पेनाल्टीको शिकार बनाउँदै एपिएफ पोखरा कपको उपाधि नजिक

सन्देश श्रेष्ठ

पोखरा, २५ माघ । शसस्त्र प्रहरी वलको एपिएफ क्लव पोखरामा जारी मनकामना केबलकार पोखरा कपको उपाधि नजिक पुगेको छ । उपाधि दाबेदार मानिएको जापानको रिस्सो युनिभर्सिटीलाई पेनाल्टी सुट आउटमा ४–१ गोल अन्तरले पराजित गर्दै एपिएफ पोखरा कपको फाइनलमा प्रवेश गरेको हो ।

जापानको रिस्सो युनिभर्सिटी हावी भएको खेलमा एपिएफ निरिह देखिएपनि भाग्यले साथ दिएपछि बिजय हासिल गर्न सफल भयो । आक्रामक जापानलाई रोक्न एपिएफले शुरुदेखी अन्तिमसम्मै रक्षात्मक खेल खेलेको थियो । खेलमा जापानको ६५ र एपिएफको ३५ प्रतिशत बल पोजिसन रहेको थियो ।

निर्धारित ९० मिनेट र थपिएको ३० मिनेट गोलरहित बराबरी भएपछि खेलको परिणाम निकाल्न पेनाल्टी सुटआउटको सहारा लिनुपरेको थियो । पेनाल्टी सुटआउटमा जापानका नासुकी टकेडा र टाकुटो योशिनो गोल गर्न असफल भएपछि जापान प्रतियोगिताबाट बाहिरियो । जापानका नासुकी टकेडाले प्रहार गरेको बल एपिएफका गोलकिपर राजु नगरकोटीले रोके भने टोकुटो योशिनोले प्रहार गरेको बल पोल माथिबाट बाहिरियो ।

एपिएफको जितमा सुदीप शिख्रकार, आशिष लामा, राजिव लोप्चन र गोलकिपर राजु नगरकोटीले गोल गरे । जापानका लागि क्याप्टेन टाकुया हितोमीले सान्त्वना गोल गरे ।

तस्बिरः युनिश गुरुङ

यसअघी निर्धारित ९० मिनेट र थपिएको ३० मिनेट जापानले एकतर्फी दवाब बनायो । जापानको करीब १ दर्जन प्रहारमा बिपक्षी गोलकिपर राजु नगरकोटी बाधक बने । एकपछि अर्को गर्दै आक्रमण बुनेको जापानले खेलको १३ औं मिनेटमा टाकोमी कोण्डाको पासमा ¥योजी फुजिमोरीको वान टच प्रहार किपरले पञ्च गरेर फाले । ५४ औं मिनेटमा टाकुया हितोमीको प्रहार बिपक्षी गोलकिपर नगरकोटीले पञ्च गरेर फालेपछि पाएको रिबाउण्ड बललाई पुनः केसुके कान्बेले प्रहार गर्दापनि बिपक्षी गोलकिपर बाधक बने । ७३ औं मिनेटमा ¥योजी फुजिमोरोको पावरफुल प्रहारपनि गोलकिपर नगरकोटीले मुश्किलले बिफल पारे ।

खेलको ८५ औं मिनेटमा टाकुया हितोमीले प्रहार गरेको बलमा पनि गोलकिपर नगरकोटी बाधक बने । ८७ औं मिनेटमा नासुकी टकेडाको कर्नर किकमा सब्ष्टीच्यूट खेलाडी मासाकी कानेउराको प्रहार सेकेण्ड बारहुँदै बाहिरयो ।

खेलको ९० औं मिनेटमा ¥योजी फुजिमोरीको प्रहारपनि गोलकिपर नगरकोटीले जम्प गरेर मुश्किलले बचाए । थपिएको ३० मिनेटको तेश्रो मिनेटमा सब्ष्टीच्यूट खेलाडी यासुटाका सुजुकीले डिबक्सको बिच भागबाट दायाँ साइड च्यापेर प्रहार गरेको बल बारमा लागेर फर्किएपछि गोलकिपर नगरकोटीले समाते । अतिरिक्त समयकै २५ मिनेटमा यासुटाका सुजुकीको पासमा नासुकी टकेडाले प्रहार गरेको बल फष्र्टबार हुँदै बाहिरियो ।

एपिएफले निर्धारित ९० र थपिएको ३० मिनेटमा एउटा मात्र उत्कृष्ट मुभ बनाउन सफल भयो । खेलको ४९ औं मिनेटमा सुदीप शिख्रकारको फ्रिकिकमा रमेश दंगालको हेडर बिपक्षी गोलकिपर केइसुकी फुकायाले रोके ।

शुक्रबारको खेलमा एपिएफका गोलकिपर राजु नगरकोटी म्यान अफ दी म्याच घोषित भए । उनलाई नगद ५ हजारसहित ट्रफी प्रदान गरियो ।

बिजयी भएपछि पोष्ट म्याच कन्फरेन्समा बोल्दै एपिएफका प्रशिक्षक राजेन्द्र तामाङले जापान जस्तो उच्च स्तरको खेल खेल्ने टिमलाई खेल अवधीभर रोकेर जित निकाल्नु ठूलो कुरा भएको बताए । उनले पानी परेपछि भएको हिलाम्मे मैदानले पनि आफूलाई फेभर गरेको र रक्षात्मक खेल खेलेर पेनाल्टी सुटआउटमार्फत जित निकाल्ने आफ्नो रणनीति सफल भएको पनि बताए ।

पराजित टिम रिस्सो युनिभर्सिटी जापानका प्रशिक्षक टोकाइरिनले बिपक्षी टिम गोलकिपर झैँ गोलपोष्ट वरिपरी घेरेर बस्दा गोल गर्न आफ्ना खेलाडी असफल भएको बताए । बिपक्षी गोलकिपर राजु नगरकोटीको प्रशंसा गर्दै उनले रिबाउण्ड बलसमेत सदूपयोग गर्न नसक्नु नै आफूहरुको हारको कारण रहेको खुलाए । साथै उनले बिपक्षी एपिएफको स्टामिनाःपनि राम्रो भएको बताए ।

प्रतियोगिता अन्तर्गत शनिबार दोश्रो तथा अन्तिम सेमीफाइनल खेलमा सहिद स्मारक ए डिभिजन लिग २०७५ को बिजेता तथा डिफेन्डिङ च्याम्पीयन मनाङमस्र्याङ्दी क्लव र डफिन्स टिम फेमेली क्यामरुन प्रतिष्पर्धामा उत्रिनेछन् ।

कास्की जिल्ला फुटवल संघ (एन्फा) कास्कीको आयोजनामा माघ २६ गतेसम्म हुने प्रतियोगिताको बिजेताले उपाधिसहित ७ लाख ५५ हजार रुपैयाँ प्राप्त गर्नेछ । उपबिजेताले भने ४ लाख ५ हजार प्रदान गरिने एन्फाका महासचिव रमेश कार्कीले जानकारी दिए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाईकल प्रदान गरिने जनाइएको छ । प्रतियोगितामा उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्टाइकर, उत्कृष्ट प्रशिक्षक र सर्वाधिक गोलकर्ता खेलाडीलाई जनही २५ हजार सहित ट्रफी प्रदान गरिने उनले बताए ।

You might also like

Comments are closed.