पहिरोमा ज्यान गुमाउनेको परिवारलाई मर्दीखोला समाज युकेबाट आर्थिक सहयोग

पोखरा ।
कास्कीको माछापुच्छ्रे गाँउपालिका वडा नं ८ मा साउन २ गते बिहान पख गएको पहिरोमा ज्यान गुमाउने मृतक परिवारका आफन्तलाई मर्दीखोला समाज युकेले आर्थिक सहयोग गरेको छ ।

समाज युकेका अध्यक्ष धर्मराज गुरुङको अग्रसरतामा संकलित दुईलाख १२ हजार चार सय रुपैया आज पोखरा –१६ लामाचौरमा मृतकहरुका बुबा र हजुरबुबलाई मर्दीखोला समाज युके आमा समूहका सल्लाहकार कमला गुरुङले हस्तान्तरण गरे । गुरुङले प्राकृतिक विपत्तिमा परेर कलिला बाबु नानीले ज्यान गुमाएको समाचारले निकै मर्माहत भएको भन्दै धैर्य धारण गर्न शोकसन्तप्त परिवारलाई आग्रह गरे । उनले भने “यो निकै कठिन अवस्था हो, सन्तान वियोगमा बुबा– आमा ,हजुरबुबा –हजुरआमा जस्तै हामीसबै भेगीय दाजुभाई दिदी बहिनीलाई मर्माहत बनाएको छ , मृतक प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस् भनी प्राथर्ना गर्छौ ” उनले तन टाढा भएपनि मन आफ्नै जन्मभूमीको माटोमा रहेकाले विपद्को घडीमा सबैले एकअर्काप्रति सहयोग र सद्भाव राखेर अघि बढ्नु पर्ने धारणा राखे ।

वडाध्यक्ष कृष्णप्रसाद दवाडीको विशेष उपस्थितिमा मृतकहरुका बुबा र हजुरबुबालाई उक्त रकम हस्तान्तरण गरिएको हो । वडा अध्यक्ष दवाडीका अनुसार उक्त घटनाबाट वडामा तीन जनाको ज्यान गएको थियो, प्रभावित नौ घर मध्ये तीन घर पूर्ण रुपमा क्षति भएको छ । दवाडीले विपद् व्यवस्थापन तथा पुनस्थापना कोष खडा गरेर सहयोगको कार्य अगाडि बढाएको जानकारी दिए ।

उनीहरु एउटै घरपरिवारका तीन भाइका छोराछोरी हुन् । बन्दाबन्दीको समयमा हजुरबुबा हजुरआमा रहेको खोराको मुखको गाउँको घरमा गएका थिए । मृतकका हजुरबुबा प्रेमराज वि.कले आफ्ना तीन छोराका नाति नातिना गुमाउनु पर्दाको पीडाले निकै भावविह्वल बनाएको बताए । “कालले हामीलाई लगेन ति कलिला बाबुनानी अल्पायूमै टिपेर लग्यो । मन सम्हाल्नु कसरी ?” आँखाभरीका आँशु पुछ्दै वि.कले भने “यस्तो विपत्ती अब कसैले भोग्न नपरोस् ।”

स्थानीय शंखरमान गुरुङले विदेशमा भएर पनि भेगीय गाँउका दाजुभाइ दिदीबहिनीले आर्थिक सहयोग संकलन गरेर चराइरहेको घाऊमा मल्हम लगाएको बताए ।

You might also like

Comments are closed.