पर्यटन मन्त्री अधिकारीको चेतावनी : पोखरा परिवर्तन नभए ५ वर्षमा पर्यटनमा पछि पर्छ

पोखरा, ९ पुष

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले पोखराले आफूलाई परिवर्तन नगरे अबको ५ वर्षमा पर्यटनमा पछि पर्ने चेतावनी दिएका छन् । पोखरा पर्यटन परिषदले दिएको पर्यटन सुधारका ८ बुँदे ज्ञापनपत्र बुझ्दै मन्त्री अधिकारीले पोखराको ब्राण्ड छ भन्दै चुप लागेर बस्ने हो भने ५ वर्ष भित्रमा अन्य ठाउँले पोखरालाई पछि पार्ने चेतावनी दिएका हुन् । पोखरा परिवर्तन हुन जरुरी रहेको औंल्याउँदै उनले भने,‘बसी बसी पर्यटक आउँछ भन्दै मख्ख परेर बसिरहे अबको ५ वर्षमा पोखरा पछि पर्छ, अन्य ठाउँले पोखरालाई उछिन्छ ।’ उनले पर्यटनको गन्तव्य बढेको बताउँदै अहिले लुम्विनी, चितवन, रारा अगाडि बढिसकेको बताए । पोखरा यसरीनै रुमल्लिरहे कर्णालीले पनि पोखरालाई उछिन्ने उनले चेतावनी दिए । उनले भने,‘अब तपाईं पोखरेलीहरु चेञ्ज हुनुस्, बसीबसी पर्यटक आउँछ भन्ने मानसिकताबाट माथी उठ्नुस् र पर्यटनका पूर्वाधार निर्माणलगायतका पर्यटन गतिविधिमा लाग्नुस् ।’ उनले पर्यटक आकर्षित गर्ने तरिका थाहा नभए कन्सल्ट्याण्ट थप्न आग्रह गर्दै त्यसका लागि आफूले सहयोग गर्ने आश्वासन दिए ।

गाडीमा आउने र आन्तरिकलाई पनि पर्यटक मान्नुस्

मन्त्री अधिकारीले नेपालमा गाडीमा आउने र आन्तरिक पर्यटक भनेको पर्यटक नै होइनजस्तो गर्ने प्रवृत्ति त्याग्न पर्यटन व्यवसायीलाई सुझाव दिए । उनले भने,‘यहाँ आन्तरिक पर्यटक त पर्यटक नै होइनजस्तो गर्छन्, तर ति पनि पर्यटक हुन्, तर तिनलेपनि खर्च गर्छन् ।’ उनले गाडीमा आउने पर्यटक ठूलो संख्यामा रहेको र त्यसरी गाडीमा आउने पर्यटक मध्ये १० प्रतिशत ठूला होटलहरुमा खर्च गर्ने तथ्यांक प्रस्तुत गरे । उनले देशका विभिन्न ठाउँबाट आउने पर्यटकले पनि खर्च गर्ने बताउँदै ति पनि पर्यटक नै भएको बताए । पर्यटकको संख्या गुणात्मक रुपमा बृद्धि हुँदै गएको बताउँदै अब तिनिहरुको बसाई लम्ब्याउने र उनीहरुलाई खर्च गर्ने वातावरण निर्माण गर्नुपर्ने बताए । उनले अमेरिकन र युरोपियन पर्यटकलाई आकर्षित गर्न सकेमात्र नेपालमा पर्यटकको संख्या बृद्धि हुने बताए । उनले थपे,‘ जसरी काठमाडौंकाहरु विदेश जाँदा जहाँ जान्छन्, पोखरा, चितवनलगायतकाहरुपनि त्यहिं जान्छन्, किनभने ब्राण्ड बनिसकेकाहरुको पछिकाले नक्कल गर्ने परम्परा हो, हो त्यसरी नै अमेरिकन र युरोपियन जहाँ जान्छन्, भारतीय, चाइनिज, जापनिजपनि त्यहिं जान मन पराउँछन्, त्यसैले उनीहरुलाई आकर्षित गर्नका लागि हामीले कोशिष गर्नुपर्छ ।’

पोखरामा पर्यटन बसपार्क बन्ने, टेण्डर आह्वानको तयारी

मन्त्री अधिकारीले पोखराको पर्यटन बसपार्क अब चाँडै बन्ने बताए । पर्यटन बसपार्क निर्माणका लागि ६ करोड रुपैयाँ छुट्याइएको र त्यो मन्त्री परिषद बैठकबाट आफूले पास गराइसकेको उनले जानकारी दिए । पर्यटन विभाग मातहत बन्ने सो बसपार्क निर्माणको टेण्डर बुधबार सम्ममा खुल्ने पनि बताए । नेपालमा हल्ला बढी गर्ने तर काम नगर्ने प्रवृत्ति हावी भएपनि आफू काम गर्ने पक्षमा रहेको बताउँदै उनले भने,‘हाम्रोमा भाषण मात्रै बढी हुन्छ, नेताले पनि भाषण गर्ने, कर्मचारीले पनि भाषण गर्ने, हुँदा हुँदा व्यवसायीले पनि भाषण गर्ने, तर मैले हल्ला नगरी भित्रभित्रै काम गरिरहेको छु ।’

अन्तराष्ट्रिय सभाहल बनाउन बजेट छ, जग्गा खोज्नुस्

मन्त्री अधिकारीले पोखरामा अन्तराष्ट्रिय सभाहल बनाउनका लागि जग्गा खोज्न पोखरेलीलाई आग्रह गरे । अन्तराष्ट्रिय सभाहल बनाउनका लागि बजेट रहेको बताउँदै उनले जग्गाका कारण मात्र अड्किएको बताए । पोखरामा एउटा अन्र्तराष्ट्रिय सभाहल र अन्य २÷३ वटा राष्ट्रिय स्तरको सभाहल आवश्यक रहेको बताउँदै उनले भने,‘बजेट छुट्टिसकेको छ, ठाउँ खोज्नुस् ।’ उनले जग्गा खोज्दा कहिं नभेटिए भेडिफारममा पनि अन्तराष्ट्रिय सभाहल बनाउन सकिने बताए । नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्र उपयुक्त ठाउँ भएको बताउँदै मन्त्री अधिकारीले थपे,‘पोखरा उद्योग वाणिज्य संघले दिएको भए प्रदर्शनी केन्द्रमा पहिल्यै सभाहल बनिसक्थ्यो, तर फेरीपनि अर्को ठाउँमा जग्गा नभेटिए प्रदर्शनी केन्द्रमै बन्छ, यसै वर्ष त्यसको काम शुरु हुन्छ ।’

नेपाल एयरलाइन्सलाई एक वर्षभित्र यसले छाँट लियो भन्ने बनाउँछु

मन्त्री अधिकारीले नेपाल एयरलाइन्सलाई एक वर्षभित्र यसले छाँट लियो भन्ने बनाउने उद्घोष गरे । नेपाल एयरलाइन्सलाई बनाउन आफूले धेरै मेहनत गरिरहेको बताउँदै उनले भने,‘म आत्मविश्वासका साथ भन्न चाहन्छु, एक वर्षमा यसले छाँट लियो भन्ने बनाउँछु ।’ उनले वाइड बडी खरिदमा भ्रष्टाचार भएनभएकोबारे छानविन भइरहेको बताउँदै यसमा समस्या छ भन्दैमा छाडेर भाग्न नसक्ने स्पष्ट पारे । उनले भने,‘समस्या आयो भन्दैमा छाडेर नेपाल एयरलाइन्सलाई डुबाउन सक्दिनँ ।’ वाइड बडीको खरिद प्रक्रिया आफू मन्त्री हुनुभन्दा अगाडि नै भएकाले यसमा आफ्नो संलग्नता नरहेको जिकिर गर्दै उनले भने,‘भ्रष्टाचार भएको रहेछ भने कार्वाही हुन्छ, भ्रष्टाचार भए बराबरको रकमपनि असुल उपर हुन्छ ।’

फेक रेस्क्यू कन्ट्रोल भइसक्यो

मन्त्री अधिकारीले ट्रेकिङमा फेक रेस्क्यूको समस्या समाधान भइसकेको दाबी गरे । आफू मन्त्री नियुक्त हुँदैगर्दा फेक रेस्क्यूको जगजगी रहेको बताउँदै आफूले त्यो जञ्जाल तोडेर कन्ट्रोलमा ल्याइसकेको उनको दाबी छ । उनले भने,‘फेक रेस्क्यूको समस्या समाधान भइसकेको छ, अहिले यताउता छैन ।’

मन्त्री अधिकारीले पर्यटनमा सुशासन बलियो हुँदै गएको बताए । साथै उनले पर्यटन बोर्डलाई नचाहिने काममा बजेट खर्च नगर्न निर्देशनसमेत दिए । कार्यक्रममा सहभागि पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीलाई निर्देशन दिदै उनले भने,‘तपाईंहरुले पनि नचाहिने काममा बजेट नदिनुस्, बजेट रह्यो भने पछि राम्रो काममा खर्च गरौंला ।’

चौविसै घण्टा खुल्ला चाँडै

मन्त्री अधिकारीले पर्यटकीय केन्द्रहरुमा चौविसै घण्टा खुल्ला गर्ने निर्णय चाँडै कार्यान्वयन हुने बताए । यसबारे प्रधानमन्त्रीसँग छलफल गर्ने तयारी भइरहेको बताउँदै उनले भने,‘यो अब चाँडै निर्णय हुन्छ र कार्यान्वयनमा आउँछ ।’ काठमाडौंको ठमेल, पोखराको लेकसाइडलगायत पर्यटकीय केन्द्रलाई चौविसै घण्टा खुल्ला गर्नका लागि प्रयास भइरहेको उनको भनाई थियो । उनले त्रिभूवन अन्र्तराष्ट्रिय विमानस्थललाई २२ घण्टा सञ्चालन गर्ने निर्णय गरेलगत्तै पर्यटकीय केन्द्रलाई पनि चौविसै घण्टा खुलाउने तयारी गरेपनि निर्मला पन्तको हत्या र वलात्कार केसका कारण प्रधानमन्त्रीसँग यसबारे छलफल गर्न नसकेका कारण केहि पर धकेलिएको जानकारी दिए ।

पूजा गर्ने परम्पराको अन्त्य गर्दैछु

मन्त्री अधिकारीले मन्त्री भएपछि सम्बन्धित क्षेत्रका शक्तिहरुलाई पूजा गर्ने परम्पराको अन्त्य गर्ने प्रयास भइरहेको बताए । उनले भने,‘यहाँ त मन्त्री भएपछि शक्तिको पूजा गर्ने परम्परा रहेछ, तर मैले त्यो परम्परा तोडेको छु, तर हरेक काममा उनीहरुको आशिर्वाद लिने र थालनी गर्ने कामपनि हुँदो रहेछ, त्योपनि तोड्ने प्रयास गरिरहेको छु।’ उनले आफू मन्त्री भएको आफ्नो लागि भन्दापनि देश र जनताका लागि भएकाले जस्तोसुकै परिस्थिति सामना गरेर भएपनि शक्तिको पूजा गर्ने परम्पराको अन्त्य गरेरै छाड्ने बताए ।

पर्यटन विकासका लागि पोखरा पर्यटन परिषदको ८ बुँदे ज्ञापनपत्र

पोखरा पर्यटन परिषदले पर्यटन विकासका लागि ८ बुँदे ज्ञापन पत्र बुझाएको छ । परिषदका अध्यक्ष चिरञ्जिवी पोखरेलले मन्त्री अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् । परिषदले ज्ञापनपत्रमार्फत सर्वोच्च अदालतको फैसलालाई आधार बनाई फेवातालको सिमांकन गर्न माग गरेको छ । उसले फेवातालको मुहान हर्पन खोलासहित ताल वरपर सबै ठाउँमा चेक ड्याम निर्माणका लागि बजेट आएपनि काम नभएकाले बजेट फ्रिज हुन नदिई यथाशिघ्र कामको थालनी गर्न माग गरेको छ ।

परिषदले एक्यापको प्रवेश शुल्क विवाद समाधानका लागि विदेशीलाई मल्टीपल प्रवेश आज्ञा र नेपालीलाई निःशुल्क प्रवेश दिने यसअघीको निर्णय कार्यान्वयन गर्न आग्रह गरेको छ । सरकारले टिम्स वापत प्राप्त गर्ने रकम जे उद्धेश्यले उठाइएको हो त्यसैका लागि खर्च गर्नुपर्ने र खर्च पारदर्शी हुनुपर्ने परिषदको माग छ ।

परिषदले पोखराबाट सिमरासहित विभिन्न क्षेत्र र भारतका विभिन्न सहरमा सिधा हवाई सेवा सञ्चालन गर्ने वातावरण बनाईदिन, पर्यटन बसपार्क सुविधा सम्पन्न बनाउन, पोखरा भित्रिने सडकहरुको अवस्था नाजुक भएकाले सहज रुपमा यात्रा गर्ने वातावरण निर्माणका लागि पोखरा–काठमाडौं, पोखरा–लुम्विनी, पोखरा–भैरहवालगायत भारतीय नाकाहरुसम्म पुग्ने बाटोको स्तरोन्नती गर्नुका साथै पोखरादेखी तराई जोड्ने फाष्ट ट्रयाक निर्माण गर्न माग गरेको छ ।

परिषदले पर्यटन प्रवद्र्धनका लागि अन्र्तराष्ट्रिय सभा, सम्मेलन गर्नुका साथै पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम गर्नलाई जोड दिएको छ । उसले पर्यटकीय केन्द्र लेकसाइडलाई चौविसै घण्टा खुल्ला गर्ने निर्णय भएपनि विभिन्न अवरोध एवम् सुरक्षाका कारण कार्यान्वयनमा नआएकाले त्यसको वातावरण निर्माणका लागि आग्रह गरेको छ ।

You might also like

Comments are closed.