परिचय सहकारीको छैटौं साधारणसभा, उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड, पत्रकार पाण्डेलाई सम्मान

आर्थिक आवाज
पोखरा, २० असोज । पोखराको न्युरोडमा रहेको परिचय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैटौं साधारणसभा शनिबार सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव शरदचन्द्र श्रेष्ठले सहकारीहरुले कृषि तथा उत्पादनमुलक क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए । सहकारीहरुले सरकारको नीति नियमलाई कडाईका साथ पालना गर्नुपर्ने उनले बताए ।

स्थापनाको छोटो समयमा सहकारीले सेयर सदस्यहरुको हकहितको क्षेत्र उल्लेखनीय काम गर्न सफल रहेको सहकारीका अध्यक्ष दीपक तिमिल्सिनाले बताए । बचत तथा ऋणको कारोबारमा मात्र सीमित नरही सेयर सदस्यहरुको हकहित तथा क्षमता अभिबृद्धिलाई ध्यानमा राखेर अन्य गतिविधि सञ्चालनमा सहकारी अग्रणी बनेको उनको भनाइ छ ।

साधारणसभाले अध्यक्षको वार्षिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन तथा आगामी वर्षको कार्ययोजना सर्वसम्मत पारित गरेको छ । कार्यक्रममा बचत तथा ऋण सहकारी संघ लि. कास्कीका सचिव दीपकप्रकाश आचार्य, सहकारीका उपाध्यक्ष यदुनाथ बञ्जारा, सचिव बलराम बडाल लगायतले बोलेका थिए ।

१ करोड ८३ लाख रुपैयाँ आम्दानी

गत आर्थिक वर्षको अन्त्यसम्ममा १ करोड ६९ लाख ४५ हजार रुपैयाँ सेयर पुँजी संकलन गर्न सफल सहकारीले सोही आर्थिक वर्षमा १२ करोड १ लाख ८२ हजार रुपैयाँ निक्षेप संकलन गर्न सफल रहेको साधारणसभामा अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।

११ करोड ६९ लाख ५३ हजार रुपैयाँ कर्जा लगानी गरी सहकारीले १ करोड ८३ लाख ८९ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको छ । सहकारीको कुल खर्च १ करोड ६२ लाख ३२ हजार रुपैयाँ रहेको बताइएको छ । सहकारीमा ७ सय ३० जना सेयर सदस्य छन् ।

पत्रकार पाण्डेलाई सम्मान

साधारणसभाका अवसरमा सहकारीले पत्रकार घनश्याम पाण्डेलाई सम्मान गरेको छ । सहकारीले स्थापना गरेको आर्थिक पत्रकारिता पुरस्कारबाट उनलाई सम्मान गरिएको हो ।

प्रमुख अतिथि श्रेष्ठ, सहकारीका अध्यक्ष तिमिल्सिनाले पत्रकार पाण्डेलाई ११ हजार १ सय ५५ रुपैयाँसहित प्रमाणपत्र र दोसल्लाले सम्मान गरेका हुन् । पाण्डे गण्डकी मिडिया हाउसमा कार्यरत पत्रकार हुन् । साधारणसभाकै अवसरमा सहकारीमा उत्कष्ट कारोबार गर्ने सेयर सदस्य तथा उत्कृष्ट कर्मचारीलाई पनि सम्मान गरिएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।

You might also like

Comments are closed.