पर्यटन प्रवद्र्धनको लक्ष्यसहित आजबाट पोखरामा २०औं सडक महोत्सव

सन्देश श्रेष्ठ/आर्थिक आवाज

पोखरा, १३ पुस । पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा आजदेखि ‘पोखरा सडक महोत्सव’ आयोजना हुँदैछ । अंग्रेजी नयाँ वर्षको स्वागतार्थ रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखराको आयोजनामा महोत्सव आयोजना गरिएको हो । आजदेखि शुरु हुने महोत्सव पुस १७ गतेसम्म जारी रहनेछ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको रेवान पोखरा अध्यक्ष बुधराज भुजेल ‘भीमसेन’ले जानकारी दिए । ‘अगेंजी नयाँ बर्षको गन्तव्य स्थल’ बनाउनका लागि आयोजित महोत्सवको मूल नारा ‘सडकमै खाऔं, सडकमै नाचौं र सडकमै रमाऔं रहेको छ । आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन, जनजातिसँग सम्बन्धित लोपोन्मुख भेषभुषा, कला, संस्कृति, ग्रामिण क्षेत्रमा उत्पादित घरेलु सामाग्रीहरुको संरक्षणका साथै प्रवद्र्धन गर्ने महोत्सवको उद्देश्य रहेको छ ।

महोत्सव स्थललाई दुलही झैं सिंगारिएको छ । महोत्सव हुने पोखराको शहिदचोकदेखि खहरे डिहिकोपाटनसम्मको साढे ३ किलोमिटर क्षेत्रलाई ध्वजापताकाले दुलही झैं सिंगारिएको हो । त्यस्तै महोत्सव हुने मुख्य स्थल कोमागाने पार्कलाई पनि सिंगारेर चिटिक्क पारिएको छ । महोत्सव स्थल प्रवेश गर्ने नाकाहरुमा प्रवेश द्वार बनाइएको छ । ठाउँठाउँमा तुल, व्यानरहरु राखेर ढकमक्क ढाकिएको छ । प्रत्येक होटल तथा रेष्टुरेण्टहरुमा वत्तिको झिलिमिली पारिएको छ भने कतिपय ठाउँहरुमा फुलले सजाइएको छ । अधिकांश रेष्टुरेण्ट तथा होटलहरुमा क्रिसमसको अवसरमा बनाइएको क्रिसमस ट्रि अहिलेपनि उस्तै गरी सजाएर राखिएको छ । जसका कारण होटल तथा रेष्टुरेण्ट झकिझकाउ देखिएका छन् ।

महोत्सवमा सडकमै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खानाका परिकारहरु राखिएका छन् । महोत्सवको मुख्य स्थल कोमागाने पार्कमा खानाका १६ वटा स्टलहरु रहेका छन् । त्यस्तै सबै रेष्टुरेण्टको अगाडिको भागमा सडकमै खाना तथा खाजाका परिकारका स्टलहरु राखिएका छन् । सडकमा एक सय भन्दा बढी खानाका स्टलहरु रहेको रेवान पोखराले जनाएको छ । यसरी सडकमा राखिएका स्टलहरुमा रेष्टुरेण्टले आफ्नो रेष्टुरेण्टभित्र दिने गुणस्तर स्टलबाट पनि दिएको दाबी गरेका छन् ।

यस वर्ष फिस्टेल लजले पनि स्टल राखेर खाना र खाजाका परिकारहरुको स्वाद दिदैछ । विभिन्न मनोरञ्जनात्मक खेलकुदका कार्यक्रमहरु, हस्तकला प्रदर्शनी, साहसिक पर्यटक खेलकुद, वृत्तचित्र प्रदर्शनी, वाल उद्यानलगायत आकर्षणका रुपमा रहने रेवान पोखरा अध्यक्ष बुधराज भुजेल ‘भीमसेन’ले जानकारी दिए ।

महोत्सवमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय सांस्कृतिक कार्यक्रम विशेष आकर्षणको रुपमा रहने रेवान पोखरा अध्यक्ष बुधराज भुजेल ‘भीमसेन’ले बताए । उनका अनुसार महोत्सवमा देशका सातै प्रदेशका पहिचान झल्कने सांस्कृतिक टोली ल्याइदै छ । पूर्वको धान नाचदेखी पश्चिमको देउडासम्म, थारुको लठ्ठी र घैंटो नाचदेखी नेवारको लाखे नाचसम्म महोत्सवमा हेर्न पाइने उनले बताए । त्यस्तै, भारत, पाकिस्तान र चीनको सांस्कृतिक टोलीले पनि विशेष प्रस्तुती दिनेछन् । उनीहरुले आफ्नो देशको टिपिकल संस्कृति प्रदर्शन गर्ने बताइएको छ ।

महोत्सवमा दिउँसो दोहोरी र हास्य प्रहसनका विविध मनोरञ्जनात्मक कार्यक्रम गरिने भएको छ । साँझदेखी रातीसम्म भने लाइभ कन्सर्ट हुने रेवान पोखराका महासचिव गणेशबहादुर थापाले जानकारी दिए । दोहोरीमा चर्चित गायक पशुपति शर्मादेखी माननीय सांसद कोमल वली, बद्री पंगेनीलगायतको प्रस्तुती रहने भएको छ । हास्य प्रहसनमा भद्रगोलका कुमार कट्टेल जिग्री, पाँडे, शिवहरी पौड्याल बैरागीलगायतका कलाकारहरुले दर्शकलाई पेट मिचिमिचि हँसाउनेछन् ।

साँझ ६ बजेदेखी लाइभ कन्सर्ट शुरु हुने आयोजक रेवान पोखराले जनाएको छ । रेवानका महासचिव थापाका अनुसार लाइभ कन्सर्टमा सविन राई एण्ड द व्याण्ड, अनुप्रस्थ, पोखरेली चर्चित ¥यापर आशिष राना ‘लाहुरे’ र अहिलेका चर्चित ¥यापर भिटेनलगायतले प्रस्तुती दिनेछन् । भिटेनले न्यू इयर इभको दिन प्रस्तुती दिने उनले बताए । सो दिन द एक्स व्याण्ड र मंगोलियन हर्टको पनि लाइभ प्रस्तुती रहने उनले जानकारी दिए । पोखरेली व्याण्डहरुले भने महोत्सवको शुरुको दिन प्रस्तुती राख्नेछन् ।

यसैगरी सडकमा मिनि स्टेजका रुपमा ट्रक राखेर लाइभ कन्सर्ट आयोजना गरिने उनले बताए । उनका अनुसार मिनि स्टेजमा सांस्कृतिक कार्यक्रमका साथै स्थानीय कलाकारहरुले प्रस्तुती दिनेछन् ।

महोत्सवको अवसरमा पर्यटक दौड प्रतियोगिता आयोजना गरिने भएको छ । पर्यटकलाई सहभागि गराएर उनीहरुलाई पनि महोत्सवप्रति अपनत्व दिलाउन पर्यटक दौड प्रतियोगिता आयोजना गरिएको रेवान पोखराले जनाएको छ । प्रतियोगितामा एक सय बढी पर्यटकले सहभागिता जनाउने दाबी गरिएको छ । पर्यटक दौड डिसेम्बर ३१ तारिख अर्थात पुस १६ गते विहान ८ बजे आयोजना हुनेछ ।

महोत्सवमा डुंगा खियाउने प्रतियोगितापनि आयोजना हुँदैछ । डुंगा चालकहरु बिच प्रतिष्पर्धा गराउने उद्देश्यले डुंगा खियाउने प्रतियोगिता आयोजना गरिएको हो । यो प्रतियोगिता महोत्सवको दोश्रो दिन पुस १४ गते विहान ८ बजे आयोजना हुनेछ ।

यसैगरी रेष्टुरेण्टका वेटर÷वेट्रेसको ट्रे रेस प्रतियोगिता हुने भएको छ । यसमा रेवानमा आबद्ध रेष्टुरेण्टका वेटर तथा वेट्रेसहरुले सहभागिता जनाउन पाउनेछन् । यो प्रतियोगिता पुस १५ गते विहान ८ बजे आयोजना हुनेछ ।

त्यस्तै, रेष्टुरेण्टका कर्मचारी सबैका लागि दौड प्रतियोगिता आयोजना हुने भएको छ । यसमा रेवानमा आबद्ध रेष्टुरेण्टका कर्मचारीहरुले सहभागिता जनाउन पाउने रेवान पोखराका निवर्तमान अध्यक्ष चौबहादुर गुरुङले जानकारी दिए ।

सडक महोत्सवले नेपालमा रहेका विदेशी पनि क्रिसमस र नयाँ बर्ष मनाउन भारतको गोवा जाने प्रचलनलाई रोकेर नेपालमै बस्ने र विदेशीपनि क्रिसमस र नयाँ वर्ष मनाउनका लागि पोखरा आउने वातावरण बनाएको रेवान पोखराका सल्लाहकार सूर्यबहादुर भुजेलले जानकारी दिए ।

यसैबीच, महोत्सव अवधीभर पोखरामा चल्ने सार्वजनिक सवारी साधनहरु राती पनि चल्ने भएका छन् । महोत्सव आयोजक रेवान पोखराको आग्रहमा पोखरामा चल्ने सम्पूर्ण सिटी बसहरुले महोत्सव अवधीभर रातीपनि सेवा दिने भएको हो । आयोजकका अनुसार महोत्सवका पाँच दिन रात्रीकालिन सेवामा शहीदचोक, सृजनाचोक, न्यूरोड, महेन्द्रपुल, बगर हुँदै लामाचौरसम्म एउटा रुट तय गरिएको छ भने शहीदचोक, एयरपोर्ट, पृथ्वीचोक, नयाँबजार, महेन्द्रपुल हुँदै बगरसम्मको अर्को रुट तय भएको छ । यसैगरी शहीदचोकबाट विरौटाहुँदै छोरेपाटनसम्मको रुट, डिहिकोपाटन, जिरोकिलोमिटर, सृजनाचोक, पृथ्वीचोक, महेन्द्रपुल, बगरहुँदै लामाचौर, डिहिकोपाटन, जिरोकिलोमिटर, सृजनाचोक, पृथ्वीचोक, अमरसिंहचोकहुँदै मियापाटनसम्म र डिहिकोपाटन, जिरोकिलोमिटर, मालेपाटनहुँदै हरिचोकसम्मको रुटमा सिटी बस सञ्चालन हुने पोखरा पर्यटन परिषदका अध्यक्ष तथा महोत्सवको यातायात तथा पार्किङ ब्यबस्थापन उपसमिति संयोजक चिरञ्जिवी पोखरेलले जानकारी दिए । महोत्सवको मुुख्य प्रायोजक गोर्खा ब्रुअरी, नेपाल डिष्ट्रिलरी प्रालि र जाउलाखेल ग्रुप अफ इण्डष्ट्रिज प्रालि र प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड रहेका छन् ।

You might also like

Comments are closed.