पर्वत मालढुंगा दुर्घटनाका २३ घाइतेको पोखरामा उपचार हुँदै (घाइतेहरुको बयानसहित)

सन्देश श्रेष्ठ
पोखरा, ३ माघ । पर्वतको मालढुंगामा भएको दुर्घटनामा घाईते भएका २३ जनाको पोखरामा उपचार भइरहेको छ । घाइते भई उपचारका लागि पोखरा ल्याइएका २३ जनाकै मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको हो । घाइते मध्ये १ जनाको अवस्था गम्भीर छ । दुर्घटनामा घाइते भएका पर्वत जिल्ला जलजला गाउँपालिका वडा नम्बर ७ की लक्ष्मी पौडेलको अवस्था गम्भीर रहेको हो । उनको मणिपाल शिक्षण अस्पतालमा आइसियुमा राखेर उपचार भइरहेको छ । दुर्घटना लगत्तै उद्धार गरेर हेलिकोप्टरबाट मणिपाल शिक्षण अस्पताल ल्याइएका उनको विहीबार अपराह्न शल्यकृया गरिएको छ । शल्यकृया पश्चात उनको अवस्थामा उल्लेख्य सुधार नभएपनि चिन्ताजनक भने नरहेको अस्पताल श्रोतले जनाएको छ । उनको टाउकोमा चोट लागेको छ ।

त्यस्तै दुर्घटनामा बसका चालक कुश्मा नगरपालिका वडा नम्बर ९ ज्ञादी बस्ने ३५ वर्षिय रमेश पराजुली पनि घाइते भएका छन् । टाउको र ढाडमा चोट लागेको उनको अवस्था मध्यम रहेको र मणिपाल शिक्षण अस्पतालमा विहीबार साँझ शल्यकृया गरिएको छ ।

दुर्घटनामा भरतपुर महानगरपालिका ४४ वर्षिया पूर्णकला सुवेदी, पर्वत जिल्ला जलजला गाउँपालिका मिलनचोककी ३६ वर्षिया विषमाया पुन, पर्वतको कुश्मा नगरपालिका ४ राधाकृष्ण टोल बस्ने ३१ वर्षिया कमला रेग्मी, सोहि ठाउँका ३२ वर्षिय बाबुराम रेग्मी, वर्ष १३ को बिक्रम रेग्मी, ९ वर्षिय कुशल रेग्मी, पर्वत जलजला ८ लस्तीका ५० वर्षिय उद्बिद तिलिजा, धादिङ बसेरीका ५५ वर्षिय मनबहादुर गुरुङ घाइते भएका छन् । उनीहरुको अवस्था मध्यम रहेको छ । मध्यम अवस्था रहेका घाइते सबैको मणिपाल शिक्षण अस्पतालको आकस्मिक कक्षमा राखेर उपचार भइरहेको छ ।

दुर्घटनामा पवर्त जलजला गाउँपालिका मिलनचोकका बालकृष्ण आचार्य, पोखरा महानगरपालिका वडा नम्बर ११ का दीपिका बोहरा, पर्वत जलजला गाउँपालिका घर भई बेनी बस्ने हेमकुमारी रेग्मी, पवर्त जलजला ८ का ४१ वर्षिय राजन सापकोटा, पर्वत जलजलाका ३२ वर्षिय कविता सुवेदी, जलजला ७ धाइरिङका टेकबहादुर पुन, म्याग्दी बासकोटका सुन्दरी पौडेल, पोखरा ३३ का लक्ष्मीकुमारी बोहरा, पर्वत जलजला मिलनचोकका कमल पौडेल, पवर्त जलजला ५ का तुलसी सुवेदी, पर्वत जलजला गाउँपालिका लस्तीका देवीलाल नेपाली, पाल्पा रामपुरका ५६ वर्षिय कृष्णबहादुर थापा र कास्की अन्नपूर्ण गाउँपालिका सल्यानकी २८ वर्षिया चन्दा आचार्य पौडेल घाइते भएका छन् । उनीहरुको अवस्था सबैको मध्यम रहेको र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

बस बिग्रेर दुर्घटना : घाइतेहरु

घाइतेहरुले बस बिग्रेका कारण दुर्घटना भएको हुनसक्ने बताएका छन् । घाइते भई पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचाररत कास्की अन्नपूर्ण गाउँपालिका सल्यान घर भएकी चन्दा आचार्य पौडेलल बसको ईञ्जिन वा चक्कामा समस्या आएर दुर्घटना भएको हुनसक्ने बताईन् । माइत बेनी गएर फर्किएकी उनले मध्यम गतिमा गुडिरहेको बस एक्कासी खसेको बताउँदै भनिन्,‘गाडी ठिक्क गतिमै गुडिरहेको थियो, एक्कासी झल्र्याक्क गाडी उफ्रियो, त्यसपछि एकैपटक खसेपछि मात्रै थाहा पाएँ ।’ आफू र आफ्नो काखमा रहेको साढे ३ वर्षिय छोरा संकल्प पौडेललाई बसको पछिपछि यात्रु लिएर आइरहेको ट्याक्सी चालक तथा माइती तिरका छिमेकी दाजु गोविन्द भण्डारीले उद्धार गरेर पोखरा पठाईदिएको बताईन् । उनले बस बिग्रिएकै कारण दुर्घटना भएको दोहो¥याउँदै भनिन्,‘बस बिग्रिएरै दुर्घटना भएको हो, चालकको गल्ती देखिनँ ।’

अर्का घाइते देवीलाल नेपालीले पनि बस बिग्रेका कारण दुर्घटना भएको हुनसक्ने बताए । पर्वतको जलजला गाउँपालिका लस्तीबाट बस चढेका उनी आफू चढेको २० मिनेटमै दुर्घटनामा परेको बताए । दुर्घटनाबारे सम्झिदै उनले भने,‘बस ठिकै थियो, हामी अन्तिम सिटमा बसिरहेका थियौं, एक्कासी बस उफ्रिदै दायाबाया गर्न थाल्यो, चालकले जोगाउनका लागि कुनातिर लग्यो तर त्यहाँ नअडिएपछि डिलतिर हुत्तियो र गाडी पल्टियो ।’ गाडी पल्टिएको केहिबेरपछि आफूलाई होस आउने वित्तिकै सँगै रहेको साथी दीपक परियारलाई बोलाएँ तर उनीपनि बेहोस् रहेछन्, एकछिन पछि बसको पछिपछि आइरहेको अर्को ट्याक्सी रेशम पुन मगरले उद्धार गरे ।’

यसैबीच, घाइतेको उपचारका लागि घाइतेका आफन्तपनि पोखरा आइपुगेका छन् । घाइते मध्ये कसैको भने अझैपनि आफन्त आइपुगेका छैनन् । घाइतेका आफन्त आएपछि मणिपाल शिक्षण अस्पतालको आकस्मिक कक्ष भिडभाड भएको छ । आफन्तले उपचार राम्रोसँग गरिदिन आग्रह गरेका छन् ।

You might also like

Comments are closed.