पोखरा ।
पूर्व मन्त्री तथा उद्योगी हरिप्रसाद पाण्डे (हिरामणी)को ‘समृद्ध बनौं, मानव हुनुको अर्थ पूरा गरौं’ पुस्तक आइतबार पोखरामा विमोचन भएको छ । मातृ सेवा प्रतिष्ठानको आयोजना तथा पाल्पाली समाज पोखराको ब्यबस्थापनमा आइतबार पोखरामा भएको एक कार्यक्रममा पाण्डेकी बृद्ध आमा शिवकुमारी पाण्डेले पुस्तकको विमोचन गरेकी हुन् ।
पाण्डेद्वारा लिखित पुस्तकको प्रकाशक मातृ सेवा प्रतिष्ठान रहेको छ भने जनता प्रशारण तथा प्रकाशन प्रालिले वितरक रहेको छ । ६ अध्यायमा विभाजित यस पुस्तक ६२४ पृष्ठमा सजिएको छ । पुस्तकको मूल्य ७९५ रुपैयाँ तोकिएको छ ।
पुस्तकमा पूर्व मन्त्री पाण्डेले कसरी समृद्धिको यात्रा गर्न सकिन्छ भन्नेबारेमा आफ्नो अवधारण प्रस्तुत गरेका छन् । समृद्धिको पहिलो आधारका रुपमा उनले जनता, जमिन र जलश्रोतको उपयोग, दोश्रो आधारमा प्राणी, प्रकाश र प्रविधि, तेश्रो आधारमा व्यवसायको प्रयोग, व्यवसायको विविधिकरण र व्यवसायको बिस्तार तथा चौथो आधारका रुपमा पूर्वाधारको ब्यबस्था भनेर उल्लेख गरेका छन् । उनले आर्थिक सम्पन्नताका लागि समूहगत व्यवसाय, उद्योगहरुको वर्गिकरण, व्यवसायहरुको थप वर्गिकरण, कृषि समूह, जडिवुटीजन्य समूहमा जोड दिनुपर्ने पुस्तकमा उल्लेख गरेका छन् ।
पाण्डेले पुस्तकमा समृद्धिका लागि आत्मनिर्भर बन्न जोड दिनुपर्ने भनेका छन् । जसका लागि उनले सकेसम्म स्वदेशी वस्तुको प्रयोग गर्नुपर्ने, सकेसम्म कम खर्चमा जीवनयापन गर्नुपर्ने, सकेसम्म बढी प्रतिफल प्राप्त हुने काम गर्नुपर्ने, सबै नीजि क्षेत्रका व्यवसायमा श्रम बजार खुल्ला गर्नुपर्नेलगायतका अवधारणा ल्याएका छन् ।
पुस्तकमार्फत उनले मानव हुनुको अर्थ पूरा गर्न सामाजिक उत्तरदायित्वसमेत वहन गर्नुपर्ने उल्लेख गरेका छन् । जसका लागि आफू जन्मेको, आफ्ना माता–पिता जन्मेको, हजुरबुबा–हजुरआमा जन्मेकोलगायतका ठाउँमा आफ्नो गच्छे अनुसार सामाजिक सेवा गरेर ऋणको भारी बिसाउनुपर्नेमा जोड दिएका छन् । यसले सबैको कल्याण हुने उनको धारणा छ ।
यसैबीच, पुस्तक विमोचनको अवसरमा पाण्डेले ३ करोड ७९ लाखको छात्रवृत्ति घोषणा गरेका छन् । उनले ३ करोडको अक्षयकोष खडा गरेर छात्रवृत्ति घोषणा गरेका हुन् भने ७९ लाखको छुट्टै छात्रवृत्ति घोषणा गरे । पाण्डेले आफू जन्मेको पाल्पा जिल्लाका ८१ जनालाई ४० लाखको र आफ्नो कर्म क्षेत्र रहेको कास्की जिल्लाका लागि ३९ लाखको छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेका हुन् । गरीब, जेहेन्दार, असहायःलगायतलाई छात्रवृत्ति प्रदान गर्ने पाण्डेले घोषणा गरे । तर छात्रवृत्ति प्राप्त गर्ने छात्र÷छात्रा पूर्ण रुपमा प्रतिष्पर्धाबाट छनौट गरिने उनले स्पष्ट पारे ।
पुस्तकका लेखक पाण्डे २०५१ सालमा नेकपा एमालेको तर्फबाट उद्योग तथा जलश्रोत मन्त्री बनेका थिए ।
Comments are closed.