पर्यटक प्रहरी निरीक्षक भगवतीलाई वोटेफको स्वागत

पोखरा, २४ पुस ।

महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ)ले पर्यटक प्रहरी निरीक्षक भगवती तिमिल्सिनालाई स्वागत तथा सम्मान गरेको छ । स्वागत कार्यक्रममा वोल्दै प्रहरी निरीक्षक तिमिल्सिनाले पर्यटकलाई पर्ने समस्या समाधान आफू खटेर लाग्ने बताइन् ।

पर्यटक प्रहरीलाई भाषाको समस्या रहेकाले छिट्टै भाषा कक्षा संचालन गरिने जानकारी दिइन् । कतिपय पर्यटक विभिन्न नकारात्मक उद्देश्य लिएर आउने हुँदा त्यस्तासँग सचेत रहन व्यवसायीलाई आग्रह गरिन् । पर्यटन व्यवसायमा आवद्ध महिला कामदारको समस्या समाधान गर्न लागि पर्ने बताइन् ।

कार्यक्रममा बोल्दै पर्यटक प्रहरी नायव निरीक्षक (सई) टीकाराम पौडेलले पर्यटन क्षेत्रलाई व्यवस्थित गर्न आफूहरु लागेको बताए । पर्यटकहरुबाट नै लागु पदार्थको कारोवार हुने गरेको पनि उनले बताए । विभिन्न स्थानमा पर्यटक प्रहरी खटिएर लागु पदार्थको कारोवार गर्नेलाई पक्राउ गरिएको पौडेलले जानकारी दिए । प्रहरी र व्यवसायी मिलेर समस्या समाधानमा लाग्नुपर्ने उनले बताए ।

संस्थाका अध्यक्ष जमुना पराजुलीले पर्यटक प्रहरीको उच्च पदमा महिला आउदाँ गौरव लागेको बताईन् साथै पर्यटन व्यवसाय संवेदनशिल व्यवसाय भएकोले सवै मिलेर अगाडी बढ्नुपर्नेमा जोड दिईन् । सल्लाहकार देवका पहारीले महिला पर्यटन व्यवसायीको पहिचान नभएको अवस्थामा पहिचान स्थापना गराउन संस्था स्थापना गरिएको बताइन् । पर्यटक प्रहरी र पर्यटन व्यवसायी बीचको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्ने उनको भनाई छ ।

सल्लाहकार पम्फा पहारीले भाषाको समस्याका कारण पर्यटन क्षेत्रमा विभिन्न समस्या आउने गरेको बताइन् । संस्थाका अध्यक्ष जमुना पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष पार्वती पाण्डे र संचालन सचिव उमा भण्डारीले गरेकी थिइन् ।

You might also like

Comments are closed.