पर्यटन प्रवद्र्धन गर्न पोखरामा रोपाईं महोत्सव

आर्थिक आवाज

पोखरा । ‘पोखरा सबै मौसमका लागि’ नाराका साथ पर्यटकीय नगरी पोखरामा ‘१५औं असारे रोपाईं महोत्सव’ हुने भएको छ । असार १५ गते शुक्रबार पोखराको पामेमा महोत्सव हुँदैछ । पोखरा पर्यटन परिषदले पोखरामा वर्षेनी रोपाईं महोत्सव आयोजना गर्दै आइरहेको छ ।

यस पटकको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको परिषदका अध्यक्ष केदारनाथ शर्माले जानकारी दिए । ‘नेपाली कला र संस्कृतिको संरक्षण गर्ने लक्ष्यसहित महोत्सव आयोजना गरिएको हो,’ उनले भने, ‘आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न पनि महोत्सव सहयोगी बन्नेछ ।’ अशोक पालिखे र कृष्णमोहन पराजुलीको खेलमा महोत्सव हुनेछ ।

महोत्सवको अवसरमा विभिन्न प्रतियोगिताको आयोजना गरिएको छ । दर्शकलाई मनोरञ्जनको लागि साउने, असारे गीत तथा रोपाईं, हिलोमा माछा समात्ने, महिला तथा पुरुषको हिलोमा दौड, रस्साकस्सी, पत्रकारको हिलो दौड लगायतका प्रतियोगिता महोत्सवमा हुने उपाध्यक्ष भरतराज पराजुलीले जानकारी दिए ।

महोत्सवलाई मर्यादित बनाउन आचारसंहिता बनाउने तयारी भइरहेको पराजुलीले जानकारी दिए । ‘महोत्सवलाई भव्य एवं सभ्य रुपमा सफल पार्नको लागि तयारी भइरहेको छ,’ उनले भने, ‘आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्ने हाम्रो विश्वास छ ।’ महोत्सव व्यवस्थापनको लागि १९ लाख ८ हजार रुपैयाँ बजेट अनुमान गरिएको छ ।

खेतीयोग्य जमिनको संरक्षण, कृषिलाई व्यावसायीकरण र परम्परागत कृषि प्रणालीमार्फत पोखराको पर्यटन प्रर्वद्धनको लागि महोत्सव आयोजना गरिएको परिषदका महासचिव कृष्णप्रसाद भण्डारीले बताए । प्रदेशमा मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ ।

You might also like

Comments are closed.