पर्यटनमा थपियो नयाँ गन्तव्य, पोखरामा खुल्यो ‘बिग स्प्लाश’

सुरेन्द्र पौडेल
पोखरा । आर्य दि रिसोर्ट एण्ड फन प्रालिले पोखरा १४ कुँडहर फाँटमा वाटर पार्क ‘बिग स्प्लाश’ सञ्चालनमा ल्याएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी पार्क सञ्चालनमा ल्याइएको प्रवन्ध निर्देशक अमितराज मुल्मीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । ‘मनोरञ्जनका लागि पोखरा क्षेत्रमा नयाँ गन्तव्य थप भएको छ,’ उनले भने ।

पार्कमा पहिलो चरणमा ११ करोड रुपैयाँ लगानी भएको उनले बताए । १३ रोपनी जग्गामा पार्क निर्माण गरिएको छ । बच्चादेखि बयस्कहरुका लागि लक्षित गरी पानीमा मनोरञ्जन गर्नका लागि विभिन्न स्लाइड तथा फाउन्टेन्सहरु राखिएका छन् । दोस्रो चरणमा स्विमिङ पुल निर्माण गरिने मुल्मीले जानकारी दिए । ‘दोस्रो चरणसम्ममा लगानी १६ करोड रुपैयाँ पुुग्छ,’ उनले भने ।

फरक फरक उचाई र लम्बाइका स्लाइडहरुबाट पानीमा खेल्न सकिने व्यवस्था मिलाइएको छ । ‘पोखरामा पहिलो पटक यसप्रकारको पार्क निर्माण भएको छ,’ उनले भने, ‘पानीमा खेल्न चाहनेहरुका लागि पार्क नयाँ गन्तव्य बन्नेछ ।’ पार्कमा प्रवेशका लागि बच्चाहरुलाई ४ सय ३५ रुपैयाँ र बयस्कहरुलाई ४ सय ९५ रुपैयाँ शुल्क तय गरिएको छ । पार्क भित्र प्रवेश गरेपछि इच्छा अनुसार सम्पूर्ण खेलहरु खेल्न सकिनेछ ।

पुल र स्लाइडमा प्रयोग हुने पानी जमिनमुनी सयमिटर बोरिङ गरी निकालिएकोे छ । पानीलाई नियमित फिल्टर र प्रशोधन गरी प्रयोगमा ल्याइने मुल्मीले बताए । बिग स्प्लाश परिसरमा पार्टी, सांगीतिक कार्यक्रमहरु, फिल्म तथा भिडियो सुटिङ, फोटोशुटको सुविधा पनि उपलब्ध छ । दोस्रो चरणको काम केही महिनाभित्रै सकिने मुल्मीले जानकारी दिए ।

तेस्रो चरणमा थप आकर्षक स्लाइडहरु थप गरिने उनले बताए । तेस्रो चरणमा केही वर्षभित्र पार्क परिसरमै आकर्षक रिसोर्ट निर्माण गरिने मुल्मीले जानकारी दिए । पार्कमा खेल्न आउने ग्राहकलाई लक्षित गरी रेस्टुरेन्ट समेत सञ्चालनमा ल्याइएको छ । रेस्टुरेन्टमा गुणस्तरीय र हाइजेनिक परिकार उपलब्ध हुने उनले बताए ।

पानीमा मरोरञ्जन गर्न चाहनेहरुका लागि बिग स्प्लाश आकर्षक गन्तव्य बन्नेमा आफूहरु विश्वस्त रहेको प्रालिका अध्यक्ष आनन्दराज मुल्मीले बताए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका मुल्मीले ‘ड्रिम प्रोजक्ट’का रुपमा आर्य दि रिसोर्ट एण्ड फन प्रालि सञ्चालनमा ल्याएको जानकारी दिए ।

You might also like

Comments are closed.