पाँच दिनसम्म विविध कार्यक्रम गरी कास्कीमा सहकारी दिवस मनाइदै

पोखरा, १६ चैत । विविध कार्यक्रम आयोजना गरी कास्कीमा ६१औं राष्ट्रिय सहकारी दिवस मनाउन लागिएको छ । ५ दिनसम्म विविध कार्यक्रम गरी दिवस मनाउन लागिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

कार्यक्रम सफल पार्न ७२१ सदस्यीय मूल आयोजक समितिसहित विभिन्न उपसमिति गठन गरिएको जिल्ला सहकारी संघ लि.का अध्यक्ष रविरमण तिवारीले जानकारी दिए । ‘सामाजिक उत्तरदायित्व बहन गर्दै विविध कार्यक्रम गरी सहकारी दिवस मनाउन लागेका छौं,’ उनले भने, ‘यो अभियानमा कास्कीका सम्पूर्ण सहकारीहरुको सक्रिय सहभागिता रहनेछ ।’

नेपालमा हरेक वर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाइन्छ । दिवसको मुख्य दिन २० गते प्रभातफेरीका साथै सहकारीसभा आयोजना गरिएको छ । दिवसको पूर्व सन्ध्यामा १६ गते पत्रकार सम्मेलन सम्पन्न भएको छ । १७ गते प्रचारप्रसार कार्यक्रम, १८ गते जिल्ला सहकारी संघको कार्यालयमा रक्तदान र १९ गते प्रत्येक सहकारी कार्यालय तथा विभिन्न स्थानमा सरसफाइ कार्यक्रम आयोजना गरिएको तिवारीले जानकारी दिए ।

सहकारी सम्वन्धी ऐन कानुनका बारेमा जानकारी गराउन र सचेतना फैल्याउन २० गते सहकारी सभा तथा साँझ दीप प्रज्ज्वलन आयोजना गरिएको उनले बताए । ‘सहकारी परिवर्तनको शक्ति हो र यसलाई तीन खम्बे अर्थनीतिको बलियो खम्वा बनाउन हामी लागिरहेका छौं,’ उनले भने ।

सहकारीमैत्री नियम तथा कानुन बनाउनु पर्ने तर्फ सरकारले ध्यान दिनुपर्ने नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन)का सञ्चालक तथा प्रदेश संयोजक भीम गुरुङले बताए । सहकारीकर्मीसँग छलफल गरेर मात्र नीति नियम बनाउनुपर्ने उनको भनाइ छ । कार्यक्रमको संचालन पत्रकार कार्यक्रम संयोजक धर्मराज अर्यालले गरेका थिए ।

You might also like

Comments are closed.