पश्चिमाञ्चल क्षेत्रीय अस्पतालप्रति सर्वसाधारणको विश्वास बढाउनुपर्छ : सासंद बराल

पोखरा ।

गण्डकी प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले आफ्नो उपचारमा संलग्न चिकित्सक टोलीलाई सम्मान गरेका छन् । बरालले आफ्नो जन्म दिनको अवसरमा शुक्रबार आफ्नो उपचारमा खटिएका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका चिकित्सक टोलीलाई कदर पत्र प्रदान गरि सम्मान गरेका हुन् । उनले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा.बुद्धिबहादुर थापा, प्रतिष्ठानका सदस्य मिन गुरुङ, प्रतिष्ठानका डिन प्रा.डा.नरेन्द्रविक्रम गुरुङ, निर्देशक डा.अर्जुन आचार्यसहितको टिमलाई सम्मान गरे ।

सांसद बरालको गत जेठ ८ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ईन्टरनल हर्नियाको सफल शल्याकृया गरिएको थियो । २ वर्ष अघिपनि सोहि समस्या लिएर पोखरासहित काठमाडौं र भारतका अस्पताल चाहार्दासमेत समस्या पहिचान भएको थिएन । समस्या पहिचान भएपनि औषधीले समस्या कम गरेपछि पुनः दैनिकीमा फर्केका बराललाई यस वर्ष पुनः समस्या बल्झिएको थियो । तर यस वर्ष शुरुमै समस्या पहिचान गरी सफल शल्याकृयासहित उपचार भएपछि चिकित्सकले आफूलाई पुर्नजन्म दिएको भन्दै बरालले चिकित्सकलाई सम्मान गरे ।

मलाई पुर्नजन्म दिने चिकित्सक टोलीलाई सम्मान गर्नुपर्छ भन्ने लागेरै मैले यो सम्मान आयोजना गरेको हुँ,‘सांसद बरालले भने,‘यो सम्मानपछि सर्वसाधारणमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालप्रति विश्वास बढोस् र उपचारमा खटिने चिकित्सकप्रति सम्मानभाव जागोस् भन्नेपनि लागेर हो ।’ उनले पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई श्रोत र साधनले सम्पन्न बनाउनुपर्ने भन्दै त्यसका लागि प्रदेश सरकारले भूमिका खेल्नुपर्ने बताए । साथै उनले राज्यले व्यक्तिको दक्षता र क्षमता चिन्नुपर्ने र त्यसको कदर गर्नुपर्नेसमेत बताए ।

You might also like

Comments are closed.