
आर्थिक आवाज
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नयाँ निवास सरेका छन् । यसअघि पोखरा महानगरपालिकाको अतिथि गृहमा बस्दै आएका मुख्यमन्त्री शुक्रबार नयाँ निवासमा सरेका हुन् । नयाँ निवास सर्दा हिन्दू परम्परा अनुसार पूजाआजा गरिएको थियो भने मुख्यमन्त्रीले नरिवलसमेत फोरेका थिए । पूजाअघि मूख्यमन्त्रीले भवनको दक्षिण साइडमा रहेको झण्डा झण्डोत्तलन गरेका थिए । लगत्तै उनी ९ः४५ को शुभसाइतमा गृहप्रवेश गरेका थिए ।
सरकार गठन भएलगत्तै राष्ट्रबैंक अतिथि गृहलाई अस्थायी निवास बनाएका मुख्यमन्त्री केही समयपछि महानगरको अतिथि गृहमा सरेका थिए । मुख्यमन्त्री नयाँ निवास सर्दा गण्डकी प्रदेशका मन्त्रीहरु, सांसदहरु, कास्कीका प्रमुख जिल्ला अधिकारी, गण्डकी प्रदेश योजना आयोगका अध्यक्ष, सुरक्षा निकायका प्रमुख, आफन्त तथा सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो । आगन्तुकहरुलाई प्रसाद र खिर खुवाइएको थियो ।


मुख्यमन्त्री सरेको नयाँ निवास यसअघि बस्दै आएको सशस्त्र प्रहरी कार्यालय र नेपाल पर्यटन वोर्डको बिचमा रहेको महानगरको अतिथि गृह भन्दा एक सय मिटर माथि रहेको छ । यो निवास शुरुमा प्रमुख जिल्ला अधिकारीका लागि भनेर बनाउन थालिएको थियो । संघीयता आउनुअघि नै निर्णय भएर बनाउन शुरु गरिएपनि करीब ६ महिनाअघि गण्डकी प्रदेशको कार्यालय तथा आवास पहिचान समितिले उक्त भवनलाई मुख्यमन्त्रीको निवास बनाउन सिफारिस गरेको थियो ।
मुख्यमन्त्री बस्ने नया निवास दुई तले भवनको छ । भवनमा चार वटा बेड रहेका छन् भने भवनको पहिलो तलामा बैठक कक्ष, भान्सा कोठा छन् । भवनको पहिलो तलाको पश्चिम कोठालाई गोप्य भेटघाट गर्ने कक्षसमेत राखिएको छ । भवन परिसरको दायापट्टी छुट्टै भेटघाट भवनसमेत छ भने त्यसको उत्तरपट्टी सुरक्षाकर्मी भवन बनाइएको छ । परिसरको अन्य ठाउँलाई भने फूलहरु रोपेर सजाइएको छ । मुख्यमन्त्रीलाई हाल नेपाली सेनाको १ जनासहित ५ सदस्यीय सुरक्षा टोलीले सुरक्षा दिदै आएको छ । निवासका लागि भने थप सुरक्षाकर्मी खटिने गरेका छन् । मुख्यमन्त्रीको नयाँ निवास २ करोड १५ लाख ४० हजारको लागतमा निर्माण गरिएको बताइएको छ ।
Comments are closed.