पूर्व स्वास्थ्यमन्त्री अधिकारीको आरोपः केसीको अनसन मुलुकलाई द्वन्द्वमा धकेल्नका लागि

आर्थिक आवाज
पोखरा, १५ माघ । पूर्व स्वास्थ्यमन्त्री तथा प्रतिनिधि सभाका सांसद खगराज अधिकारीले मुलुकलाई द्वन्द्वमा धकेल्ने प्रयास स्वरुप डा.गोविन्द केसीको आमरण अनसन भइरहेको आरोप लगाएका छन् । पोखरामा मंगलबार पत्रकार सम्मेलन गर्दै उनले डा.केसीको आन्दोलन चिकित्सा सुधारका लागि नभई द्वन्द्वकालिन मुद्धा उल्टाउँदै मुलुकलाई द्वन्द्वमा धकेल्नका लागि भएको बताएका हुन् । उनले जनयुद्ध गर्ने नेताहरुको टाउकाको मूल्य तोक्ने र पैसा पाइन्छ भन्दै झोला बोकेर हिंड्नेहरुले अहिले द्वन्द्वकालका मुद्धा उल्टाउने प्रयास गरिरहेको भन्दै यो विकास र समृद्धीमा छिर्के हान्ने प्रयास भएको बताए ।

चिकित्सा शिक्षा विधेयक पारित भएको खुशीयाली साटासट गर्नुपर्नेमा उल्टै सरकारलाई सत्तोसराप गर्दै अनसन बसिरहनु गलत भएको टिप्पणी गर्दै उनले भने, ‘डा.केसीसँग भएको सम्झौताको ९५ प्रतिशत चिकित्सा शिक्षा विधेयकमा समेटिए छ, यो प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएर कानूनको रुपमा आएकोमा उनले खुशीयाली साटासाट गर्नुपर्ने हो, तर उनी त अझै सरकार, प्रधानमन्त्री र नेकपाका अध्यक्ष प्रचण्डलाई पो गाली गर्दै अनसन बसिरहेका छन्, यो सरासर गलत हो ।’

सांसद अधिकारीले चिकित्सा शिक्षा विधेयक आउनै हुँदैन भन्नेहरु अहिले डा.केसीलाई उक्साएर आन्दोलनतर्फ लैजाने प्रयासमा रहेको दाबी गरे । डा.केसीसँग भएको सम्झौताको पहिलो बुँदामै संसदीय प्रक्रियालाई दुबै पक्षले स्विकार्ने भनेर राखिएको र सो बुँदामा डा.केसीलेसमेत हस्ताक्षर गरेको दाबी गर्दै उनले अहिले आफैले गरेको सम्झौता मान्दिन भन्दै संसदको सर्बोच्चतामाथी धावा बोलिरहेको टिप्पणी गरे ।

सांसद अधिकारीले जिपी कोइराला श्वास प्रश्वास केन्द्र र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल भित्र भएको बेरुजु र भ्रष्टाचार छोप्नका लागि कांग्रेसले आन्दोलन गरिरहेकोसमेत आरोप लगाए । जिपी कोइराला स्वास प्रस्वास केन्द्रलाई शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा उनकै अध्यक्षतामा बसेको बैठकले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत लैजाने निर्णय गरेको दाबी गर्दै उनले अहिले सोहि निर्णयबिरुद्ध आन्दोलन गर्दै सरकारलाई गाली गरिरहेकोप्रति रोष व्यक्त गरे ।

सांसद अधिकारीले नेपाली कांग्रेसले प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा सामान्य शिष्टाचारसमेत देखाउन नसकेको टिप्पणी गरे । प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा देश एकताबद्ध छ भन्ने देखाउनु अन्र्तराष्ट्रिय प्रचलन रहेपनि कांग्रेसले त्यसलाई लत्याएएर संसद अबरुद्ध गर्ने, आन्दोलन गर्नेलगायतका कार्य गरेको भन्दै उनले भने,‘यो सब देशमा भय क्रान्त देखाउनका लागि हो, देश भय क्रान्त देखाउन सकियो भने देशमा बनिसकेको लगानीको वातावरण बिगारेर सरकारलाई अप्ठ्यारो पार्न सकिन्छ र स्वार्थ पूरा गर्न पाईन्छ भन्ने उद्धेश्यले गरिएको हो ।’ उनले जानेर नजानेर नेपालका कुटीतिज्ञलेसमेत यूएनको ब्यानरमा विज्ञप्ती जारी गर्नु दुर्भाग्य भएको टिप्पणी गरे ।

सांसद अधिकारीले सिटीईभिटी बन्द गर्दा गरीब तथा निमुखा जनताको स्वास्थ्यमाथी खेलवाड हुने बताए । सिटीईभिटीबाटै उत्पादित विद्यार्थीले नै दुरदराजका गाउँहरुमा स्वास्थ्य उपचार गरिरहेको बताउँदै उनीहरुलाई निकालेर बेरोजगार बनाउनुभन्दा उनीहरुलाई नै अपग्रेड गराउनुपर्ने पक्षमा आफू उभिएको बताए ।

You might also like

Comments are closed.