पर्यटन पूर्वाधार विकास सम्बन्धी अन्तरक्रिया

पोखरा, २९ माघ ।
पोखराको जरेबरदेखि शुरु भई मेथलाङ, सराङकोट, कास्कीकोट, ढिकुरपोखरी, भदौरेतामागी, पञ्चासे, पुम्दीभुम्दी हुँदै फेवाबाँधसम्म नयाँ पर्यटकीय पैदल मार्ग निर्माण तथा संरक्षण समितिले फेवाताल वरपरका ग्रामीण क्षेत्रमा पर्यटन पूर्वाधार विकास गर्ने उद्देश्यले उच्च तहका विज्ञ समूहको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख वक्ताद्वय प्रदेश सभासद् रामजी बराल र विन्दु कुमार थापाले फेवाताललाई केन्द्रमा राखेर हिमाली र फेवातालको मनोरम दृश्य अवलोकन गर्दै पदयात्रा गर्न मिल्ने पैदल मार्गले धेरै स्वदेशी तथा विदेशी पर्यटकहरु भित्र्याउन सकिने बताउँदै उनीहरुको बसाई लम्ब्याउन सकिने बताए ।

नेपाल सरकार प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोद कुँवरले पोखरा हिमाल, ताल, धार्मिक सांस्कृतिक एवं ऐतिहासिक स्थलका साथै जैविक विविधताको अवलोकन गर्दै हिड्न मिल्ने पदमार्गको छुट्टै विशेषता रहेको बताउँदै विभिन्न खण्डमा विभाजन गरी निर्माणाधनी उक्त पदमार्गको छिट्टै डिपिआर निर्माण गरी कार्य अगाडि बढाउनु पर्ने बताए ।
कार्यक्रममा पूर्व सभासद् डिवि नेपालीले त्यस क्षेत्रको पर्यटन पूर्वाधार विकासमा नयाँ पर्यटकीय पैदल मार्ग कोशेढुङ्गा सावित हुने र दक्षिण एशियाकै पहिलो नमूना पदमार्ग बन्ने बताए ।

पर्यटनसँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधि र विज्ञ समूहको उपस्थिति रहेको उक्त कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. २४ का वडाध्यक्ष ओम प्रसाद सुवेदीले आफ्नो वडाले पदमार्ग निर्माणको लागि २० लाख रकम विनियोजन गरेको र सम्बन्धित सबै वडा र गाउँपालिकाले आ–आफ्नो खण्डको निर्माण कार्यमा सहयोग गरे निर्माण कार्य छिट्टै सम्पन्न हुने बताए ।  वडा नं. १८ का अध्यक्ष रणबहादुर थापाले पदमार्गको निर्माण कार्य एउटा छेउबाट निर्माण गर्दै जाँदा राम्रो हुने बताए ।
कार्यक्रममा पूर्व नगर विकास समितिका अध्यक्ष दुर्गा प्रसाद तिमिल्सिना, विश्व लामिछाने, पर्यटन परिषद्का प्रतिनिधि कृष्ण प्रसाद भण्डारी, टानका प्रतिनिधि उदय सुवेदी, साइकल सिटी कास्कीका अध्यक्ष प्रकाश बज्राचार्य, साइकल संघका सदस्य जगन विश्वकर्मा, पर्यटन व्यवसायी, नेपाली काँग्रेस वडा नं. २४ का प्रताप बहादुर कार्की, पर्यटन व्यवसायी तुलसी सुवेदी, बासु त्रिपाठी, भानु कँडेल, शिवप्रसाद तिमिल्सिना, शिव प्रसाद अधिकराी लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

पदमार्ग निर्माण तथा संरक्षण समितिका अध्यक्ष विष्णु हरि शर्माले उक्त पदमार्गको जरेवर, सराङकोट खण्डलाई पैदल मार्गको रुपमा, सराङकोट कास्कीकोट देउरालीसम्मको खण्डलाई साइकल मार्गको रुपमा, कास्कीकोट देउरालीदेखि नागडाँडासम्मको खण्डलाई अपाङ्गमैत्री पदमार्गको रुपमा र नागडाँडादेखि भदौरेसम्मको मार्गलाई घोडसवारी मार्गको रुपमा तथा भदौरेदेखि भञ्ज्याङ, स्तुपाहुँदै फेवा बाँधसम्मको पदमार्गलाई पैदल मार्गकै रुपमा विकास गर्नेगरी डिपिआर बनाउन लागेको जानकारी दिए ।  समितिका अध्यक्ष विष्णुहरि शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव तेजेन्द्र पौडेलले गरेका थिए ।

You might also like

Comments are closed.