पुस्तकमा आयो कास्की फुटवलको इतिहास

सन्देश श्रेष्ठ
पोखरा, १४ पुस । कास्की फुटवलको इतिहास पुस्तकमा आएको छ । पोखरा म्यासेञ्जरको विशेष प्रकाशनमा कास्की फुटवलको इतिहास अभिलेखित ‘फुटवल’ पुस्तकमा आएको हो । एन्फाका पूर्व उप–महासचिव तथा पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईको प्रकाशक र खेलकुद पत्रकार बिनोद लामिछानेको सम्पादनमा पुस्तक प्रकाशित भएको हो । पुस्तकको शनिबार गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले विमोचन गरे ।

पुस्तक विमोचन कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका प्रमुख कुँवरले खेलाडीको प्रतिभा प्रस्फुटन गर्ने वातावरण राज्यले निर्माण गर्नुपर्ने बताए । खेललाई जीवनशैली बनाउन सकेमात्र खेलकुदको विकास हुने बताउँदै उनले भने,‘खेललाई सानोतिनो नसोचौं, पर्यटन र खेलको अनुन्याश्रित सम्बन्ध हुन्छ, खेलको माध्यमबाट पनि पर्यटन प्रवद्र्धन हुन्छ, त्यसैले खेललाई जीवनशैली बनाऔं ।’ उनले खेलकुदको विकासमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कम्पनीहरुले योगदान दिनुपर्ने बताउँदै भने,‘यो देशमा कम्पनी चलाएर फाइदा लिएपछि सामाजिक उत्तरदायित्व पनि वहन गर्नुपर्छ, त्यसैले नेसनल तथा इन्टरनेसनल कम्पनीहरुलाई सामाजिक उत्तरदायित्व अन्तर्गत खेलकुदको विकासमा योगदान दिनका लागि उनीहरुलाई अनुरोध गरौं, भएन भने प्रेसराईज गरौं, त्यति गर्दापनि मानेन भने कम्पनी सञ्चालनमै अवरोध गर्ने चेतावनी दिएर भएपनि लगानीका लागि बाध्य पारौं ।’ उनले फुटवल पुस्तक गण्डकी प्रदेशको अभिलेख बन्ने उल्लेख गरे ।

पुस्तकका प्रकाशक तथा एन्फाका पूर्व केन्द्रीय उप–महासचिव गणेशबहादुर भट्टराईले उद्योगी÷व्यवसायीले जबसम्म खेलकुदमा लगानी गर्न सक्दैन तबसम्म खेलकुदको विकास हुन नसक्ने बताए । उनले फुटवलको इतिहास जीवन्त राख्नका लागि पुस्तक निकालिएको स्पष्ट पारे । सांसद तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका पूर्व अध्यक्ष दीपक कोइरालाले पुस्तक बास्तविकताको धरातलमा लेखिएको बताउँदै यसले फुटवलको विकासमा योगदान दिने विश्वास व्यक्त गरे ।

MANASLU

राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले फुटवलको इतिहास लेखिएको पुस्तक प्रकाशन भएकोमा खुशी व्यक्त गर्दै हिजोको तुलनामा अहिले खेलकुद निभेको अवस्थामा भएको टिप्पणी गरे । उनले पोखराको रंगशालाले चाँडै मुहार फेर्ने बताउँदै भने,‘पोखरा रंगशाला अहिले कहालीलाग्दो अवस्थामा छ, सबैतिर झाडी झाडी छ, यो रंगशाला हो र ? भन्ने अवस्थामा छ, तर अब यसले चाँडै मुहार फेर्छ ।’ एन्फाका केन्द्रीय उपाध्यक्ष कृष्ण थापाले खेलकुदको इतिहास जीवन्त राख्ने प्रयास भएकोमा धन्यवाद दिदै आफूहरु समानुपातिक रुपमा फुटवलको विकास गर्ने प्रयासमा रहेको बताए । उनले चाँडै एन्फाको प्रदेश कमिटी बनाउने र त्यसमा राजनीति प्रवेश गर्न नदिने उल्लेख गरे ।

भूतपूर्व खेलाडी मञ्चका निवर्तमान अध्यक्ष खड्गबहादुर रानाभाटले पुस्तकले इतिहास बोलेको बताए । उनले हिजो खाई नखाई फुटवल बचाएपनि अहिले राजनीतिकरण गरेर ध्वस्त बनाएको आरोप लगाए । खेलकुदमा राजनीतिकरण अन्त्य हुनुपर्ने बताउँदै उनले भने,‘अब खेलकुदको विकास गर्ने हो भने राइट पर्सन राइट प्लेस दिन जरुरी छ ।’ एन्फा कास्कीका पूर्व अध्यक्ष खेम गुरुङले फुटवलको इतिहास भएपनि पुस्तक उपन्यास जस्तै रसिलो रहेको बताए । पुस्तकका सम्पादक बिनोद लामिछानेले पुस्तकमा हिजोको फुटवल लेखेको र यसमा इतिहासलाई तोडमरोड नगरी जस्ताकोतस्तै राख्ने प्रयास गरेको बताए । साठी पेजमा अभिलेखित पुस्तकमा कास्कीमा फुटवलको शुरुवात, पहिलो फुटवल खेलाडी, व्यवसायीक खेलाडीको जीवन र अनुभव, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा कास्कीले पाएको अचिभमेन्टलगायतका कुराहरु समेटिएका छन् । खेलकुदलाई विषय वस्तु बनाएर लेखिएको यो नै कास्कीको पहिलो पुस्तक हो ।

You might also like

Comments are closed.