पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र प्रदेश सरकारबीच आरोपप्रत्यारोप

कोभिड–१९ केन्द्रित गर्नुपर्ने बेला किन विभाजन ?

सन्देश श्रेष्ठ

नेपालमा विश्वव्यापी रुपमा फैलिएको नोवल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिदो छ । गण्डकी प्रदेशपनि यसबाट अछुतो छैन । पछिल्लो क्रममा कोभिडका बिरामी पोखरामा दैनिक रुपमा थपिदो छ । अझ पछिल्लो तथ्यांकलाई हेर्ने हो भने पोखरामा कोभिड समुदायमा फैलिन शुरु गरेको प्रष्टै देखिन्छ ।

कोरोना समुदायमा फैलिन शुरु भएसँगै कोरोना संक्रमितले आइसोलेसन भरिन थालेका छन् । संक्रमण समुदायमा फैलिन शुरु हुनु र आइसोलेसन भरिदै जाँदा कोरोनाबिरुद्ध राज्यका सबै संयन्त्र एकीकृत भएर लड्नुपर्ने हो । तर कोभिड–बिरुद्ध एकीकृत रुपमा लड्नुपर्ने राज्यका संयन्त्र भने आफै आरोपप्रत्यारोपमा उत्रिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोभिड हस्पिटल बनाएसँगै गण्डकी प्रदेश सरकार र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान एक अर्काबीच आरोपप्रत्यारोपमा उत्रिएका हुन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल संघ सरकार मातहत रहेको छ । तर यस अस्पताललाई गण्डकी प्रदेश सरकारले कोरोना संक्रमण शुरु भएलगत्तै कोरोना डेडिकेटेड हस्पिटल बनायो । प्रदेश सरकारले अस्पतालको स्वीकृति बिना नै कोरोना डेडिकेटेड हस्पिटल बनाएसँगै असन्तुष्टी बढेको थियो । प्रदेश सरकारले हाल आएर अस्पताललाई पूर्ण रुपमा कोभिड हस्पिटल घोषणा गरेसँगै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश सरकारबीच असन्तुष्टी झनै चुलियो । जसको परिणाम अहिले दुबै एक अर्काबीच खनिन शुरु गरेका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ कोभिडबिरुद्धको लडाईंमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले असहयोग गरेको आरोप लगाउँछन् । अस्पताल संघ मातहत रहेकैले असहयोग गरेको उनको बुझाई छ । कोभिड डेडिकेटेड हस्पिटल बनाएसँगै असन्तुष्ट बनेको अस्पतालले चल्ने मेसिनसमेत बिग्रेको छ भनेर चलाउन नमानेको उनको आरोप छ । कोरोना जाँच गर्ने पिसीआर मेसिन चल्ने अवस्थामा रहँदारहँदैपनि अस्पतालले बिग्रेको छ भनेर ढाँट्यो,उनले भने,‘किन ढाँटियो, चल्ने मेसिन किन चल्दैन भनियो ? ।’ उनले कोरोनाको उपचारका लागि भेन्टिलेटरसमेत छैन भनेर शुरुमा उपचारसमेत गर्न नमानेको उनको भनाई छ ।

तर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान भने पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोभिड हस्पिटल बनाउनु नै गलत भएको बताउँछ । प्रतिष्ठानका उपकुलपति डा.बुद्धिबहादुर थापा हजारौं सर्वसाधारण उपचार गर्न आउने अस्पताललाई कोभिड हस्पिटल बनाउँदा अन्य बिरामी मर्कामा पर्ने तर्क गर्छन् । भन्छन्,‘कोभिडका बिरामी उपचारका क्रममा चिकित्सकलाई संक्रमण भयो भने अस्पताल नै शिल गर्नुपर्छ, त्यसबेला हजारौं सर्वसाधारण विरामीले उपचार नपाउने स्थिति आउँछ, यसबारे सरकारलेपनि सोंच्नुपर्ने हो ।’

प्रतिष्ठानका सभा सदस्य मिन गुरुङ पनि पश्चिमाञ्चल अस्पताललाई हचुवाका भरमा कोभिड हस्पिटल घोषणा गरिएको टिप्पणी गर्छन् । अन्य अस्पताल हुँदाहुँदै हजारौं सर्वसाधारण आउने अस्पताललाई नै कोभिड हस्पिटल किन बनाउनु प¥यो ? उनले प्रश्न गर्दै भने, ‘सरकार जनताको स्वास्थ्यप्रति गम्भीर भएन, कोभिड मात्रै देख्दा अन्यले उपचार नपाउने स्थिति आयो ।’ प्रदेश सरकारले अस्पताललाई संघको त हो नि भनेर अपनत्व महशुष नगरेको उनले टिप्पणी गरे । संघ मातहत भएपनि यहाँ उपचार हुने भनेको प्रदेशकै जनताको हो,‘उनले भने,‘अन्य ठाउँका जनताले सेवा पाउने त होइन नि, सरकारले त्यतिपनि नबुझ्दा समस्या बढ्दो छ ।’

एशोसियसन अफ प्राइभेट हेल्थ ईन्स्टिच्यूसन अफ नेपाल (अफिन) गण्डकी प्रदेश अध्यक्ष अशोक पालिखे प्रदेश सरकारलाई अस्पतालले नटेरेको बताउँछन् । संघ मातहत रहेकैले अस्पतालले प्रदेश सरकारलाई नटेरेको हो,’ उनले भने, ‘जनताको सुरक्षा दिने पहिलो जिम्मेबारी भनेको सरकारी अस्पतालकै हो, तर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले आफू निजी हो कि सरकारी भन्ने नै बुझेनजस्तो छ, नत्र त किन कोभिडबिरुद्धको लडाईंमा असहयोग गर्दैछ त प्रदेश सरकारलाई ? ।’ अस्पताल भित्रको कुनै एक भवनलाई कोभिड केन्द्रीत गरेर उपचार गर्न सकिने भएपनि त्यसो गर्न अस्पतालले आनाकानी गरिरहेको उनको आरोप छ ।

You might also like

Comments are closed.