पोउवा संघको सफा पिउने पानी अभियान, मर्दीखोलामा बनाइयो शवदहन गृह

पोखरा, २१ पुस । पोखराको मुख्य पानीको स्रोत मर्दीखोला क्षेत्रमा निर्मित ३ वटा शवदहन गृह स्थानीय समुदायलाई शुक्रबार हस्तान्तरण गरिएको छ । पोखरा उद्योग वाणिज्य संघको अगुवाईमा सिदिङ, सैंतीघट्ट र खोराको मुखमा शवदहन गृह निर्माण भएका हुन् । कास्की क्षेत्र नंबर ३ क को तर्फबाट प्रदेशसभाका सभासद रामजी बरालले स्थानीय उपभोक्ता समितिलाई शवदहन गृह हस्तान्तरण गरेका हुन् । शवदहन गृह निर्माणका लागि पोखरा उद्योग वाणिज्य संघ, पोखरा लेखनाथ महानगरपालिका र नेपाल खानेपानी संस्थानले आर्थिक सहयोग गरेका हुन् । सार्वजनिक शौचालय, पानीको धारासहितको प्रत्येक शवदहन गृह निर्माणको लागत १० लाख ४२ हजार रहेको छ । तर, स्थानीय उपभोक्ता समितिहरुले थप संरचनासहितका शवदहन निर्माण गर्दा लागत केही बढेको बताए । केही शवदहन गृह भने ५ लाख ५५ हजारको लागतमा समेत सम्पन्न भएका छन् ।

शवदहन गृह निर्माणपछि पोखरा आउने पानीको मुहानमा लास जलाइने छैन । शवदहन गृह नदीको माथिल्लो भागमा बनाइएको छ भने त्यहाँको खरानीलाई सेफ्टी ट्याङ्की निर्माण गरी नदीमा पुग्न नदिने व्यवस्था मिलाइएको छ । पोखराको खानेपानीको मुख्य श्रोतको रुपमा रहेको मर्दी खोला क्षेत्रका ल्वाङ, रिभान, धिताल, लाहाचोक र सेती दोभानमा पनि शवदहन गृह निर्माण प्रक्रिया अगाडि बढेको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले बताए । सो क्षेत्रमा थप शवदहन गृह, सार्वजनिक शौचालय तथा लुगा धुने ठाउँ निर्माणको लागि पहल भइरहेको उनले जानकारी दिए । उहाँले परियोजना सफल बनाउन खटिने पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य एवं संयोजक र सहसंयोजक यदु अधिकारी र कमल बस्नेतलाई धन्यवाद दिए ।


खानेपानी शुद्धिकरण परियोजनाले त्यस क्षेत्रका जनताको तत्कालको आवश्यकता परिपूर्ति तथा जनचेतना अभियानलाई प्राथमिकता दिएको उनको भनाई छ । शुद्धिकरण र जनचेतना अभियान दीर्घकालीन हुने पनि उनले प्रष्ट पारे । समुद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी प्रदेश नम्बर ४ का प्रदेशसभा सदस्य रामजी बरालले सो क्षेत्रको जनताको आवश्यकता पूरा गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । सोही क्षेत्रबाट निर्वाचित सभासद समेत रहनु भएका उनले पोखराको पानीको मुख्य श्रोत रहेको सो जनतालाई पानी दिएबापत थप सुविधा हुनुपर्नेमा सहमति जनाए ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेको अध्यक्षता, महासचिव दामु अधिकारीको संचालन तथा पोखरा खानेपानी शुद्धिकरण कार्यक्रमका संयोजक यदु अधिकारीले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा बोल्दै पोखरा लेखनाथ महानगरपालिकाका कार्यकारी अधिकृत दीर्घनारायण पौडेलले लाखौँ जनताले पिउने पानी शुद्ध बनाउनु सबैको दायित्व भएको बताउँदै सो क्षेत्रका जनताको आवश्यकताहरुलाई संवोधन गरिने बताए । नेपाल खानेपानी संस्थान पोखरा शाखाका प्रमुख निरन महर्जनले राज्यले खानेपानीको श्रोत क्षेत्रका बासिन्दालाई थप सुविधा दिने नीति पारित भएका सो क्षेत्रको विकासको लागि खानेपानी संस्थानले सघाउने धारणा राखे । नेपाल पत्रकार महासंघ कास्कीका कार्यवहाक अध्यक्ष त्रिभुवन पौडेलले पानी दिएबापत मर्दी वरपरका बासिन्दाहरुले रोयल्टी पाउनुपर्ने तर्क राखे ।सैंतीघाट उपभोक्ता समूहका अध्यक्ष टेकबहादुर श्रेष्ठले पोखराको खानेपानी मुहान शुद्ध नहुँदा सबै पोखरेलीले दुषित पानी खानु परेको उल्लेख गर्दै शुद्ध खानेपानीको लागि मर्दी क्षेत्रमा विभिन्न कार्यक्रमहरु संचालन गर्नुपर्नेमा जोड दिए । सिदिङ उपभोक्ता समितिका अध्यक्ष आइत क्षेत्रीले खानेपानी संस्थानले पानी मात्र नबेचेर शुद्धिकरण अभियानमा पनि रकम विनियोजन गर्नुपर्ने माग गरे । माछापुच्छ«े गाउँपालिका–९ का अध्यक्ष दुर्गाबहादुर क्षेत्रीले गाउँमा चेतना र विकासका कार्यक्रम ल्याएमा मात्र पोखराको खानेपानी मुहान शुद्ध हुने धारणा राखे ।


जापानी सहयोग नियोग ( जाइका ) ले करीब ४ अर्व ५२ लाखको सहयोगमा पोखराको खानेपानी परियोजना सुदृढिकरण परियोजना सुरु हुँदै गर्दा यो शुद्धिकरण अभियान सुरु भएको हो । जाइकाको सहयोगमा सुरु हुने परियोजनाले समेत पोखराबाट करिब ११ किलोमिटर टाढा रहेको मर्दीको पुरानै बाँधबाट पानी ल्याउने भएपछि मुहानभन्दामाथिको क्षेत्रमा शुद्धिकरण अभियान चलाइएको हो । पोखरामा आउने पानीको मुख्य मुहानमाथि शैदी घट्टा, सिदिङ्ग, लुम्रे, घलेल,खोराकोमुख, रिभानलगायतका गाउँहरु छन् ।खानेपानी संस्थान पोखराले यहाँको विन्ध्यवासिनीमा रहेको पानी संकलन केन्द्रमा क्लोरिन हालेर पानी शुद्धिकरणको औपचारिकता पूरा गर्ने गरेको छ । पानी शुद्धिकरणको यो सामान्य प्रक्रियाले बर्षायाममा धारामा धमिलो र लेदो मिसिएको पानी आउने समस्या समाधान हुन सक्दैन ।

अहिले पोखरामा मर्दीखोलाबाट दैनिक ३ करोड लिटर, पोखराको पुरानो पानी आपूर्तिस्थल बालधाराबाट ४ लाख लिटर, भोटीखोलाबाट साढे २ लाख लिटर पानी आपूर्ति हुँदै आएको छ । नेपाल खानेपानी संस्थान पोखराका प्रमुख निरन महर्जनका अनुसार अहिले पोखरामा दैनिक साढे ४ करोेड लिटर पानीको माग छ । ४ करोड लिटर पानी दैनिक आपूर्ति हुँदै आए पनि खानेपानी लाइनको बिस्तार हुन नसक्दा त्यो पानी विन्ध्यवासिनीमा रहेको ट्याङ्कीबाटै खेर जाने गरेको छ । अहिले पोखरामा दैनिक करीब साढे ३ करोड लिटर पानी बितरण हुँदै आएको छ । मर्दीबाट चार भागको एक भाग मात्र पानी पोखरा ल्याइएकोले पोखरालाई पानीको स्रोतको भने अभाव भने छैन ।

पोखरामा १९७७ सालदेखि नै योजनावद्ध रुपले खानेपानी बितरणको थालनी भएको हो । पोखराका बडाहाकिम बवर समसेरले बाल्यकालमै बितेका आफ्ना छोरा बालसमसेरको सम्झनामा सराङकोटको पुछारमा रहेको मुलको पानी पोखराको विभिन्न ठाउँमा बितरण गरेका थिए ।पोखरामा आधुनिक रुपले खानेपानी परियोजना भने २०४४ सालमा मर्दीबाट १६ इञ्चको पाइमा पानी ल्याएर सुरु भएको हो । जाइकाकै १३ करोड ५० लाखको सहयोगमा २०६८ सालमा १६ इञ्चको सट्टामा २० इञ्चको पाइप हाली विन्ध्यवासिनीसम्म पानी ल्याए पनि बितरण पाइप नहुँदा अहिले पनि पानी खेर गई रहेको छ । बिस्तारित पोखरा लेखनाथ महानगरपालिकाको क्षेत्रफल २२५.६९ वर्गकिलोमिटर छ भने सन् २०११ को केन्द्रीय तथ्याङ्क विभागको जनगणना अनुरुप ३,१३,८४१ जनसंख्या एवं ८२,२७६ घरधुरी रहेका छन् ।

You might also like

Comments are closed.