पुरुन्चौरमा स्वास्थ्य शिविर, ३ सय ५२ जनाको निशुल्क परीक्षण

पोखरा, २४ चैत ।

जनसेवा बचत तथा ऋण सहकारी पोखरा–पुरुन्चौरले शनिबार आयोजना गरेको निःशुल्क मधुमेह तथा रगतमा हुने खराब बोसोसम्बन्धी रक्त परीक्षणमा ३ सय ५२ जनाले रगत जाँच गराएका छन् ।

युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)को प्राविधिक सहयोगमा भएको कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा रामचन्द्र काफ्ले धूम्रपानले मुटुरोगका समस्या निम्त्याउने बताए । उनले भने, ‘मैले उपचार गरेका हृदयघात भएका बिरामीमध्ये ९० प्रतिशतले धूम्रपान गर्ने गरेको बताए । यसले रगतमा हुने खराब बोसो बढाउछ र आवश्यक बोसो चाहिँ घटाइदिन्छ ।’ डा. काफ्लेले खानपान र जीवनचर्या सन्तुलित बनाउन सके मधुमेहको जोखिमबाट धेरै हदसम्म बच्न सकिने उल्लेख गरे ।

युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले सुलभ तवरले नागरिकले आफ्नै टोलमा सेवा पाउन् भनी स्वास्थ्य शिविर आयोजना गरिएको बताए । रोगको मुहान भनिने मधुमेहबाट बच्न सचेतना र रोग लागिसकेको भए सही निदानमा सघाउने विभिन्न संघ, संस्थाको सहकार्यमा शिविर आयोजना गर्ने गरेको प्रष्ट पारे ।

 

कार्यक्रममा पोखरा १९ का वडा सदस्य कमल बास्तोला, लेखा समिति संयोजक पुष्पराज पौडेल र पूर्व अध्यक्ष तेजबहादुर अधिकारीले बोलेका थिए । सहकारीका अध्यक्ष लीलाधर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष इन्द्रकुमारी पौडेल र सञ्चालन सचिव गोविन्द पौडेलले गरेका थिए ।

You might also like

Comments are closed.