आर्थिक आवाज समाचार प्रभाव :पुरिन छाड्यो सिमसार

सन्देश श्रेष्ठ
पोखरा, २४ बैशाख

चौतर्फी दवाबपछि फेवातालको सिमसार क्षेत्र पुर्ने काम बन्द भएको छ । फेवातालको माटो हालेर सिमसार पुरिएको आर्थिक आवाजमा समाचार प्रकाशित भएपछि सर्वत्र आलोचना भएसँगै सिमसार पुर्ने काम बन्द भएको हो । पोखरा महानगरपालिकाकै मिलेमतोमा सिमसार पुरिएको भन्दै आर्थिक आवाजमा समाचार प्रकाशित भएको थियो । सिमसार पुरेको समाचार प्रकाशित भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको ध्यानाकर्षण भएको थियो । उनले सोमबार सिमसार क्षेत्रको अवलोकन गर्दै सिमसार बचाउनुपर्ने महानगरले सिमसार पुरेर उल्टो काम गरेको भन्दै तत्काल रोक्नुपर्ने बताएका थिए ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सिमसार पुर्ने काम पूर्ण रुपमा बन्द भइसकेको बताए । उनका अनुसार आइतबारदेखि नै सिमसार पुर्न बन्द भइसकेको छ । स्थानियले खेती गर्नका लागि पुर्ने भनेकाले माटो दिएपनि सिमसार पुरिन थालेपछि त्यसलाई तत्काल रोकिएको उनको भनाई छ ।

प्रमुख जिसीले महानगरपालिकाले माटो बेचेको भन्ने कुरा भने सहि नभएको बताए । हामीले माटो बेचेका होइनौं–उनले भने,‘हामीले फेवातालबाट निकालेको माटो फाल्नै पर्ने थियो, त्यहिबेला समर्खुबासीले खेती गर्नका लागि माटो प्रयोग गर्छौं भने, हामीले त्यहि विश्वासमा माटो दिएका हौं, तर पछि बेइमानी गरेपछि सिमसार पुर्न बन्द गरेका हौं ।’ खेतीयोग्य बनाउनका लागि मात्रै माटो दिइएपनि स्थानियले फेवातालको माटोबाहेक अन्तबाट पनि माटो लगेर घडेरी बनाउन लागेको पत्ता लगाइसकेपछि रोक लगाइएको उनको भनाई छ । उनले सिमसार क्षेत्रमा घडेरी बनाउन नदिने तर खेती गर्न दिने बताए ।

प्रमुख जिसीले अब फेवातालको माटो उत्खनन् पनि नहुने र सिमसार क्षेत्रमा माटोपनि नफालिने स्पष्ट पारे । हामीले सिमसार क्षेत्रमा माटो फाल्ने अधिकारै दिएका छैनौं–उनले भने,‘फेवातालको माटो उत्खनन् गर्ने काम नै बन्द गरिसक्यौं, अब न त फेवातालको माटो उत्खनन् हुन्छ, न त सिमसार नै पुरिन्छ ।’ उनले बर्खा लागेकाले फेवातालको माटो उत्खनन् गर्ने काम रोकेको बताए । सिमसार क्षेत्रमा हालसम्म लगेर पुरिएको माटो के गर्ने भन्नेबारेमा भने महानगर मौन छ ।

गण्डकी प्रदेश सांसद तथा कास्की क्षेत्र नम्बर ३ (क)का सांसद रामजी बराल ‘जीवन’ले सिमसार पुर्ने काम बन्द भएकोप्रति खुशी व्यक्त गरे । तर पुरिएको माटोपनि निकालेर पुरिएको ठाउँलाई पहिलेकै अवस्थामा फर्काइनुपर्ने उनको भनाई छ । उनले महानगरले जानाजान सिमसार पुर्ने काम गरेको भन्दै उनले भने,‘पुर्ने काम रोकियो त्यो स्वागतयोग्य छ, तर महानगरले पहिल्यै पुरिएको ठाउँ सिमसार क्षेत्र हो भनेर किन बुझेन ? यस विषयमा महानगरले बुझेरपनि बुझ पचाएको देखिन्छ, यसबारे जनतालाई महानगरले प्रष्ट पार्नुपर्छ ।’ उनले सिमसार पुर्दा चलखेल भएको हुनसक्ने आशंका गर्दै उनले यसबारे महानगर प्रमुखले जवाफ दिनुपर्ने बताए ।

महानगर प्रमुख जिसीले भने फेवातालको जलाधार क्षेत्र र त्यसमा पर्ने सिमसार क्षेत्रको सिमाङ्कन गरिनुपर्ने बताए । सिमसार क्षेत्र कहाँसम्मलाई मान्ने–उनले भने,‘सिमसारको क्षेत्र कति हो ? पहिले सिमाङ्न गर्नुप¥यो ।’ उनले सिमसार क्षेत्रमा व्यक्तिको जग्गा भएकाले त्यसबारेपनि निर्णय गर्नुपर्ने बताए । सिमसार क्षेत्रमै व्यक्तिको जग्गा छ–उनले भने,‘उनीहरुसँग लापूर्जा छ, कि त राज्यले मुआब्जा दिनुप¥यो, कि चाहिं उनीहरुको जग्गाको भोकाधिकार दिनुप¥यो, यसको टुंगो लगाउनुप¥यो ।’

यसअघी फेवाताल गहि¥याउन पोखराको खपौंदी क्षेत्रबाट निकालिएको माटोले पामे नजिकैको समर्खु क्षेत्रमा रहेको सिमसार पुरिएको थियो । फेवातालको माटो निकाल्ने जिम्मा पाएको रिच पोखरा कन्स्ट्रक्सनले त्यहाँ हालसम्म ४ सय टिप्पर भन्दा बढी माटो हालेर सिमसार पुरिइसकेको छ । सिमसार पुरिन थालेपछि प्रदेश सांसद रामजी बराल ‘जीवन’सहित नागरिक समाजले बिरोध गरेका थिए ।

You might also like

Comments are closed.