति बापतको रकम उपलब्ध गराउने सहमति बैठकले गरेको थियो । डेमरेज हटाउने र सुरक्षा सतर्कता अपनाइ निर्माणको क्रममा आवश्यक पर्ने स्थानमा विष्फोटन सम्बन्धी कार्य र आयोजना निर्माण कार्य अगाडि बढाउने सहमति बैठकले गरेको थियो । बैठकमै भएको सहमतिलाई कार्यान्वयन गरी निर्माण कार्य अगाडि बढाइएको सिउदी न्यादीका निर्देशक कदम केसीले बताए ।

४० दशमलव २७ मेगावाट क्षमताको सुपर न्यादी जलविद्युत आयोजना र ३० मेगावाट क्षमताको न्यादी जलविद्युत आयोजना नजिकै निर्माणाधीन छन् ।

You might also like

Comments are closed.