पुस २,तनहुँ ।
पराशर क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको माध्यमबाट परिचित गराउने उद्देश्यले शिवपुराण ज्ञान महायज्ञ हुने भएको छ । व्यास –५ वेनीपाटन स्थित पराशर क्षेत्रमा यही पौष १० देखि १८ गतेसम्म पराशर आश्रम संरक्षण समितिले महायज्ञ संचालन गर्ने भएको हो ।
महायज्ञ हुने सन्दर्भमा सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । वैदिक सनातन धर्म संस्कृति र संस्कृत विद्याको संरक्षण र सम्वद्र्धन गर्न महायज्ञ आयोजना गरिएको समितिका अध्यक्ष ताराप्रसाद श्रेष्ठले जानकारी दिए ।
“आध्यामित्क चेतना प्रचारप्रसार गर्दै नैतिक संस्कार र संस्कृृति भावि पुस्तामा हस्तान्तरण गर्नु हाम्रो जिम्मेवारी हो श्रेष्ठले भने” । महायज्ञले वैदिक कालदेखी नै प्रसिद्ध तीर्थस्थल पराशर क्षेत्रका धार्मिक, ऐतिहासिक, सांस्कृतिक, प्राचीन पुरातात्विक धरोहरको प्रचारप्रसारमा सहयोग पुग्ने व्यासका अध्येयता काशीनाथ न्यौपानेले विश्वास व्यक्त गरे । दमौलीको विकासका लागी व्यास र पराशर दुबै क्षेत्रको समान विकास हुनुपर्ने उनको धारण छ । सोही अवसरमा व्यास ५का वडा अध्यक्ष मोहनकुमार श्रेष्ठले समितिले थालेको कार्य सम्पन्न गर्न वडाबाट सकारात्मक सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । नगरपालिकाको गतिविधिलाई नजिकबाट निहालेर मुल्याकंन गरिदिन उनले सबैलाई आग्रह समेत गरे ।
महायज्ञमा संकलित दानबाट आश्रममा सञ्चालित गुरुकुल शिक्षाको स्तरोन्नति एवम् सुदृढीकरण गर्ने र आश्रम परिसरमा निर्माणाधीन प्यागोडा शैलीको शिव मन्दिरलाई प्राचीन नेपाली काष्ठकालले सजाउँदै छानामा तामा÷पित्तल राखी गजुरमा सुनको जलप लगाई पुर्णता दिने समितिले जनाएको छ । पशुपतिनाथ मन्दिरकै शैलीमा निर्माण हुने उक्त शिव मन्दिर ७५ लाखको लागतमा निर्माण सम्पन्न हुने अनुमान गरिएको छ । मन्दिर निर्माण कार्य सम्पन्न भएपछि शिवालय परिसरमा शिवपाञ्चायन देवताहरु स्थापित गराई हनुमान र सरस्वतीको मूर्ति स्थापना गरिने बताइएको छ । महायज्ञमा वेद पुराण शास्त्रका मर्मज्ञ प्रखर वक्ता आचार्य रामप्रसाद पौडेलबाट दैनिक कथा प्रवचन हुने बताइएको छ ।
Comments are closed.