पदयात्रा प्रवर्द्धन गर्दै टेवान र टुरिजम बोर्ड (फोटो फिचरसहित)

सुरेन्द्र पौडेल
पोखरा, २८ माघ । नेपाल टुरिजम बोर्ड पोखरा र पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)ले पदयात्रा प्रवद्र्धनको अभियान चलाएको छ । यसैक्रममा शनिबार पोखरामा पुरानो पदयात्राको स्थलगत अवलोकनसहित ‘हाइकिङ’ कार्यक्रम सम्पन्न भएको छ ।

पोखराको ड्यामसाइड, स्तुपा, अनदु हुँदै लेकसाइड जोड्ने छोटो रुटको पदयात्रामा आयोजित कार्यक्रममा पोखराका महिला पर्यटन व्यवसायी, पर्यटनसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधि तथा पत्रकारहरु सहभागी थिए । पर्यटन तथा पदयात्रा प्रवद्र्धनको लक्ष्यले कार्यक्रम आयोजना गरिएको टेवानका सचिव कमला गिरीले जानकारी दिइन् ।

‘द लस्ट ट्रेल’ नाराका साथ आयोजित हाइकिङ कार्यक्रमको शुभारम्भ गर्दै पोखरा पर्यटन परिषदका अध्यक्ष केदार शर्माले पर्यटन व्यवसायमा महिला सहभागिता बढेको बताए । ‘पछिल्लो समय महिला व्यवसायीहरु पर्यटन प्रवर्द्धन अभियानमा सक्रिय हुनु प्रशंसनीय कार्य हो,’ उनले भने ।

पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि पदयात्रा महत्वपूर्ण गन्तव्य बन्ने नेपाल पर्यटन बोर्ड पोखराका वरिष्ठ अधिकृत सूर्य थपलियाले बताए । ‘यहाँका पदयात्राहरुको पहिचान गरी प्रवर्द्धन गर्न पर्यटन बोर्ड तयार छ,’ उनले भने ।

पर्यटन प्रवर्द्धनको उद्देश्यले संस्था स्थापना भएको बताउँदै टेवानका अध्यक्ष लक्की कार्की क्षेत्रीले आगामी दिनमा पनि प्रवद्र्धनात्मक अभियानमा सक्रिय हुने प्रतिबद्धता व्यक्त गरिन् ।

You might also like

Comments are closed.