सुरेन्द्र पौडेल
पोखरा, २६ भदौ । पोखरा उद्योग वाणिज्य संघको ३२औं महाधिवेशनका लागि उम्मेदवारी दर्ता गरेका शोभा गौतम र रामप्रसाद गौतमको उम्मेदवारी खारेज भएको छ । निर्वाचन कार्यतालिका अनुसार गौतमद्वयले कार्यकारी सदस्य पदमा मनोनयन दर्ता गरेका थिए ।
मंगलबार दिउसो २ बजेसम्म उम्मेदवार माथि दावि विरोधको समय राखिएकोमा उनीहरु विरुद्ध उजुरी परेको थियो । शोभा गौतमको उम्मेदवारी खारेज गरी पाउँ भनी अर्का कार्यसमितिका सदस्य कृष्णप्रसाद तिवारीले उजुरी दर्ता गरेका थिए भने रामप्रसाद गौतमको उम्मेदवारी खारेजीको माग गर्दै अर्का सोही पदका उम्मेदवार सोवित पौडेलले उजरी दर्र्ता गराएका थिए ।
निवेदन उपर छानविन गर्दा संघको विधानको परिच्छेद ९ को दफा ९.३.१ र ९.३.३ बमोजिम निवेदकको दावी सही ठहर हुने भएकाले गौतमद्वयको उम्मेदवारी खारेज भएको निर्वाचन समितिका संयोजक तीर्थ श्रेष्ठले जानकारी दिए । उम्मेदवारी खारेज भएका गौतमद्वय दुवै जना अध्यक्षका उम्मेदवार रवीन्द्रबहादुर प्रजू प्यानलबाट चुनावी अभियानमा होमिएका थिए ।
यसैबीच, संघको उद्योग तर्फका उपाध्यक्ष विन्दु कोइराला सुवेदी विरुद्ध पनि उजुरी परेको छ । सोही पदका उम्मेदवार गीता तिवारी गौतमले कोेइराला विरुद्ध उजुरी दिएका थिइन् । तर, उक्त निवेदन उपर छानविन गर्ने क्रममा मागदावी कायम नहुने भएकाले उम्मेदवारी कायम छ ।
Comments are closed.