पेट्रोल पम्पमा चार्जिङ स्टेसन

काठमाडौं, ७ माघ । नेपाल आयल निगमले राजधानीका ७० भन्दा बढी पेट्रोल पम्पमा चार्जिङ स्टेशन राख्ने भएको छ । पहिलो चरणमा काठमाडौं उपत्यका भित्रका ७० भन्दा बढी पेट्रोल पम्पमा र दोस्रो चरणमा उपत्यका वरपर समेत गरी २०० भन्दा बढी पेट्रोल पम्पमा चार्जिङ स्टेसन राख्ने निगमको तयारी रहेको छ ।

नेपाल आयल निगमका उप कार्यकारी निर्देशक सुशील भटराईका अनुसार नेपाल बिद्युत प्राधिकरणसँगको सहकार्यमा निगमले पेट्रोल पम्पमै चार्जिङ स्टेसनको लागि तयारी थालेको हो । विद्युतीय गाडीले एकपटकमा ४५ मिनेटको फुलचार्जबाट १५ युनिट विद्युत खपत गर्छ भने एकपटकको चार्जबाट ८० किलोमिटरसम्म कुद्छ ।

एउटा चार्जिङ स्टेसन राख्नका लागि कम्पनी अनुसार ५ देखि १५ लाख रुपैयाँ सम्म खर्च लाग्ने अनुमान गरिएको छ । नेपाल जस्तो जलबिद्युतको क्षेत्रमा प्रचुर सम्भाबना बोकेको र पेट्रोलियमम पदार्थमा खासै सम्भाबना नभएको मुलुकमा विद्युतीय सवारीको प्रयोग निकै नै लाभदायक हुन्छ भन्ने कुरामा कुनै दुईमत छैन । पछिल्लो समय विद्युतीय सवारीहरुमा लोकप्रियता नबढेको पनि होइन तर पनि यसको प्रयोगमा केही चुनौतीहरु पक्कै छन् । ती मध्येको एक हो चार्जिङ स्टेसन । तर उक्त चुनौतीलाई चिर्नका लागि नेपाल आयल निगमले पेट्रोल पम्पसँगै चार्जिङ स्टेसन राख्ने भएको छ ।

सरकारले नै विद्युतीय गाडीलाई प्रोत्साहन गर्ने भन्दै ३०० बस भित्राउने निर्णय गरिसकेको छ । प्राधिकरणले पनि वर्षा याममा सबै विद्युत खपत गर्न नसकिने भन्दै विद्युतीय गाडीको प्रवद्र्धनका लागि चार्जिङ स्टेसन बनाउने घोषणा गरेको छ ।

You might also like

Comments are closed.