पर्यटक आकर्षित गर्न होटलदेखी ट्याक्सीसम्ममा छुट

सन्देश श्रेष्ठ
पोखरा, २८ चैत

गण्डकी प्रदेशमा पर्यटकलाई आकर्षित गर्न होटलदेखी ट्याक्सीसम्मलाई छुट दिने तयारी गरिएको छ । गण्डकी प्रदेश सरकारको प्रस्तावमा गण्डकी प्रदेशका पर्यटनसँग सम्बन्धित होटल, रेष्टुरेण्टदेखी प्याराग्लाइडिङदेखी सार्वजनिक सवारी साधनसम्म छुट दिने तयारी गरिएको हो । गण्डकी प्रदेश सरकारले घोषण गरेको आन्तरिक भ्रमण वर्षलाई सफल बनाउने उद्धेश्यले पर्यटकलाई आकर्षित गर्दै आन्तरिक पर्यटक आगनमा बृद्धि ल्याउनका लागि छुट दिने तयारी गरिएको गण्डकी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले बताए ।

पर्यटनसँग सम्बन्धित सेवाहरुमा छुट दिने तयारी गरिएको छ । गण्डकी प्रदेश सरकारले होटल, रेष्टुरेण्ट, रिसोर्ट, टुर्स एण्ड ट्राभल, ट्रेकिङ, खेल पर्यटनका गतिविधिहरु, सार्वजनिक सवारी साधनहरुलगायतमा छुट दिने तयारी गरिएको मन्त्री लम्सालले जानकारी दिए । सेवामा मात्र छुट हुने प्रष्ट्याउँदै उनले भने,‘छुट सेवामा मात्रै दिने प्रस्ताव गरेका छौं, किनेर बेच्नुपर्ने सामानहरुमा होइन ।’

सरकारले छुट दिने प्रस्ताव गरिरहँदा सार्वजनिक सवारी साधन सञ्चालकहरुले भने छुट दिन नसक्ने बताएका छन् । यद्वपी पर्यटनसँग सम्बद्ध व्यवसायीहरुले भने छुट प्रस्तावको स्वागत गर्दै सघाउने बताएका छन् ।

छुट दिने तयारी अन्तर्गत सबै पक्षसँग छलफल गर्ने क्रम चलिरहेको छ । पर्यटन, वन तथा वातावरण मन्त्रालयले छुट दिन प्रस्ताव गरिएका सेवा सम्बद्ध संघसंस्थाहरुसँग छलफल गरिरहेको छ । जस अन्तर्गत पश्चिमाञ्चल होटल संघ र ट्याक्सी व्यवसायी समिति पोखरासँग सहमति भइसकेको र त्यसलाई लिपिबद्ध गर्न बाँकी रहेको उनले बताए ।

रेष्टुरेण्टमा भने २० प्रतिशत छुट दिन नसकिने भएको छ । रेष्टुरेण्टमा खाद्य सामग्री खरिद गर्नुपर्ने भएकाले २० प्रतिशत छुट दिन नसकिने भएपछि ५ प्रतिशत छुट दिने तयारी गरिएको छ ।

पर्यटनसँग सम्बन्धित साहसिक खेलकुदका गतिविधिमासमेत छुट दिइने भएको छ । गण्डकी प्रदेशको मुख्य केन्द्र पोखरासहित विभिन्न ठाउँमा साहसिक खेलहरु प्याराग्लाईडिङ, बञ्जीजम्प, क्यानोनिङ, जीप फ्लायरलगायतमा पनि २० प्रतिशत छुट दिनका लागि सम्बन्धित संघसंस्थाहरुसँग छलफल चलिरहेको जनाइएको छ । यसैगरी पर्यटनसँग सम्बन्धित साहसिक अल्ट्रालाइट, हट एयर बेलुनलगायतमा पनि छुट दिइने भएको छ । यसका लागि पनि छलफल भइरहेको मन्त्री लम्सालले बताए ।

मन्त्रालयको प्रस्तावमा केहिले सहमति जनाएपनि केहिले भने विमती राखेका छन् । खास गरेर बस तथा माइक्रो बस व्यबसायीहरुले २० प्रतिशत छुटबारे असहमति जनाएका हुन् । गण्डकी धौलागिरी सार्वजनिक यातायात समन्वय समितिका बरिष्ठ उपाध्यक्ष योगेन्द्रबहादुर केसीले बस तथा माइक्रोमा २० प्रतिशत छुट दिन नसकिने बताए । उनले भने,‘ब्यबसाय धरासायी बनाएर पर्यटक आकर्षित गर्न सकिदैन ।’ मन्त्रालयले छुटबारे प्रस्ताव वा छलफल केहिपनि नगरेको भन्दै प्रस्ताव आएपनि त्यो नसकिने बताए । उनले व्यवसायीलाई धरासायी बनाएर भन्दा राज्यले आफैले लगानी गरेर पर्यटक आकर्षित गर्ने कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने उनले तर्क गरे ।

पश्चिमाचल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले पर्यटनमा बृद्धि गर्न छुट दिने प्रस्ताव स्वागतयोग्य रहेको बताए । उनले होटलमा १५ प्रतिशत छुट दिने औपचारिक निर्णय नै गरिएको बताउँदै आवश्यक परे छलफल गरेर २० प्रतिशत छुट दिन सकिने बताए ।

छुट दिन थालेपछि पर्यटक आगमनमा बृद्धि हुने अपेक्षा गरिएको छ । पश्चिमाञ्चल होटल संघका अध्यक्ष तुलाचनले छुट दिन थालेपछि ३० देखि ३५ प्रतिशत पर्यटक आगमनमा बृद्धि हुने बताए । उनले भने,‘छुट दिने प्रस्ताव धेरै राम्रो कुरा हो, यसले पर्यटकमा ३० देखि ३५ प्रतिशत पर्यटक बृद्धि हुने अनुमान छ ।’

पर्यटन वोर्ड पोखराका प्रबन्धक सूर्य थपलियाले पनि छुटले पर्यटक आगमनमा सकारात्मक प्रभाव पार्ने बताए । उनले भने,‘छुट भन्ने वित्तिकै आम मानिसले चासो व्यक्त गर्छन्, यसले पर्यटक आगमनमा राम्रो प्रभाव पार्छ ।’ उनले आन्तरिक पर्यटकमा २५ देखी ३० प्रतिशत पर्यटक आगमनमा बृद्धि ल्याउने अनुमान गरे ।

You might also like

Comments are closed.