पाँचतारे होटल पोखरा ग्राण्डले ल्यायो विशेष अफर, यस्ता छन् सेवा सुविधा

पोखरा । गण्डकी प्रदेशको एकमात्र पाँचतारे होटल पोखरा ग्राण्डले पर्यटकलाई लक्षित गरी विशेष प्याकेज सार्वजनिक गरेको छ । आन्तरिक पर्यटक र बाह्य पर्यटकलाई लक्षित गरी होटलले ग्राण्ड अफर ल्याएको हो । लकडाउनका कारण बन्द रहेको होटल अक्टोबर १५ (बिहीबार) बाट खुल्दैछ । यो अफर बिहीबारबाट डिसेम्बर २० सम्म लागु हुनेछ ।

एक जनाको लागि ५ हजार ९ सय ९९ रुपैयाँ र २ जनाको लागि ६ हजार ९ सय ९९ रुपैयाँको प्याकेज होटलले ल्याएको हो । प्याकेज भित्र ब्रेकफास्ट, डिनर, एअरपोर्ट अथवा बसपार्कसम्म पिक अप तथा ड्रप लगायतको सुविधा समावेश गरिएको महाप्रवन्धक रोशन खवासले आर्थिक आवाजलाई जानकारी दिए । पर्यटक होटलमा आउनासाथ वेलकम ड्रिक्सले स्वागत गरिनेछ ।

फुड एण्ड बेभरेज तथा लाउन्ड्रीमा २० प्रतिशत छुटको सुविधा पर्यटकले पाउनेछन् । अभिभावकसँगै आएका ८ वर्षसम्मका बच्चाको लागि अतिरिक्त शुल्क नलाग्ने बताइएको छ । कोभिड १९ को प्रकोपलाई मध्यनजर गरी होटल सेनिटाइज गरिएको र नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको मापदण्डलाई पूर्ण कार्यान्वयन गरिएको होटलले जनाएको छ ।

होटलमा १ सय ४० वटा रुम छन् । ५ वटा बैङक्युट हल, २ वटा रेष्टुरेन्ट, २ वटा बार, आउटडोर स्विमिङ पुल, स्पा, हेल्थ क्लब लगायतको सुविधा होटलमा छ । पर्याप्त पार्किङ तथा पर्याप्त गार्डेन स्पेस रहेको होटल पोखरा ग्राण्ड आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्दै आएकोछ ।

lcci
You might also like

Comments are closed.