पर्यटकको पर्खाइमा नमुना गाउँ भुक देउराली

गीता राना मगर/सुशान्त गाहा मगर, पर्बत ।
प्रचार प्रसारको कारण ओझेलमा परेको पर्वतको उत्तरी भेगमा रहेको भुक देउराली गाउँमा पर्यटक भित्र्याउन स्थानीय स्तरमाबाटै नमुना गाउँ घोषणा गरिएको छ । स्थानीय युवाहरुको पहलमा अन्नपूर्ण हिमालको काखमा रहेको पर्यटकीय गाउँ भुक देउरालीलाई गुरुङहरुको महान पर्व ल्होसारको अवसर पारी नमुना गाउँ घोषणा गरिएको हो ।

गाउँबाट मानिसहरु बसाइसरी शहर झर्ने क्रम वढ्दो रहेपनि भुक देउरालीका मानिसहरु भने यतिवेला पुन गाउँमै विकास गरी पुनस्र्थापना गराउने उद्देश्यले भुक देउरालीमा जन्मथलो भइ हाल कामको शिलशिलामा अमेरिका, बेलायत, हङकङ, जापान, काठमाडौ, पोखरामा बसोवास गर्ने युवाहरुले भुक देउराली युनाइटेड गु्रप निर्माण गरी गाउँमा विकासका कामहरु गरी नमुना गाउँको रुपमा अगाडि बढाएका हुन् ।

भुक देउरालीका पञ्चकाजी गुरुङले एक वर्ष अगाडिदेखि आफू बेलायतमा रहेको बेलामा गाउँको विकास कसरी गर्न सकिन्छ भनी कल्पना गरी काम शुरु गरी ठीक एकवर्ष भित्रमा गाउँलाई नमुना गाउँको रुपमा घोषणा गर्न पाउदा निकै खुसी लागेको बताए । आफू जन्मेको ठाउँ पर्यटकीय सम्भावना भएतापनि गाउँबाट बसाइसर्ने क्रम बढ्न थालेपछि स्थानीय स्तरमै गाउँको विकास गरी आफ्नो गाउँलाई नमुना गाउँ बनाउनुपर्छ भन्ने उद्देश्यले आफूहरु अगाडि बढेको र सफल भएको गुरुङको भनाइ छ ।

अन्नपूर्ण हिमालको काखमा रहेको ढुंगै ढुङगाको छानो भएको एकैनाशको घरहरु, मौलिकता झल्कने झ्यालढोका भएका पुराना घरहरुले जो कोहीलाई पनि आकर्षित गर्न सक्ने भएतापनि अझैसम्म कोही कसैको नजर पुग्न नसकिरहदा भुक देउराली नमुना गाउँ घोषणा भएसंगै भुक देउराली बासी यतिवेला हर्षित बनेका छन् । विदेशमा काम गर्ने युवाहरुले भुकदेउराली युनाइटेड गु्रप निर्माण गरी आफ्नो गाउँलाई विश्वसामु चिनाउन नमुना गाउँ घोषणा गरी पर्यटकीय गन्तब्य बनाउन लागि परेका हुन् । चार नम्बर प्रदेशकै पैदल यात्रा पुन हिल क्षेत्र जाने बाटो बिरेठाटी, नजिकै रहेको भुक देउराली गाउँका बासिन्दाहरु आफ्नो सुन्दर गाउँलाई नमुना गाउँको रुपमा चिनाउनका लागी यतिवेला आत्तुर रहेका छन् ।

भुक देउराली युनाइटेड गु्रपको सहयोगमा पुरानो संरचनाहरुलाई संरक्षण गर्दै भुक देउराली गाउँमा सार्वजनिक शौचालय, सामुदायिक भवन, तथा खेलमैदानहरुको निर्माण सम्पन्न भइसकेको बताउँदै सुपरिबेक्षक समेत रहेका चिजकाजी गुरुङले प्रचारप्रसारकै कमि रहेको बताउछन् । साथै पर्यटकहरु भित्रिने खालको वातावरण तय भइसकेकाले पनि नमुना गाउँमा आवश्यक मात्रामा आन्तरिक तथा बाह्य पर्यटकहरु भित्रिनेमा गाउबासी आशाबादी रहेको गुरुङको भनाई छ ।

प्राकृतिक छटाले भरिपूर्ण भुक देउरालीबाट अन्नपूर्ण हिमश्रृङखला, वारिपारिका पर्यटकीय गाउँहरु, झिलीबराङ, लप्सीबोट लगायतका गाउँहरु संगै गुराँस फुल्ने सिजनमा विभिन्न थरीका रंगीविरंगी फूल, डाँफे मुनाल, चितुवा, मृग, कालिज समेत नजिकैबाट नियाल्न सकिने भएकाले यो गाउँको विकासका लागिी आफूहरुले पहलकदमी सुरु गरेको भुक देउराली गाउ सुधार समितिका अध्यक्ष लेफ्टिनेन्ट राम बहादुर गुरुङले बताए । स्थानीय युवाहरुको पहलमा स्थानीय स्थरमा मात्रै नमुना गाउँको रुपमा घोषणा भएतापनि आवश्यक मात्रामा पर्यटक भित्राउन सरकारी निकायबाटै पर्यटन प्रवद्र्धन गर्नुपर्ने आवश्यकता देखिन्छ ।

पर्यटकको पर्खाइमा भुक देउरालीका स्थानीय
आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने मुख्य पर्यटकीय पदमार्ग घोडेपानी र पुन हिल जाने बाटो यही भुक देउराली गाउको नजिकै भएर जांदापनि भुक देउराली गाउँमा पर्यटकको पाइला पुग्न नसकिरहदा नमुना गाउँ घोषणसंगै पर्यटन आवागमनमा केही हुने होकी भन्ने स्थानीयले चासो दिन थालेका छन् । नयाँपुल भमरकोट उल्लेरी हुँदै घोडेपानी पदमार्ग खुलेको भएपनि आफैमा सुन्दरताले भरिपूर्ण भएको भुक देउरालीमा अझैसम्म आन्तरिक तथा बाह्य पर्यटक भित्रिन नसक्दा स्थानीय चिन्तित समेत बनेका छन् । स्थानीयबासीले नेपाल पर्यटन बोर्डसंग पटक पटक आफ्नो गाउँको प्रचार ्रसार गर्न आग्रह गर्दापनि आफूहरुको आग्रहलाई वेवास्ता गरेको स्थानीय भुक देउराली युवा क्लबका अध्यक्ष टेक बहादुर गुरुङ बताउछन् ।

एकै नासको ढुङगाको छानो भएको घर, गुरुङ संस्कृति मनोरम हिमश्रृङखला, वरिपरि ढकमक्क फुल्ने रंगी चंगी गुरांसे जंगल, डांफे मुनाल संगै रमाउन पाइने भुक देउराली गाउँ साच्चिकै ओझेलमा परेको गाउँका रुपमा चिनिन्छ । गाउँको बारेमा केही गीतहरु बनेपनि यो गाउँको बारेमा त्यति प्रचार प्रसार हुन नसकेकै कारण पर्यटकीय गतिविधी सञ्चालन हुन नसकेको अवस्थामा भर्खरै नमुना गाउँ घोषणा भएपश्चात स्थानीयहरु यतिवेला आफ्नो गाउँमा पर्यटकको आवागमनको पर्खाइमा छन् । पुनहिल, घोडेपानी पदयात्रा अन्तर्गत पर्ने लामद्वालीको बाटो खोला खोला हिड्ने बाटोबाट केही दृश्यहरु अवलोकन गर्न नसक्ने भएको बताउँदै आफ्नो गाउबाट प्राकृतिक सुन्दरताले भरिपूर्ण क्युवि छहारा, भेडी गोठको अवलोकन गर्दै पुनहिल जान सकिने भएकाले पर्यटकको सम्भावना बोकेको गाउँको रुपमा रहेको भुक देउराली गाउँ सुधार समिति अध्यक्ष क्याप्टेन राम बहादुर गुरुङ वताउँछन् ।

प्रदेश नं ४ लाई नेपालको अन्य प्रदेशहरु भन्दा हरेक स्तरबाट सम्भाबनै सम्भावना बोकेको प्रदेश मान्न सकिन्छ । पर्यटन, कृषि तथा उर्जाको पक्षमा प्रचुर सम्भावना रहेको प्रदेश नं ४ मा ११ जिल्ला रहेका छन नबलपुरदेखि मुस्ताङसम्म फैलिएर रहेको भौगालिक संरचना पनि प्रदेश नं ४ को सकरात्मक पक्ष हुन् । जसले गर्दा आन्तरिक तथा बाह्य पर्यटकहरु भित्रिने गरेको पाइन्छ ।

कतिपय बाह्य पर्यटकहरु हिमश्रङखलाको मनोरम दृश्य हेर्न भित्रिने गर्छन् भने अन्य पर्यटकहरु साहसिक खेल खेल्न आउने गर्छन् । पर्यटकीय गन्तव्यको केन्द्रबिन्दुको रुपमा पोखरासँगै पछिल्लो समयमा सिङगो प्रदेश नं ४ लाई नै लिने गरेको पाइन्छ । आफ्नै प्रकारका अस्तित्व रहेको यस प्रदेशमा पर्ने घान्दु्रक लगायतका गुरुङ गाउँहरु जस्तै सम्भाबना बोेकेको पर्बतको मोदी गाउँपालिका वडा नं १ भुक देउराली पनि हो तर प्रचारप्रसार सँगै केही समस्याका कारण आवश्यक मात्रामा पर्यटकहरु भित्रिन सकेका छैनन ।

बाझो फर्किएको भूमिमा अलैची खेती तथा बाख्रापालन गर्दै पर्बतका युवाहरु
गाउँघरको खाली जग्गा जंगलमा परिणत हुन थालेपछि पर्वतका युवाहरुले खाली जग्गामा कृषि र पशुपालन गर्न थालेका छन् । पर्वत मोदी गाउँपालिका वडा नम्बर १ का युवाहरुले खाली जग्गालाई सदुपयोग गर्दै अलैची खेती र बाख्रापालन गरी गाउँमा जंगलमा परिणत हुन लागेको जग्गाको सदुपयोग गर्न तर्फ लागी परेका हुन् ।

वैदेशिक रोजगारको क्रममा विदेशमा सिकेको सीपलाई सदुपयोग गरी याम बहादुर गुरुङले भुक देउराली बाख्रा पालन केन्द्र नाम दिएर व्यावसायिक बाख्रापालन सुरु गरेका हुन् । हाल आफू वेलायत बसोवास गर्ने भएतापनि गाउँमा खेर गएको जग्गालाई सदुपयोग गरी गाउँका युवालाई स्वरोजगार बनाउन उनले बाख्रापालनको सुरुवात गरेका हुन् । झण्डै ८ महिना अगाडि सुरु भएको बाख्रा पालनमा हाल माउ र बच्चा गरी ८० वटा बाख्रा छन् । १० वर्ष वेलायत बसोबास गर्ने क्रममा आफूले बाख्रापालन सम्बन्धी तालिम लिएको र सोही तालिमबाट बाख्रापालन गर्ने इच्छा जागेर आफ्नै गाउँमा बाख्रापालनको शुरुवात गरेको याम बहादुर गुरुङ बताउँछन् ।

स्थानीय प्रजातिको खरी बाख्रालाई जमुनापारी जातको बोका मार्फत क्रस गरी निकालिएको उक्त फर्ममा खरी र जमुनापारी प्रजातिका बाख्रा छन् । उक्त फर्ममा जापान बसोवास गर्ने अमृत गुरुङ र भुक देउरालीका श्री प्रसाद गुरुङ र तेजमान गुरुङको लगानी छ भने चार जनाले प्रत्यक्ष रोजगार पाएका छन् ।

गुरुङ जस्तै अर्का युवा कुलमान गुरुङले बाझो फर्किएको जमिनलाई प्रयोगमा ल्याउँदै ७० रोपनी जग्गामा अलैची खेती गरेका छन् । विदेशमा लामो समय बसेर आएका उनले आफ्नो पुर्खाले खेतीपाती गरेको जग्गा पछिल्लो समय जंगलमा परिणत हुन लागेपछि ७० रोपनी जंगलमा अलैची खेती गरेका हुन् । गाउँमा खेतीयोग्य जमिन जंगलमा परिणत हुनुभन्दा केही हदमा भएपनि अलैची खेतीबाट गाउँमा भएका युवालाई रोजगार प्रदान गरिन सकिने र अलैचीबाट राम्रो आम्दानी लिन सकिने भएकाले आफूले अलैची खेती गरेको वताए ।

गुरुङले बांझो रहेको अन्य जग्गाहरुमा आगामी दिनमा अलैची खेतीसंगै कागती खेती समेत गरिने बताए । उनले विदेशमा बसेर गरिने दुःख भन्दा आफ्नै गाउँमा खेर गएको कृषि योग्य भूमिबाट विभिन्न किसिमका खेतीपाती गरेर मनग्य आम्दानी गर्न सकिने समेत बताउँछन् ।

त्यसैगरी भुक देउराली धार्मिक हिसावले पनि त्यत्तिकै महत्वपूर्ण रहेको यहाँ रहेको भमरकोट र नेखोल बराहसंगै यो क्षेत्रमा रहेका भेडीगोठ पर्यटकका लागि नयाँ गन्तव्य हुन सक्ने भुक देउराली युवा क्लबका अध्यक्ष टेक बहादुर गुरुङ बताउँछन् । ‘भुक देउरालीको प्रचार प्रसार हुन नसक्दा पर्यटकीय गतिविधी हुन सकेन,’ उनी भन्छन्, ‘नजिकैको गाउँबाट आन्तरिक तथा बाह्य पर्यटकहरुको आवागमन बढ्दो मात्रामा भएतापनि हाम्रो गाउँ पर्यटकीय गतिविधी सञ्चालन हुन सकेन ।’ आगामी दिनमा गाउँलाई विश्वसामु चिनाउन नमुना गाउँ घोषणा गरिसकेको अवस्थामा पर्यटकलाई लक्षित गरी ५ वटा घरमा होम स्टे सञ्चालन गर्ने समेत गुरुङ बताउँछन् ।

यी दुई गुरुङले जस्तै अन्य युवाहरुले पनि वैदेशिक रोजगारमा जान भन्दा आफ्नै भूमिमा कृषि तथा पशुपालन गर्न सक्ने हो भने स्वदेशमै बसेर आफ्नै परिवारको साथमा रमाउदै मनग्य पैसा कमाउन सकिनेछ । तर यस्ता कार्यको पर्वद्धन गर्न भने सरकारी स्तरबाटै लाग्नुपर्ने देखिन्छ ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...