महासंघ गण्डकी प्रदेशको सचिवालय हटाउन पत्राचार

सन्देश श्रेष्ठ
पोखरा, १९ माघ । पोखरा उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेशलाई आफ्नो भवनबाट सचिवालय हटाउन पत्राचार गरेको खुलाशा भएको छ । पोखरा उद्योग वाणिज्य संघको भवनमा रहेको नेपाल उद्योग वाणिज्य संघको सचिवालय हटाउन संघको वर्तमान कार्य समितिले बहुमतको आधारमा निर्णय नै गरेर प्रदेश कार्यालयलाई गत पुष २९ गते पत्राचार गरेको खुलाशा भएको हो ।

पत्राचार गर्ने निर्णयमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारी, निवर्तमान अध्यक्ष विश्वशंकर पालिखेसहितका पदाधिकारी तथा सदस्यहरुले असहमति जनाउँदै नोट अफ डिसेन्ट लेखेका थिए । अध्यक्ष अधिकारी, निवर्तमान अध्यक्ष पालिखेसहितका पदाधिकारी तथा सदस्यहरुको नोट अफ डिसेन्टका बाबजुद भएको निर्णयलाई आधार मानेर संघका महासचिव अर्जुन पोखरेलले नेपाल उद्योग वाणिज्य संघ प्रदेश कार्यालयलाई सचिवालय हटाउन पत्र पठाइएको छ । पत्रमा संघका महासचिव पोखरेलले हस्ताक्षर गरेका छन् ।

श्रोतका अनुसार ३ पटकको प्रयासमा प्रदेशको सचिवालय हटाउने निर्णय भएको हो । पहिलोपटक बसेको बैठकमा संघका अध्यक्ष दामु अधिकारीले बिना कारण प्रदेशको सचिवालय हटाउन नमिल्ने बताएपछि सो विषय त्यत्तिकै थाती रहेको थियो । तर संघका अध्यक्ष अधिकारी पोखरा बाहिर रहेका बेला दोश्रो पटक पदाधिकारी बैठक बसेर एजेण्डा पास गरिएको थियो । सो बैठकमा संघका वाणिज्य तर्फका उपाध्यक्ष पवन प्रजापति र उद्योग तर्फकी उपाध्यक्ष बिन्दु सुबेदीसमेत बहिस्कार गरेर उपस्थित नरहेको पोखरा उद्योग वाणिज्य संघ श्रोतको दाबी छ । पदाधिकारी बैठकले तय गरेको एजेण्डालाई संघको पूर्ण बैठकमा राखेपछि बहुमतले पारित गरेको श्रोतको भनाई छ ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको सचिवालय जम्मा एउटा कोठामा सीमित छ । सो कोठा हालसालै कुनै प्रयोजनमा ल्याउने योजना पनि संघको नरहेको पोखरा उद्योग वाणिज्य संघ श्रोत बताउँछ । तर गत असोजमा भएको चुनावमा नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जिवबहादुर कोइराला पोखरा उद्योग वाणिज्य संघका वर्तमान अध्यक्ष दामु अधिकारीको पक्षमा खुलेर लागेपछि त्यसैको रिस फेर्न वर्तमान महासचिव अर्जुन पोखरेल र वरिष्ठ उपाध्यक्ष नारायण कोइराला लगायतले सचिवालय हटाउन लागि परेको संघ श्रोतको दाबी छ । संघको चुनावमा बरिष्ठ उपाध्यक्ष नारायण कोइराला, महासचिव पोखरेल अध्यक्षका पराजित उम्मेद्वार रवीन्द्रबहादुर प्रजूको प्यानलबाट चुनाव लडेर बिजयी भएका थिए ।

नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले चुनावको प्रतिशोध स्वरुप नै सचिवालय हटाउन पत्राचार गरेको दाबी गरे । पत्र प्राप्त भएपनि आफू सचिवालय हटाई हाल्ने पक्षमा नरहेको उनले प्रष्ट पारे । पोखरा उद्योग वाणिज्य संघ वरिष्ठ उपाध्यक्ष वा महासचिवको पेवा नभएको बताउँदै उनले भने, ‘अहिल्यै सचिवालय हटाइदैन, हटाउने अवस्था पनि छैन ।’

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको कार्यालय हटाउन गरिएको पत्राचारबारे अनभिज्ञता प्रकट गरे । उनले भने, ‘मेरो अनुपस्थितिमा एजेण्डा बनाएका रहेछन्, त्यसपछिको बैठकमा निर्णयार्थ पेश हुँदा बहुमतले निर्णय गरे, त्यसप्रति मेरो असहमति रह्यो र मैले नोट अफ डिसेन्ट लेखेको हुँ ।’ उनले आफूले नोट अफ डिसेन्ट लेखेको निर्णयमा पत्राचार गर्न नैतीक रुपमा पनि नमिलेकाले पत्र नलेखेको र पत्र गए नगएको बारेपनि जानकारी नभएको बताए ।

संघका महासचिव अर्जुन पोखरेलले संघ आर्थिक रुपमा संकटमा पर्दै गएकाले कोठा भाडामा लगाउनका लागि सचिवालय हटाउन पत्राचार गरेको बताए । उनले सचिवालय हटाउने विषयलाई चुनावको प्रतिशोधको रुपमा नबुझ्नसमेत आग्रह गरे । पश्चिमाञ्चल उद्योग वाणिज्य संघको सचिवालय बिगत २० वर्षदेखि पोखरा उद्योग वाणिज्य संघकै भवनमा रहँदै आएको थियो भने गत साउनदेखि नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको रुपमा अपग्रेड भएपछि सोही ठाउँमा सचिवालय राखिदै आएको थियो ।

You might also like

Comments are closed.