दमौली पार्कको डिजाइन सार्वजनिक, यस्तो बन्ने भो पार्क

आर्थिक आवाज

तनहुँ, १३ माघ ।
तनहुँको व्यास नगरपालिका–३ अनसन चौतारा स्थित खुुला मैदानमा निर्माण गर्न लागिएको पार्कको डिजाईन अन्तिम चरणमा पुुगेको छ । पार्कको डिजाईन गरिरहेको जिओ कन्सर्न प्रालिले आइतवार परिवर्तित डिजाइन बारे व्यास नगरपालिकामा जानकारी गराएको हो ।

यस अघि नै डिजाइनको अन्तिम रुप तयार भए पनि जनप्रतिनिधिहरुले पार्क भित्र कार्यक्रम स्थलका रुपमा पर्याप्त खाली जमिन राख्नुपर्ने, व्यासको मुर्ति हाल महेन्द्रको सालिक तथा नर्सरी भएको स्थानमा राख्नुपर्ने, पार्क भित्र सवारी पार्किङ्ग नराखी अन्यत्र व्यवस्था गर्नुपर्ने, सार्वजनिक शौचालय अस्पताल मार्गको प्रयोग गर्ने, पार्कमा वाल उद्यान तथा बृद्धहरुका लागि विश्रामस्थल राख्नुपर्ने लगायत माग गरेपछि डिजाइन परिवर्तन गरिएको वडा सदस्य रबिन पौडेलले जानकारी दिए ।
डिजाइन गरेका आर्किटेक्टको प्रारम्भिक अनुमानमा पार्कको लागत ५ करोड अनुमान गरीए पनि विस्तृत अध्ययन गर्दा यो परिवर्तन हुन सक्ने वताइएको छ । पार्कको नामाकरणका सम्बन्धमा भने आइतवारको वैठकले टुुङ्गो लगाउन सकेको छैन । आइवारको छलफलमा समन्वय प्रमुख शान्तिरमण वाग्लेले वजेट भन्दा पनि गुणस्तरमा ध्यान दिनुपर्ने बताए । त्यस्तै नगर प्रमुख न्यौपानेले विस्तृत अध्ययन छिटो गर्न निर्देशन दिएका थिए । इन्टरलकको सट्टा हाल प्रचलनमा आएको पेभर प्रयोग गर्दा वातावरणमैत्री हुने सुुझाव उनको थियो । सो अवसरमा नपाका वरिष्ठ इन्जिनियर राजु पौडेलले लागत विस्तृृतमा तयार पार्नुपर्नेमा जोड दिएका थिए ।
यस क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न वडा कार्यालयले वल्डलिङ्क कम्युनिकेशनसँग सम्झौता गरी पाँच वर्षका लागि जनतालाई निशुल्क इन्टरनेट प्रयोग गर्न पाउने गरी निशुल्क वाईफाइको व्यवस्था गरिएको छ । चौतारामा केही समय अघि कैलाश बैंकका सहयोगमा बत्ती जडान र डस्टविन समेत हस्तान्तरण गरिएको थियो । उक्त क्षेत्रलाई रात्रीकालिन पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने दीर्घकालीन लक्ष्य वडा कार्यालयले लिएको छ ।

You might also like

Comments are closed.