पृथ्वी राजमार्गको ४६औं वार्षिकोत्सव, पत्रकार बस्ताकोटी सम्मानित

पोखरा, २४ माघ । पृथ्वी राजमार्ग बस सञ्चालक समितिले स्थापनाको ४६औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा समितिले उत्कृष्ट पत्रकार, कर्मचारी, घाइते लगायतलाई सम्मान गरेकोछ । यस वर्षको उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पत्रकार शिवराज बस्ताकोटी सम्मानित भएका छन् । उनी सराङकोट साप्ताहिक र हिमचुली एफएममा कार्यरत छन् ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसी, समितिका अध्यक्ष ऐनकुमार साई र पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले उनलाई नगद र दोसल्लासहित सम्मान गरेका हुन् । महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठको संयोजकत्वमा गठित समितिले बस्ताकोटीलाई सम्मान गर्ने निर्णय गरेको हो । बस्ताकोटी बिगत १ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन् । उनले विशेषगरी सडक सुरक्षा र यातयाात क्षेत्रलाई प्राथमिकतामा राखेर पत्रकारिता गर्दैै आइरहेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिसीले यातायात क्षेत्रलाई व्यवस्थित गर्नुपर्ने बताए । समय सापेक्ष आधुनिक बसहरु सञ्चालन गर्न उनले व्यवसायीहरुलाई आग्रह गरे । कार्यक्रममा समितिका सल्लाहकार बाबुराम गिरी, नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखे, पोखरा उद्योग वाणिज्य संघका महासचिव दामु अधिकारी, समितिका संरक्षक केशवप्रसाद अधिकारी, मजदुर संगठनका नेताहरु विष्णु खत्री, गोपाल सिंखडा, अर्जुन खनाल, पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ लगायतले बोलेका थिए ।

समितिका अध्यक्ष ऐनकुमार साईको सभापतित्वमा आयोजित वार्षिकोत्सव कार्यक्रममा समितिमा आवद्ध व्यवसायी, मजदुर (चालक, कण्डक्टर तथा हेल्पर), व्यवसायीका सन्तति मध्येबाट २०७३ सालको एस.ई.ई र दश जोड दुईको परीक्षामा सर्वोत्कृष्ट हुने प्रत्येकबाट १÷१ जना गरी ६ जना विद्यार्थी, ३÷३ जना सफल व्यवसायी, असल एवं उत्कृष्ट कर्मचारी तथा चालकहरुलाई पनि सम्मान गरिएको महासचिव योगेन्द्रबहादुर केसीले जानकारी दिए ।

यसैबीच, वार्षिकोत्सवको पूर्व सन्ध्यामा विभिन्न ठाउँमा पुगी रक्तदान, खाद्यान्न वितरण, सरसफाइ लगायतका सामाजिक क्रियाकलापहरु गरिएको केसीले जानकारी दिए । २१ गते चितवनको नारायणगढमा रक्तदान कार्यक्रम भएको छ । २२ गते पोखरा पृथ्वीचोक ट्राफिक कार्यालय अगाडि पनि खुल्ला रक्तदान कार्यक्रम गरिएको केसीले जानकारी दिए । सामाजिक काम गर्ने सोच अनुसार रक्तदान आयोजना गरिएको अध्यक्ष ऐनकुमार साईले बताए । पोखरामा आयोजित रक्तदानमा ६५ युनिट रगत संकलन भएको छ ।

२३ गते जिरो किलोमिटरदेखि पृथ्वीचोकसम्मको मुख्य सडकमा सरसफाई गरिएको छ । समितिले वार्षिकोत्सवमा वर्षेनी सफाई कार्यक्रम गर्छ । मंगलबार नै समितिले पोखराको बाच्छेमुडा बृद्धाश्रमका आश्रित वृद्धाहरुलाई बिहानको एक छाक खाना खुवाउने लगायत कार्यक्रम भएको साईले जानकारी दिए ।

You might also like

Comments are closed.