पाँच लाख लागतमा पुस्तकालय स्थापना, खानेपानी ट्याङकी विद्यालयलाई हस्तान्तरण (फोटो फिचरसहित)

पोखरा, २४ फागुन । कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ मा रहेको श्री बमबहादुर घलेल आधारभूत विद्यालयमा पुस्तकालय स्थापना भएको छ । ५ लाख रुपैयाँ लागतमा पुस्तकालय स्थापना गरिएको हो । लायन्स क्लब अफ पोखरा ग्रिन टाउनले पुस्तकालय स्थापनाको संयोजन तथा व्यवस्थापन गरेको क्लबकी अध्यक्ष लक्ष्मीदेवी गुरुङले जानकारी दिइन् । युकेमा रहेका सूर्य गुरुङको आर्थिक सहयोगमा पुस्तकालय स्थापना भएको हो । बिहीबार एक कार्यक्रमका बीच विद्यालयलाई पुस्तकालय हस्तान्तरण गरिएको छ ।

साथै विद्यालयमा क्लबले खानेपानी ट्याङकी निर्माण सम्पन्न गरेर बिहीबार नै हस्तान्तरण गरेको छ । खानेपानी ट्याङकी ३ लाख रुपैयाँ लागतमा निर्माण गरिएको क्लबका सचिव तथा कार्यक्रम संयोजक कविता गुरुङले जानकारी दिइन् । नेपाल लायन्स फाउण्डेसनबाट ५० हजार रुपैयाँ र युकेमा रहेका सूर्य गुरुङबाट १ लाख ४८ हजार रुपैयाँ सहयोगमा ट्याङकी निर्माण गरिएकोे उनले बताइन् । ट्याङकीमा विद्यालयले १ लाख २ हजार रुपैयाँ खर्च गरेको छ । सोही अवसरमा क्लबले विद्यालयका विद्यार्थीलाई ३० हजार रुपैयाँ बराबरको स्टेसनरी सामग्रीसमेत हस्तान्तरण गरेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्व मल्टिपल काउन्सिल चियरपर्सन दीपक श्रेष्ठले ग्रामीण क्षेत्रका विद्यालयमा पुस्तकालय स्थापना तथा खानेपानी ट्याङकी निर्माण गरेर क्लबले नमुना काम गरेको बताए । कार्यक्रममा लायन्स डिष्ट्रिक्ट ३२५ बि १ नेपालका पिआरओ मदन प्रसाद द्वा, एनएलएफ डिपार्टमेन्ट अफिसर श्यामकृष्ण श्रेष्ठ, समाजसेवी राम गुरुङ लगायतले बोलेका थिए ।

क्लबका अध्यक्ष लक्ष्मीदेवी गुरुङको सभापतित्वमा आयोजित कार्यक्रममा संस्थापक अध्यक्ष विधाता श्रेष्ठ द्वाले स्वागत मन्तव्य राखेकी थिइन् भने सञ्चालन सचिव तथा कार्यक्रम संयोजक कविता गुरुङले गरेकी थिइन् ।

You might also like

Comments are closed.