‘पहिलेको कांग्रेस जे बोल्थ्यो, त्यो गर्थ्यो, अहिलेको कांग्रेस जे बोल्छ त्यो गर्दैन’

 

पोखरा, ७ बैशाख

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले कांग्रेसले राष्ट्रियता, प्रजातन्त्र विर्सिएको आरोप लगाएकी छन् । जिपी फाउण्डेसनले शनिबार पोखरामा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान नेतृत्वले बिपी, जिपी र गणेशमानको आदर्श पोलेर खाएको भन्दै भनिन्,‘कांग्रेसले अहिले न राष्ट्रियताको कुरा उठाउन सकेको छ, न प्रजातन्त्रकै रक्षाका लागि लड्न सकेको छ, नत समाजवादकै लागि कुरा उठाउन सकेको छ, यो सब कांग्रेसले बिर्सियो ।’

नेतृ कोइरालाले कांग्रेसमा किनबेच मौलाएको आरोप लगाउँदै उनले थपिन्,‘हाम्रो पार्टी कांग्रेसमा किनबेच मौलायो, पैसाले किन्ने बेच्ने काम भइरहेको छ, चुनावमा टिकटपनि बेच्ने काम भयो ।’ सिद्धान्त र बिचारबाट बिचलित हुने र कार्यकर्ताको मनोवल खस्काएर टिकट बेचेका कारण गत चुनावमा कांग्रेस हारेको उनको भनाई थियो ।

कोइरालाले अहिलेको कांग्रेस हिंडेको बाटो ठीक उल्टो बाटो भएको टिप्पणी गरेकी छन् । पहिलेको कांग्रेस हिंडेको बाटो र अहिलेको कांग्रेस हिंडेको बाटो ठीक उल्टो भएको बताएकी हुन् । पार्टी उल्टो बाटोमा हिंडेकै कारण चुनावमा कांग्रेसले हार बेहोरेको बताउँदै उनले भनिन्,‘हिजो कांग्रेस जे बोल्थ्यो त्यहि गर्थ्यो, तर अहिलेको कांग्रेस जे बोल्छ त्यो गर्दैन ।’ उनले वर्तमान नेतृत्वको शैलीले पार्टी नचल्ने भन्दै नेतृत्वलाई कार्यशैली सच्याउन सुझाव दिईन् ।

नेतृ कोइरालाले कांग्रेसलाई सिध्याउनका लागि समाजवादको प्रयोग भइरहेको आरोप लगाईन् ।

तत्कालिन कांग्रेस सभापति स्वर्गिय गिरिजाप्रसाद कोइराला पुत्री सुजाताले अबको चुनावमा पनि कांग्रेस पराजित भए नेपालमा सबै पार्टी सिद्धिएर एउटा पार्टीमात्रै रहने बताइन् । कांग्रेसले कार्यशैली सच्याएर एकताबद्ध नभए आउँदो चुनावमा पनि पराजित हुने भविष्यवाणी गर्दै उनले भनिन्,‘यदी कांग्रेस सच्चिएन भने फेरीपनि कांग्रेसले चुनाव हार्छ, कांग्रेसले आउँदो चुनावपनि हा¥यो भने नेपालमा सबै पार्टी सिद्धिन्छ र त्यो बेला नेपालमा एउटा पार्टीमात्रै रहन्छ, त्यो कम्युनिष्ट पार्टी मात्र हो ।’

You might also like

Comments are closed.