पत्रकार द्वय सन्देश र बिनु पुरस्कृत

पोखरा, ७ भदौ ।

पोखराका कृयाशिल युवा पत्रकार सन्देश श्रेष्ठसहित पोखराका विभिन्न व्यक्तित्वहरु विहीबार पुरस्कृत भएका छन् । पोखरा महानगर वडा नम्बर १८ स्थित बाल कल्याण संस्थाले श्रेष्ठसहित पत्रकार बिनाकुमारी थापा मगरलगायत पाँच जनालाई सम्मान गरेको हो ।

कार्यक्रममा बाल कल्याण संस्थाद्वारा स्थापित ‘प्रथम विशिष्ट बाल कल्याण पत्रकारिता पुरस्कार’बाट श्रेष्ठलाई पुरस्कृत गरियो । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुन, प्रदेश सांसद गायत्री गुरुङ (कुसुम), बाल कल्याण संस्थाका अध्यक्ष इन्दिरा सापकोटालगायतले श्रेष्ठलाई नगद ६ हजार १ सय रुपैयाँ, सम्मानपत्र र दोसल्लासहित सम्मान गरेका हुन् । श्रेष्ठ रेडियो अन्नपूर्णका बरिष्ठ सम्बाददाता तथा अनलाईनखबर डटकमका पोखरा सम्बाददाता हुन् ।

कार्यक्रममा पत्रकार बिनाकुमारी थापा मगर (विनु)लाई बालिका बाल कल्याण पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरियो । उनलाई नगद ३ हजार १ सयसहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । पुरस्कृत मगर कान्तिपुर राष्ट्रिय दैनिककी पोखरा सम्बाददाता हुन् ।

सो अवसरमा गैसस महासंघका केन्द्रीय सचिव रामप्रसाद सुवेदी र बालगृहहरुको महासंघ नेपालका केन्द्रीय द्वितीय उपाध्यक्ष गोमा ढकाललाई बालबालिका संरक्षण अभियन्ता सम्मान २०७५ र बाल कल्याण समिति गण्डकी प्रदेशका बाल अधिकार श्रोत व्यक्ति बद्रीप्रसाद वाग्ले बालबालिका संरक्षण पहिचान सम्मान २०७५ बाट सम्मानित भए ।

कार्यक्रममा बोल्दै मन्त्री पुनले सडक बालबालिका सडकमा नरहने गरी बजेट ल्याएको दाबी गरिन् । उनले १८ वर्ष उमेर पुगेर बालगृहबाट निस्कनेहरुलाई रोजगारीमा पहिलो प्राथमिकता दिने घोषणा गरिन् । त्यस्तै कानुन पनि बालबालिकामैत्री बनाउने उनले प्रतिबद्धता जाहेर गरिन् ।

बाल कल्याण संस्थाका अध्यक्ष इन्दिरा सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा गैसस महासंघका केन्द्रीय सचिव रामप्रसाद सुवेदी, बालगृहहरुको महासंघ नेपालका केन्द्रीय द्वितीय उपाध्यक्ष गोमा ढकाल, बाल कल्याण समिति गण्डकी प्रदेशका बाल अधिकार श्रोत व्यक्ति बद्रीप्रसाद वाग्ले, सम्मानित पत्रकार सन्देश श्रेष्ठ, गैसस महासंघ कास्की अध्यक्ष पदमराज पहारी, बाल कल्याण संस्थाका कार्यकारी निर्देशक बिजयकुमार प्रधानलगायतले बोलेका थिए । उनीहरुले जिल्लामा महिला तथा बालबालिका कार्यालय नहुँदा बालबालिको उद्धार तथा संरक्षणमा समस्या भएको बताउँदै केहि समयका लागि अस्थायी रुपमा भएपनि संरक्षण मेकानिजम बनाउन मन्त्री पुनलाई आग्रह गरे ।

You might also like

Comments are closed.