पञ्चासेमा १० अर्बको लगानीमा केबलकार बन्ने

सन्देश श्रेष्ठ
पोखरा, २ मंसीर

कास्की, पर्वत र स्याङ्जाको संगम स्थल पञ्चासेमा केबलकार बन्ने भएको छ । पञ्चासे केबलकार परियोजनाले १० अर्बको लागतमा केबलकारसहित अन्य संरचना बनाउने भएको हो । धार्मिक एवं पर्यटकीय क्षेत्र पञ्चासेमा पर्यटक लैजानको लागि ६ वर्षमा बनाईसक्ने गरी केबलकार निर्माण गरिने परियोजनाका अध्यक्ष रामचन्द्र शर्माले बताए । २०७६ साल माघ महिनामा शिलान्यास गरेर २०८२ सम्ममा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याईसकिने उनले जानकारी दिए । ग्रामिण क्षेत्रमा रहेको पञ्चासे हाल भने कास्कीको भदौरेसम्म सवारी साधन र त्यहाँबाट पैदल हिंडेर तथा पर्वततर्फबाट चित्रे वा आर्थर डाँडाखर्कसम्म सवारी साधन र त्यहाँबाट ४ घण्टाको पैदल यात्रा गरेर जान बाध्य छन् ।

२ हजार ५ सय १७ मिटरको उचाईमा रहेको पञ्चासे पुग्न निर्माण गर्न लागिएको केबलकारको माथिल्लो स्टेशन पञ्चासेबाट १ किलोमिटर तल रहेको ताल नजिक रहेको छ भने तल्लो स्टेशन कास्कीको घाँटीछिनामा रहनेछ । यसको लम्बाई ८.५ किलोमिटर रहने बताइएको छ । केबलको लागत ३ अर्बको रहने परियोजनाले जनाएको छ । केबलकारमा ८० वटा टावर रहने परियोजनाका अध्यक्ष शर्माले जानकारी दिए ।

MANASLU

दैनिक दश हजार मानिस बोक्ने क्षमता सो केबलकारको हुने शर्माले बताए । उनका अनुसार केबलकारमा एक पटकमा दुई हजार चार सय मानिसले आवतजावत गर्न सक्छन् । दैनिक दश हजार मानिस बोक्ने क्षमता भएपनि शुरुमा पाँच हजार मानिसबाट सेवा दिइने उनले बताए ।

केबलकार निर्माण हुने स्थलमा कुनै जोखिम नरहेको परियोजनाले जनाएको छ । परियोजनाका अध्यक्ष शर्माले भने,‘पूर्वाधार निर्माणको विषयमा कुनै जोखिम छैन, हामीले सर्भे गरेरै निर्माण गर्न लागेका हौं, महाभुकम्पै आयो भनेमात्रै हो क्षति हुने भनेको, नत्र सामान्य अवस्थामा पहिरो जाने वा अन्य कुनै जोखिमको अवस्था छैन ।’

पर्यटक तान्न हेरिटेज प्लाजादेखी फनपार्कसम्म

पर्यटक तान्ने उद्धेश्यले निर्माण गर्न लागेको परियोजनाले केबलकार निर्माणबाहेक विभिन्न क्षेत्रमा पनि हात हाल्ने भएको छ । दश अर्बको लगानीमा निर्माण गर्न लागिएको सो परियोजना अन्तर्गत केबलकार निर्माणमा ३ अर्ब लगानी हुनेछ । त्यसबाहेक परियोजनाले हेरिटेज प्लाजा बनाउने भएको छ । ३ हजार रोपनीमा घाँटीछिनामा बनाइने यस हेरिटेज प्लाजामा स्थानियले उत्पादन गरेका टिपिकल ह्याण्डि क्राफ्टलगायतका सामानहरु बेच्नका लागि राखिने परियोजनाका अध्यक्ष शर्माले जानकारी दिए ।

परियोजना अन्तर्गत वाटर सोज (फाउन्टेन म्यूजिकल) बनाइने भएको छ । रातीमा पानीको म्याजिक अर्थात पानीबाट विभिन्न रंगीबिरंगी कलात्मक प्रस्तुती देखाइनेछ ।

परियोजना अन्तर्गत नै प्रेम पार्क बनाइने भएको छ । जहाँ मायालु जोडीहरु घुम्न र बस्न सक्नेछन् ।परियोजना अन्तर्गत श्रवणकुमार आश्रम बनाइनेछ । बुबा आमाको भक्तको आइडल पर्सनको रुपमा लिइने श्रवणकुमारको सम्झाना स्वरुप त्यहाँ आश्रम बनाइन लागेको हो । जहाँ असहायः बृद्धबृद्धाहरु राखिनेछ ।

पर्यटकको बसाई लम्ब्याउँदै उनीहरुलाई खर्च गर्न लगाउने उद्धेश्यले जीप फ्लायर पनि सञ्चालन गरिनेछ । पञ्चासेदेखी टिपिकल गुरुङ गाउँको रुपमा स्थापित चित्रेसम्म जीप फ्लायर निर्माण गरिने परियोजनाका अध्यक्ष शर्माले बताए ।

त्यस्तै मदिरा सेवन गर्न चाहनेलाई धार्मिक क्षेत्र भएकाले छुट्टै अल्कोहल जोन बनाइने भएको छ । सरकारले निश्चित क्षेत्रमा मात्रै मदिरा बेच्न पाइने कानून निर्माण गरिरहेकाले त्यसलाई सघाउन र धार्मिक क्षेत्रमा कुनै असर नगरोस् भन्ने उद्धेश्यले छुट्टै अल्कोहल जोन बनाउन लागिएको शर्माले बताए । उनका अनुसार अल्कोहल जोनमा एकै पटक दुइ हजार जनाले बसेर मदिरा सेवन गर्न सक्ने क्षमताको हुनेछ ।

परियोजना अन्तर्गत आधुनिक फनपार्क बनाइने भएको छ । पञ्चासेमा वालवालिकालाई पनि आकर्षण गर्न फनपार्क बनाइने शर्माले बताए ।

त्यस्तै मेडिकल हब पनि निर्माण गरिने भएको छ । त्यहाँ पुगेका पर्यटकलाई प्राकृतिक हिसाबले उपचारको ब्यबस्था गर्नका लागि मेडिकल हब बनाइन लागेको उनले बताए । त्यसका अलावा एग्रिकल्चर फार्म स्थापना गरिने भएको छ । जहाँ अर्गानिक उत्पादन गर्ने र पञ्चासे क्षेत्रमा ति उत्पादन पु¥याएर स्वाद चखाउने उद्धेश्य राखिएको छ ।

परियोजनाले स्थानिय सरकार र स्थानियबासी दुबैसँग छलफल सकेर सहमति लिइसकेको दाबी गरेको छ । परियोजनाका अध्यक्ष शर्माका अनुसार परियोजनाका लागि आवश्यक जग्गा अधिग्रहणको प्रक्रिया अघि बढेको छ । त्यहाँ प्रायः सामुदायिक वन, सरकारी वन र केहि नीजि जग्गाहरु रहेका छन् । नीजि जग्गा घाँटी छिनामा भएकाले स्थानिबासीसँगको छलफलमा उनीहरुले विकास लिएर आउन लागेको केबलकार निर्माणलाई सघाउने प्रतिबद्धता जनाउँदै सहमति दिएको उनले दाबी गरे । त्यस्तै सामुदायिक वन र सरकारी वन दुबैले सहमति दिइसकेको उनको भनाई छ ।

प्रदेश र संघ सरकारसँग छलफलको क्रममा रहेको परियोजनाका अध्यक्ष शर्माले जानकारी दिए ।

दश अर्बको लागतमा निर्माण गर्न लागिएको सो परियोजनामा प्रभावित क्षेत्र कास्की, पर्वत र स्याङ्जाका स्थानियलाई ३ अर्ब बराबरको शेयर दिइने भएको छ । उक्त शेयर पर्वतको मोदी गाउँपालिका, कास्कीको पोखरा महानगरपालिका तथा स्याङ्जाको आँधीखोला गाउँपालिकाका बासिन्दाले प्राप्त गर्ने परियोजनाले जनाएको छ । त्यसका अलावा कर्पोरेट, पत्रकार, सर्वसाधारण सबैलाई छुट्टाछुट्टै शेयर दिइने भएको छ ।

You might also like

Comments are closed.