पिस होमको आयोजनामा हेल्थ अवारनेस तथा सेनेटरी प्याड वितरण

पोखरा । लायन्स क्लब अफ पोखरा पिस होमले हेल्थ अवारनेस तथा सेनेटरी प्याड वितरण कार्यक्रम सम्पन्न गरेको छ । क्लबले पोखरा–३३ भरतपोखरीमा रहेको श्री शान्ति उदय मा.वि. मा कक्षा ६ देखि कक्षा १२ सम्म अध्ययनरत छात्राहरुलाई सेनेटरी प्याड वितरण गरेको हो ।

कार्यक्रममा महिनावारी प्राकृतिक र नियमित प्रक्रिया हो र महिनावारीका समयमा कसरी सफा र सुरक्षित रहने भन्ने विषयमा चेतनामुलक जानकारीहरु दिइएको थियो ।

लायन्स् डिस्ट्रिक्ट ३२५ बि १ नेपालका सेकेन्डभाइस डिष्ट्रिक्ट गभर्नर विशेश्वर आचार्यको प्रमुख आतिथ्यता र विद्यालयका प्रधानााध्यापक टेक नारायण गिरीको उपस्थितीमा सम्पन्न कार्यक्रममा आरोग्यधाम होमियोपेथिक हस्पिटलका बैध तुलसी गौतमले विद्यार्थी छात्राहरुलाई बढ्दो उमेरसँगै शरिरमा आउने परिवर्तन, महिनावारी चक्र, महिनावारी अगाडि देखिने लक्षण, महिनावारीको समयमा कसरी सफा र सुरक्षित रहने र महिनावारी हुँदा गाह्रो भएको अवस्थामा कसरी घरेलु उपचार गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराएकी थिइन् ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानााध्यापक टेक नारायण गिरीले क्लबले गरेको यस किसिमको सामाजिक कार्यबाट विद्यार्थी नानीहरुमा सकारात्मक असर पर्ने बताउँदै आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन अग्रह गरेका थिए । प्रमुख अतिथि सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर विशेश्वर आचार्यले क्लबले गरेका सामाजिक कामको प्रसंसा गर्दै विद्यार्थी बहिनीहरुको स्वास्थ्य र मनोविज्ञानमा समेत राम्रो प्रभाव पार्ने फरक खालको कार्यक्रम आयोजना गरेकोमा क्लब परिवारलाई शुभकामना दिएका थिए ।

लायन्स क्लब अफ पोखरा पिस होमका अध्यक्ष बबिता पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक क्लबका निवर्तमान अध्यक्ष लक्ष्मी थापाले स्वागत मन्तब्य राखेकी थिइन् भने कार्यक्रमको संचालन क्लबका सचिव विष्णा चापागाईले गरेकी थिइन् ।

You might also like

Comments are closed.